तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको उपयुक्त ‘जवाफ’ दिने साउदी अरेबियाको चेतावनी

तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको उपयुक्त ‘जवाफ’ दिने साउदी अरेबियाको चेतावनी

आफ्ना दुई ठूला तेल प्रशोधन केन्द्रमा भएको ड्रोन तथा क्रुज मिसाइल आक्रमणको उपयुक्त जवाफ दिने साउदी अरेबियाले बताएको छ ।

आक्रमणमा इरानको संलग्नता रहेको र इरानबाटै आक्रमण भएको पुनः दोहोर्‍याउँदै साउदी अरेबियाले अत्यावश्यकीय प्रतिक्रियाका रुपमा आक्रमणको जवाफ दिने चेतावनी दिएको हो ।

आक्रमणमा प्रयोग भएका सबै हतियार इरानी रहेको साउदी अरेबियाका विदेश मन्त्री अब्देल अल–जुबेरले बताएका छन् । चाँडै नै आक्रमणका सम्बन्धमा गरिएको अनुसन्धानको विस्तृत निष्कर्ष सार्वजनिक गर्ने उनले बताएका छन् । तर उनले कस्तो खालको आक्रमण वा जवाफ दिने भन्ने खुलाएका छैनन् ।

सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई प्रशोधन केन्द्रमा सेप्टेम्बर १४ मा १८ वटा ड्रोन तथा सातवटा क्रुज मिसाइल आक्रमण भएको साउदी अरेबियाको रक्षा मन्त्रालयले जनाएको छ । आक्रमण पश्चात साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ ।

अमेरिका तथा साउदी अरेबियाले आक्रमणमा इरानको संलग्नता रहेको र त्यसका प्रमाणहरु प्राप्त भएको बताउँदै आएका छन् । तर इरानले भने आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

इरानको साथ पाएको यमनका हुथी बिद्रोहीले गएको हप्ताको शनिबार भएको आक्रमणको जिम्मेवारी लिएका छन् । तर आक्रमणमा प्रयोग भएका ड्रोन तथा क्रुज मिसाइल इरानी रहेको र इरान तर्फबाट नै आएको साउदी अरेबिया र अमेरिकाले दाबी गर्दै आएका छन् ।

अमेरिकाले साउदी अरेबियालाई साथ दिन आफ्ना सैनिक पठाउने घोषणा गरिसकेको छ । संख्या यकिन नभए पनि अमेरिकी सेनाले साउदी अरेबियाको हवाई तथा मिसाइल सुरक्षा प्रणालीलाई बलियो बनाउन सहयोग गर्ने जनाइएको छ ।

अमेरिकाले साउदी अरेबियामा सेना पठाउने बताएपछि इरानले त्यसमा आक्रोशित रुपमा प्रतिक्रिया दिएको छ । इरानका उच्च सैन्य अधिकारीले आफ्नो देश अमेरिकाका तर्फबाट सिर्जना हुने कुनै पनि आक्रोशको जवाफ दिन तयार रहेको शनिबार बताएका थिए  ।

इरान र अमेरिकाबिच गएको वर्षदेखि तनाव उत्कर्षमा छ । साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि त्यो थप बढेको छ । किनकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने बताइसकेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार