गण्डकीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् ।

संक्रमित हुनेहरुमा तनहुँ, म्याग्दी, स्याङ्जा, बागलुङका छन् । तनहुँमा कोरोना संक्रमण पुष्टि हुनेमा ब्यास नगरपालिकाका ३५ वर्षीय एक जना, बन्दीपुर गाउँपालिकाका २ जना र शुक्लागण्डकीका ३३ वर्षीय एकजना पुरुष छन् ।

त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा २ जना संक्रमित फेला परेका छन् । उनीहरु दुवै ३० वर्षीय पुरुष हुन् ।

नयाँ संक्रमित पुष्टि हुनेमा स्याङ्जाका ३ जना छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु चापाकोट, कालीगण्डकी र वालिङ नगरपालिकाका हुन् । उनीहरु क्रमशः २९, १९ र २० वर्षीय पुरुष छन् ।

त्यस्तै, बागलुङको बडिगाड गाउँपालिकाका १९ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोही जिल्लाकै गल्कोट नगरपालिकाका २५ र ३५ वर्षीय २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा पोखरा महानगरका २५ र ८५ वर्षीय २ जना पुरुष छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ । जसमध्ये ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार