वरिष्ठ नेता पौडेलद्वारा राहत रकम हस्तान्तरण

वरिष्ठ नेता पौडेलद्वारा राहत रकम हस्तान्तरण

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिरोबाट आफन्त गुमाएका तनहुँको व्यास नगरपालिका–९ माझफाँटका केशर थापालाई शुक्रबार राहत रकम प्रदान गरेका छन् । श्रीमती, छोरा र बुहारीको पहिरोबाट निधन भएपछि व्यास नगरपालिकाले थापालाई राहत रकम उपलब्ध गराएको हो ।

उक्त रकम वरिष्ठ नेता पौडेलले शुक्रबार पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत थापालाई हस्तान्तरण गरे । पहिरोमा पुरिएर घाइते ५० वर्षीय थापा गण्डकी मेडिकल कलेजमा उपचाररत छन् । पहिरोमा पुरिएर थापाका श्रीमती ४० वर्षीया कमला थापा, छोरा २४ वर्षीय मनोज, बुहारी २१ वर्षीया अञ्जना थापाको मृत्यु भएको थियो । कान्छा छोरा २० वर्षीय राजेश अझै बेपत्ता छन् ।

पहिराबाट ज्यान गुमाएकाका तीन जना मृतकको जनही रु ५० हजारका दरले एक लाख ५० हजार र घाइतेको उपचारका लागि  २५ हजार गरी कूल एक लाख ७५ हजार वरिष्ठ नेता पौडेलले अस्पतालमा पुगी हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाले पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक ५० हजार र घाइतेको उपचारका लागि ४० हजारसम्म उपलब्ध गराउने निर्णय गरेको थियो । सोही क्रममा वरिष्ठ नेता पौडेलले पहिरोले पुरिएर घाइते ऋषिङ गाउँपालिका–८ भैँसीकिलेकी ६० वर्षीया ज्योतिमाया थापालाई पनि भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार