दश हजार रिक्सा चालक सङ्‍कटमा

दश हजार रिक्सा चालक सङ्‍कटमा

लम्की । कैलालीका रिक्सा चालक व्यवसाय नचलेपछि सङ्‍कटमा परेका छन् । तीन महिनासम्म रिक्सा चलाउन नपाएका रिक्सा व्यवसायी रिक्सा चले पनि यात्रु नपाएपछि चिन्तामा परेका हुन् ।
सिद्धि विनायक यातायात प्रालि टीकापुरका महासचिव रामशरण रेग्मीका अनुसार कैलालीमा करिब १० हजार रिक्सा छन् । रिक्सा व्यवसाय नचलेपछि १० हजार नागरिकको रोजीरोटी सङ्‍कटमा परेको रेग्मी बताउँछन् । “तीन महिना पूर्ण रूपमा रिक्सा बजारमा आउन सकेनन्, आजभोलि चलाउन खोजेका छन् तर यात्रु छैनन् । रिक्सा चालकको पेसा सङ्‍कटमा परेको छ,” उनले भने ।

कोरोना भाइरस सङ्क्रमणले मुलुकै अस्तव्यस्त भएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले सबैभन्दा बढी असर सामाजिक र आर्थिक क्षेत्रमा परेको छ । कैलालीको जानकी गाउँपालिका ६ का मङ्‍गल चौधरीले गएको माघमा इलेक्ट्रोनिक रिक्सा किने । माघ १० गते ६ लाख २२ हजार रुपैयाँ ऋण गरेर रिक्सा किनेका मङ्‍गलले दुई महिना मात्र  राम्रोसँग रिक्सा चलाए । दुई महिनापछि चैत ११ गते देशमा लकडाउन भयो । “असारदेखि लकडाउन केही खुकुलो भएपछि रिक्सा बजारमा ल्याउन थालेँ,” उनले भने, “ऋणमा रिक्सा किनेँ तर चलाउनै पाइनँ । बैंकले ब्याज र किस्ता तिर्न ताकेता गरेको छ । मलाई त रिक्सा किनेर तनाव भयो, अब ऋण कसरी तिर्नु ?”

जानकीकै रवीन्द्र नेपालीलाई पनि रिक्सामा यात्रु नपाउँदा समस्या भएको छ । उनलाई पनि ऋण कसरी तिर्ने, परिवार कसरी पाल्ने भन्‍ने चिन्ता बढेको छ । “तीन महिनापछि रिक्सा चलाउँदा पनि यात्रु पाइन्‍न, हिजो त दिनभरि यात्रु कुरेँ, एकजना पनि पाइनँ,” रवीन्द्रले भने, “घर पनि कसरी चलाउने ? यही पेसाबाट परिवार पालेको थिएँ, अब त भोकमरी होला जस्तो छ ।”

रिक्सा चालक राजकुमार चौधरीले पनि दुई वर्षअघि ऋण गरेर रिक्सा किने । उनले दुई वर्ष राम्रो कमाइ गरे । रिक्सा किन्दाको ऋण दुई वर्षमै चुक्ता गरे । तर कोरोना भाइरस सङ्क्रमण फैलिएपछि रोकथामका लागि भएको लकडाउनको असरले दैनिकी चल्न मुस्किल भएको छ । “दैनिक दुई हजारदेखि चार हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो, अब नियमित बचत गर्छु र घर चलाउँछु भन्‍ने सोचेको थिएँ,” राजकुमार भन्छन्, “तीन महिनामा घर खर्चमा ५० हजार रुपैयाँ ऋण लागिसकेको छ, न त रिक्सा चल्छ, जीवन तनावमय भएको छ ।”

रिक्सा चालक इन्द्र विक पनि यात्रु नपाएर दिक्क छन् । उनले पनि ऋणमा किनेको रिक्सा राम्रो नचलेपछि रिक्साचालक पेसाबाट विस्थापित हुने अवस्था आउने चिन्ता बढेको बताए । रिक्सा चालकलाई कोरोनाको डरले निर्वाध रिक्सा चलाउन पनि कठिन भएको छ । रिक्सा चालक गुजारा गर्नै गाह्रो भएको गुनासो गर्न थालेका छन् ।

रिक्सा चालक जनक परियारले यही पेसाबाट परिवार पालेकालाई जीवन निर्वाह गर्न कठिन भएको बताए । “सुरुमा त कोरोना सङ्क्रमण होला भन्‍ने डर थियो, अब त भोकै मरिन्छ भनी डर हराएको छ,” जनकले भन्छन्, “यात्रु कुरेर बस्छौँ, यात्रु पाए पनि एकजना मात्रै बस्‍न खोज्छन्, यात्रु पनि धेरै जनासँगै बस्‍न चाहँदैनन्, अनि कसरी आम्दानी हुनु ? पेट्रोल हाल्न कठिन भएको छ ।”

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार