‘चीन व्यापारी हो, सित्तैमा केही दिनेवाला छैन’

Corona-Ad-Raptisonari

‘चीन व्यापारी हो, सित्तैमा केही दिनेवाला छैन’

असोज ५, काठमाडौं– बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मार्फत नेपालमा सी जिनपिङले धमाधम अनुदान दिन्छन् र नेपालको विकास हुन्छ भन्ने धेरै मान्छेहरुको बुझाइ छ । चिनियाँहरू हामी त्यसरी अनुदान दिनेवाला छैनौं, ऋणको रुपमा दिन्छौं, तिमीहरूले तिर्नुपर्छ भन्छन् । दुबै पक्षलाई नाफा हुनुपर्छ भन्ने उनीहरूको भनाइ छ ।

हामीले चीनको सीमिततालाई बुझ्न जरुरी छ । चीनले सित्तैमा एक पैसा पनि दिनेवाला छैन ।

म मन्त्री भएर चीन जाँदाको एउटा अनुभव सुनाउँछु ।

चलन चल्तीअनुसार जानुभन्दा अगाडि पूर्वप्रधानमन्त्री, पूर्वअर्थमन्त्री र विशेषज्ञहरूसँग सल्लाह लिएँ । सल्लाहअनुसार नेपाललाई यो–यो चाहियो भनेर एक सय–दुई सय लामो सूची बोकेर गएँ ।

चीनमा वैदेशिक सहयोग पनि योजना मन्त्रालयले हेर्छ । त्यहाँका योजनामन्त्रीले मलाई भने– चीन तिमीहरूलाई पैसा दिन बसेको हो ? तिमीहरू त पैसा माग्न आएजस्तो मात्रै कुरा गर्छौ । तिमीहरूको कुनै प्राथमिकता छैन ? सयवटा योजना मागेर पनि कुनै प्राथमिकता हुन्छ ?

अन्तर्राष्ट्रिय विषयलाई पनि राष्ट्रिय स्वार्थअनुसार कसरी अगाडि बढाउनुपर्छ भन्ने पाठ चीनबाट लिन सकिन्छ । राष्ट्रिय नीतिमा अन्तर्राष्ट्रिय शक्तिलाई कसरी प्रयोग गर्ने भन्ने कुरा सिक्न जरुरी देखिन्छ

मेचीदेखि महाकालीको कुरा गर्नेलाई हामी वाह् क्या जान्ने भन्छौं । गरी, रसुवागढी, हिल्सा, ताप्लेजुङ सबैतिरको योजना माग्नेलाई हामी वाह् हाम्रो नेता कस्तो जान्ने भनिरहेका हुन्छौं । यसरी सबै कुरा मागेर केही नपाउनु भन्दा मुख्य प्राथमिकता यो हो भनेर एउटा योजना भन्न सक्नु पर्‍यो नि । हो, चिनियाँहरूबाट सिक्नुपर्ने अर्को कुरा यही हो ।

कुनैबेला चीनको सेञ्जेनबाट मात्रै दैनिक छ हजार मान्छे समुद्रमा पौडी खेलेर हङकङ र मकाउतिर भाग्दा रहेछन् । चिनियाँ नेताहरूको निश्कर्ष के रहेछ भने– कम्युनिष्ट मन नपराउनेहरू भागे । अब उनीहरू फर्किंदा कम्युनिष्ट शासन ढाल्ने गरी आउँछन् । त्यसकारण सीमानामा सेना र प्रहरीको संख्या बढाउनुपर्छ भनेर लागेछन् । तर, जति नै कडाइ गर्दा पनि जाने क्रम रोकिएन ।

त्यसपछि तेङ स्याओपिङ सेन्जेन गएछन् । उनले खान नपाएर मान्छेहरू यसरी भागेका हुन् भन्ने बुझेछन् । पारि भन्दा यताको आर्थिक अवस्था मजबुद भएन भने भाग्ने क्रम रोकिदैन भन्ने तेङले निचोड निकालेछन् । र, सन् १९७८ पछि चीनले चारवटा विशेष आर्थिक क्षेत्र शुरु गर्‍यो । आज त्यहाँबाट भाग्ने होइन कि सारा मान्छेहरू चीन जाने अवस्था छ । तेङको धारणा सही भयो ।

हाम्रो योजना हामीसँग हुनुपर्छ । चीनले गर्दिन्छ र हामी स्वतः माथि जान्छौं भनेर बस्यौं भने केही पनि हुनेवाला छैन ।

मन परे पनि, नपरे पनि हामी छिमेकी फेर्न सक्दैनौं । दुईवटा छिमेकी देशले हाम्रो देशको विकासमा पार्ने प्रभाव अरु देशको भन्दा बढी छ । हो, त्यसलाई नेपालको हितमा कसरी प्रयोग गर्ने भन्ने आजको महत्वपूर्ण विषय हो ।

चिनियाँहरू व्यापारी हुन् । उनीहरूका शासक १२ औं शताब्दीमै व्यापार गर्न युरोप जान्थे । उनीहरू विकास नरम कुटनीतिक माध्यमबाट गर्न चाहन्छन् । त्यही नीतिले अमेरिकाजस्तो ठूलो अर्थतन्त्र भएको देशलाई समेत तह लगाइरहेको छ ।

सन् २०३५ सम्म चीनमा आठ हजार बोइङ वा एयर बस चाहिन्छ रे । त्यसको मूल्य कति होला ? त्यत्रो माग भएपछि तिमीहरूले हाम्रो कुरा मान्छौ कि अरुसँग किनौं भनेर दबाव सिर्जना गर्न सक्छन् ।

उनीहरू नयाँ– नयाँ कुरा सिकिरहेका छन् । ज्ञान हस्तान्तरणमा पनि चिनियाँहरू अगाडि देखिएका छन् । चीनले आफ्नो आधारभूत क्षमतामा पनि विकास गरेको छ । अनुसन्धानमा पनि उनीहरूले प्रशस्त लगानी गरिरहेका छन् ।

ताइवानमा जन्मेर अमेरिकामा हुर्केका र अहिले चीनमा बसिरहेका एक जना लेखकको एआई ( आर्टीफिसियल इन्टेलीजेन्स) सुपरपावर भन्ने पुस्तक पढेको थिएँ । त्यहाँ के भनिएको छ भने आगामी पाँचदेखि दश वर्षमा एआईका कारण १७ हजार अर्ब डलर बराबरको अर्थतन्त्र सिर्जना हुँदैछ । जुन झण्डै अमेरिकाको कुल ग्राहस्थ उत्पादन बराबर हो ।Onlinekhabar

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार