यो संविधानमा टेकेर जुनसुकै प्रकारका राजनीतिक परिवर्तनको अनुभव गर्न सकिन्छ

यो संविधानमा टेकेर जुनसुकै प्रकारका राजनीतिक परिवर्तनको अनुभव गर्न सकिन्छ

काठमाण्डौ – ७० वर्षभन्दा बढी लामो समय जनताको चाहना र भावनालाई मूर्त रुप दिन हामी सबै एकताबद्ध भएर संविधान निर्माणका काम सफलतापूर्वक सम्पन्न गर्यौँ । त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा फेरि हामी एकताबद्ध रहँदै यो विन्दुसम्म आइपुगेका छौँ ।

नेपालको संवैधानिक इतिहासमा यति महत्वपूर्ण रहेको कुरा मैले भन्नै पर्छ । योभन्दा अगाडिका सबै संविधानहरुका स्रोत भनेको तत्कालीन शासक हुन् तर अहिलेको वर्तमान संविधानको स्रोत भनेको नागरिक हो ।

त्यसैले हामीले लामो समयदेखिको जनताको चाहना र भावनालाई मूर्त रुप दिन सक्यौँ । त्यसको एउटा महत्वपूर्ण कारण त्यो हो । अहिले छस्याकछुसुक छेउछेउबाट उठेका धेरै प्रश्नहरुलाई यसले पर्याप्त जवाफ दिन्छ भन्ने मलाई लाग्छ ।

त्यसैले हामीले अहिलेको संविधानको प्रस्तावनामा लेखेका कुरा अत्यन्तै महत्वपूर्ण छ । ‘हामी सार्वभौम सत्तासम्पन्न नेपाली जनता’, भनेर प्रस्तावनामा नै उल्लेख गरेका छौँ । संविधान दिवसको अघिल्लो दिन आज यो संयोग पर्‍याे । मिठो संयोग पर्‍याे ।

त्यसैले नेपालको संवैधानिक इतिहासमा पहिलो पटक जनताले जनताका लागि बनाएको यो संविधानलाई कार्यान्वयन गर्दै हामी यहाँसम्म आइपुगेका छौँ । यसको आधारलाई टेकेर यसको आधारमा उभिएर अगाडि उभिनु बाहेक हाम्रो अगाडि अर्को विकल्प छैन ।

यति महत्वपूर्ण र ऐतिहासिक काम सम्पन्न गर्ने राजनीतिक दल, सत्तापक्षमा रहेको दल, प्रतिपक्षी, संसदमा उपस्थित रहेका दल तथा बाहिर रहेका सम्बन्धित दलहरु सबैलाई हाम्रो तर्फबाट बधाइ भन्न चाहन्छु । र शुभकामना  दिन चाहन्छु । संविधान कार्यान्वयन गर्दै यहाँसम्म आइपुग्दा हामीले धेरै महत्वपूर्ण कार्यहरु सम्पन्न गरेका छौँ ।

हामीले वास्तवमा प्रतिपक्ष, सत्तापक्ष हामी सबै संसदमा रहेका सबै राजनीतिक दलहरु एकताबद्ध भएर यसलाई कार्यान्व्यन गर्नका लागि अगाडि बढ्ने सिलसिलामा हामी यहाँ आइपुगेका हौँ । कार्यान्वयनका धेरै महत्वपूर्ण कार्यहरु हामीले सम्पन्न गरिसकेका छौँ । तीन तहको चुनाव सफलतापूर्वक सम्पन्न गरेका छौँ । हामीले मौलिक अधिकारसम्बन्धी कानुनहरु तीन वर्षभित्रमा बनाइसकेका छौँ । यही संसदले भूमिका निर्वाह गरेको छ । यिनै राजनीतिक दलहरुले त्यो भूमिका निर्वाह गरेका छन् ।

संविधानले तोकेको त्यो तीन वर्षभित्रमा मौलिक अधिकारका कानुनहरु निर्माण नभएको भए के हुन्थ्यो ? देश संवैधानिक संकटमा जान्थ्यो । त्यसैले अहिले मौलिक अधिकारसम्बन्धी कानुनहरु तीन वर्षभित्रमा सफलतापूर्वक बनायौँ । यो ठूलो सफलता हो । संविधानसम्मत बनाइनु पर्ने सयौँ कानुनहरुको निर्माण गर्यौँ । यो धेरै ठूलो सफलता हो ।

हामीले यस सम्बन्धमा गर्नु पर्ने संविधान कार्यान्वयनका लागि गर्नु पर्ने थुप्रै कामहरु गर्दै आजको यो विन्दुसम्म आइपुगेका हौँ । शान्ति प्रक्रियाको ऐतिहासिक काम हामीले सम्पन्न गरेका छौँ । त्यसका केही बाँकी कामहरु सम्पन्न गर्ने सिलसिलामा सत्य निरुपण र बेपत्तासम्बन्धी आयोग सबै काम सम्पन्न गर्न नसकेको अवस्थामा आयोगहरु विघटन भए ।

तर ती आयोगलाई फेरि पुनःस्थापित गर्नका लागि हामी एकताबद्ध भएर कानुन निर्माण गरेर त्यससम्बन्धी सिफिारिस समिति गठन गरेर अघि बढेका छौँ । त्यसलाई पनि टुंगोमा पुर्याउँदैछौँ । त्यसका लागि आवश्यक पर्ने अन्तर्राष्टिय प्रतिबद्धता, सर्वोच्चको फैसला, सम्बन्धित पीडितहरुसँगको छलफलको आधारमा आवश्यक कानुन निर्माणका लागि सम्बन्धित मस्यौदा तयार गर्दै जनताको बीचमा जान, पीडितहरुको बीचमा जान, सरोकारवालाहरुसँग छलफल गर्नको लागि आवश्यक  तयारी गर्ने चरणमा छौँ ।

अब बाँकी काम एक वर्षभित्रमा सिद्धिएन भने म्याद थपेर २ वर्षभित्रमा शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न हामी लागेका छौँ ।

संविधान कार्यान्वयनको यति महत्वपूर्ण कार्य हामीले सम्पन्न गर्दै भोलि संविधान दिवस त्यसको संघारमा आज उभिरहेका छौँ । यो भन्न पाउँदा मलाइ अति गर्व लागेको छ ।

यो काम सम्पन्न गर्ने यति महत्वपूर्ण सम्पन्न गर्ने सम्पूर्ण राजनीतिक दलहरुलाई, नेताहरुलाई, यहाँ उपस्थित सबैलाई बधाई भन्न चाहन्छु । मेरो सधैँको आग्रह हो । हामीले ऐतिहासिक कामहरु गरेका छौँ । महत्वपूर्ण आधारहरु खडा गरेका छौँ । ती आधारमा उभिएर बोल्न सक्ने अवस्थामा छौँ । अब यो देशमा परिवर्तनका लागि राजनीतिक आन्दोलन गर्नु पर्दैन । अब कसैले सशस्त्र क्रान्ति गर्नु पर्दैन ।

हामीले बनाएको यो संविधानमा टेकेर जुनसुकै प्रकारका राजनीतिक परिवर्तनको अनुभव गर्न सकिन्छ । त्यसकारण राजनीतिक आन्दोलन गर्नु पर्ने अब स्थिति रहेन । अब यो आधारमा रहेर हामी समृद्ध नेपाल सुखी नेपाली, यसलाई व्यवहारमा अनुभूत हुने ढंगले अगाडि बढौँ । त्यो आधार हामीले तयार गरेका छौँ ।

यो महत्वपूर्ण कुरा, यो सकारात्मक कुरा, हाम्रो शीर ठाडो हुने कुरा, हाम्रो छाती फुक्ने कुरा, संसारलाई हामीले यति काम गरेका छौँ भनेर भन्न सक्ने कुरा, हामी कहिले पनि नबिर्सौँ ।

अनि यो सन्दर्भमा भएका केही कमजोरी छन् भने त्यसलाई सच्चाउन मिलेर अगाडि बढौँ । होइन भने निराशाको सन्देश जान्छ है । हामी अलिकति पनि निराश हुनु पर्ने छैन । हामीले राम्रो काम गरेका छौँ । ऐतिहासिक काम गरेका छौँ । तर भएका कमिकमजोरी छन् भने त्यसलाई सच्चाएर अघि बढ्न हामी तयार छौँ । तेसो भन्नका लागि अलिकति मन खुम्चाउनु पर्ने कुरा छैन । संविधानको निर्माण गर्दा सिस्टम स्थापित पनि गरेका छौँ ।

संविधानको प्रस्तावनामा उल्लेख भएको एउटा कुरा हामीले समाजवादको कुरा गरेका छौँ । त्यो समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट निर्माण गर्ने हामी घोषणा गर्छौँ भन्ने कुरा छ । त्यही प्रस्तावनामा यो समाजवाद भनेको के हो ? त्यो समाजवादको विशेषताको उल्लेख छ । समाजवादको चरित्रको उल्लेख छ ।

जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण भन्ने हुँदैन । तर संविधान बनाउँदा पूर्ण प्रेस स्वतन्त्रता लेख्यौँ । हामी स्वतन्त्र, निष्पक्ष, कानुनी राज्यको अवधारणा, यो समेतको समाजवादप्रति प्रतिबद्ध रहेर हामी समृद्ध राष्ट्र निर्माण गर्ने छौँ भन्ने संविधानमा उल्लेख छ ।

संविधान निर्माण हाम्रो नेतृत्व, पहल र प्रयासमा भएको हो । त्यसबाट हामी कुनै पनि हालतमा यताउता हुने छैनौँ । यो हाम्रो प्रतिबद्धता हो ।

संसदमा होस् वा सडकमा कहीँ पनि कुनै पनि अभिव्यक्ति दिँदा काम कारबाही गर्दा यो मान्यतामा कतै पनि असर पर्छ कि भन्ने कुरामा हामी सबै सचेत छौँ । यसमा अलिकति पनि असर नपरोस् भन्नेप्रति प्रतिबद्ध रहनु पर्छ भन्ने कुरामा हामी एकदम प्रतिबद्ध छौँ ।

-संघीय संसदको चौथो अधिवेशन अन्त्य हुनुअघि संसदमा पूर्व सभामुख तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले दिएकाे मन्तव्यकाे सम्पादित अंश(ujyaaloonline)

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार