भूमाफियाले ठूलीमायालाई विस्थापित गरेको भन्दै विरोध

भूमाफियाले ठूलीमायालाई विस्थापित गरेको भन्दै विरोध

काठमाडौं । पञ्चकन्या युवा क्लब, बालुवाटार–काठमाडौंले बालुवाटार टुडालदेवीस्थित् गुरुमा मार्गमा विगत ४२ वर्षदेखि स्थायी रुपमा बसोबास गर्दै आएकी ८२ वर्षीया वृद्धा ठूलीमाया सुनुवार (परौठा आमा) लाई टोल सुधार समितिका अध्यक्ष श्रीनारायण प्रजापति र घरजग्गा कारोबार गर्ने राजकुमार थपलियाले जबरजस्ती विस्थापित गरेकोमा आपत्ति जनाउँदै तत्काल परौठा आमालाई क्षतिपूर्तिसहित पूर्नस्थापित गर्नुपर्ने माग गरेको छ ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै युवा क्लबले परौठा आमामाथि ठूलो ज्यादती र अन्याय भएको निश्कर्ष निकाल्दै तत्काल न्याय दिलाउन सरकारसमक्ष माग गरेका हो । पत्रकार सम्मेलनमा उक्त क्लबका अध्यक्ष सुमन लिम्बुले परौठा आमाले विगत चार दशकभन्दा बढि समयदेखि उक्त जग्गा भोगचलन गर्दै आएको र २०४५ सालको नक्शामा कित्ता नम्बर १२८ मा पूरानो माटोको घर देखिएको जनाए ।

उनले भने,‘ उहाँ आमाको नागरिता पनि वडा नम्बर ४ कै छ । मतदाता परिचयपत्र पनि यही वडाको छ । यही परिचय पत्रहरुमा १०७९ भनेर घर नम्बर पनि उल्लेख गरिएको छ । विजुली बक्ति र खानेपानीको बिलमा पनि यो घर उहाँकै नाममा दर्ता छ । सरकारबाट खाईपाई आउनुभएको वृद्धभक्ता लगायतका सुविधापनि यही वडाबाट प्राप्त गर्दै आउनुभएको छ । यी सबै कुराले यो उहाँकै घर जग्गा हो भन्ने कुरा प्रमाणित हुन्छ ।’ उनले ‘परौठा आमा’लाई न्याय दिलाउने अभियानमा आफूहरु होमिईसकेकोले न्याय नदिलाएसम्म यो अभियान समाप्त नहुनेपनि विश्वास दिलाए ।

परौठा आमालाई न्याय दिलाउने अभियानमा सबैको साथ र सहयोग होस भन्ने उनले आग्रहसमेत गरे । उनले अघि भने,‘परौठा आमाका छोराछोरीहरुको पनि सबैले यही वडा नम्बर ४ कै नागरिकता छ ।’ क्लबका अध्यक्ष लिम्बुको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘अचम्मको कुरा, ४२ बर्षदेखि स्थायी रुपमा घरजग्गा किनेर बसोबास गर्दे आउनुभएको सुनुवार परिवारको उक्त जग्गा उपभोग र भोगचलन गर्ने अधिकार छैन भने सोही जग्गाको पछाडी पट्टी नया घर निर्माण गर्ने राजकुमार थपलियाको उक्त जग्गासहित बाटोकोसमेत जग्गा उपभोग गर्न अधिकार कसरी भयो ? के वडाको जनप्रतिनिधीहरुको सल्लाह र सहमतिबिना यत्रो ठुलो निर्णय आफै गर्ने ती दुई व्यक्तिहरुलाइ अधिकार छ ? के देशमा न्याय , सत्य र कानुन छैन ?’ कार्यक्रममा क्लबका उपाध्यक्ष गोकुल भण्डारीले क्लबको तर्फबाट प्रेषित विज्ञप्ती वाचन गरेका थिए ।

कार्यक्रममा पीडित भनिएका ठूलीमाया सुनुवार (परौठा आमा) ले आफूमाथि ठूलो अन्याय भएको गुनासो पोखिन् । र, विगत ४२ वर्षदेखि आफूले ८० हजार रुपैयाँमा किनेर भोगचलन गर्दै आएको घरजग्गा आज आएर यसरी जबरजस्ती र ललाईफकाई, र डर, धम्की देखाएर लकडाउनकै समयमा विस्थापित गरिएको उनको गुनासो छ । उनले आफूलाई टोल सुधार समितिको मान्छे र भूमाफीया मिलेर यसरी विस्थापित गरिएको भन्दै न्यायको लागि राज्यसँग अपिल गरिन् । उनले भनिन्,‘मलाई आज आफ्नै घरजग्गाबाट विस्थापित गरियो । मेरो छोरोसमेत घरमा नभएको बेलामा मलाई यसरी विस्थापित् गरिएको हो ।

अब म खुल्ला आकाशमुनि सुत्न बाध्य भएको छु । परौठा बनाएर बेच्ने सानो पसल थियो। त्योपनि अहिले बन्द भयो । अब मेरो जाने ठाउँ कहीँ पनि छैन् । म जनप्रतिनिधिहरुकै घरमा गएर ओछ्यान लगाएर सुत्न बाध्य हुनेछु ।’ उनले आफूलाई पूर्नस्थापित गराउनको लागि देशभरिका सम्पूर्ण न्यायप्रेमी जनसमूदायलाई अपिलसमेत गरेकी छिन् ।
कार्यक्रममा सामाजिक अभियन्ता किशोर सुनुवारले पनि परौठा आमालाई न्याय दिनुपर्ने माग गरे । उनले नागरिकता, घर नम्बर, मतदाता नामावली सबै यही वडाबाट हाँसिल गरेकी परौठा आमालाई अहिले आएर भुमाफीया र टोल सुधार समितिको मिलेमतोमा सुकुम्वासी बनाएको आरोप लगाए । उनले परौठा आमालाई स्थानीय सरकारले तत्काल पूर्नस्थापना गर्नुपर्ने माग गरे । उनले देशव्यापी रुपमा आमालाई साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि अझै धेरै सहयोग र साथ गरिदिनुहुन आग्रह गरे ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार