गाउँगाउँमा इन्टरनेट विस्तार, जीवनशैली फेरिँदै

गाउँगाउँमा इन्टरनेट विस्तार, जीवनशैली फेरिँदै

गाउँमा इन्टरनेटको पहुँच विस्तार हुँदै गएको छ । इन्टरनेटको पहुँच विस्तारले प्रयोगकर्ता बढेका छन् भने ग्रामीण क्षेत्रका मानिसको जीवनशैलीसमेत बदलिएको छ । मोबाइल फोन, इमेल, इन्टरनेटजस्ता नयाँ–नयाँ प्रविधि र तिनमा आधारित वर्तमान मानिसको जीवनशैली फेरिएको छ ।

वस्तु सामुदायिक विकास केन्द्र धुर्कोट गाउँपालिका–५ मा दैनिक ८/१० जना बुबाआमाको भीड हुन्छ । केन्द्रले इन्टरनेटको सुविधा थपेपछि त्यहाँका धेरै अभिभावकलाई स्वदेश तथा परदेशमा कुरा गर्न सजिलो बनाएको छ । ‘केन्द्रले अस्ट्रेलियामा भएका छोरा बुहारीसँग नजिक बनाएको छ,’ स्थानीय कृष्ण भण्डारीले भने, ‘केटाकेटीको फुर्सद हेरेर कुरा गर्छौँ ।’ सिकाइ केन्द्रका अध्यक्ष युवराज भण्डारीका अनुसार ०६८ सालमा साक्षरोत्तर कार्यक्रमअन्तर्गत पत्रपत्रिका र पुस्तक पढ्न यो केन्द्र स्थापना भएको थियो । अहिले इन्टरनेटमार्फत अरू थप सेवा प्रदान गरेको छ ।

‘प्रविधिले गाउँबस्ती फेरिए । अहिले परदेशको छोरो नेटमा र पैसा गाउँमै आउँछ,’ भण्डारीले भने, ‘धेरै ठाउँमा बैंक र इन्टरनेट पुगेको छ ।’ धुर्कोट गाउँपालिकामा सन्राइज बैंक स्थापना भएको छ । औसतमा दैनिक २५ वटा रेमिट्यान्स आउँछन् । त्यस्तै, मुसीकोट नगरपालिका–३ वडागाउँको लुम्बिनी कम्प्युटर सेन्टरमा इलेल गर्ने, विदेशमा रहेका आफन्तसँग कुराकानी गर्नेको दैनिक भीड हुन्छ । कम्प्युटर सेन्टरका प्रबन्धक वसन्त अधिकारीले पहिले ५०÷६० जना आउने भए पनि अहिले घर–घरमै इन्टरनेट वा थ्रिजीमार्फत काम गर्न थालेको बताए ।

सबै स्थानीय तहमा बैंक
अहिले जिल्लाका सबै स्थानीय तह इन्टरनेटको पहुँचमा छन् । त्यस कारण पनि स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगेका छन् । एक वर्षमै इन्टरनेट विस्तारसँगै र बैंक तथा वितीय संस्था गाउँ–गाउँमा पुगेका छन् । यो स्थानीय तहसँगैको उपलब्धि भएको सन्राइज बैंक धुर्कोटका प्रमुुख धु्रव पोखरेलले बताए । जसका कारण स्थानीय तह र नागरिकले वितीय कारोबार बैंकमार्फत गर्न थालेका छन् । बैंक पुगेसँगै नागरिकले वित्तीय कारोबार गर्न सदरमुकाम वा सहर पुग्नुपर्ने बाध्यता हटेको छ । यसले बचत गर्ने र कर्जा लिएर उद्यम गर्ने बानीको समेत विकास भएको पोखरेलले बताए । अहिले गाउँ–गाउँमा कुमारी बैंक, साइन रेसुंगा, ग्लोबल आइएमई, बैंक अफ काठमाण्डू, सन्राइज बैंक, नेपाल बैंक, कृषि विकास बैंक, कैलाश बैंक, सेन्चुरी बैंक, एनसिसी बैंकलगायतले आफ्नो सेवा विस्तार गरेका छन् ।

इन्टरनेट कम्पनीको प्रतिस्पर्धा
जिल्लामा नेपाल टेलिकमसँगै आधा दर्जन कम्पनीले इन्टरनेट सेवा सञ्चालन विस्तार गरेका छन् । जिल्लामा हाल नेपाल टेलिकम कार्यालय गुल्मीले एडिएसएल प्रविधिअन्तर्गत जिल्लामा करिब एक हजार लाइन वितरण गरेको छ । जिल्लाका मुख्य बजार क्षेत्रहरू तम्घास, रिडी, बलेटक्सार, खैरेनी, शान्तिपुर, मजुवा र बामीमा एडिएसएल इन्टरनेट सेवा प्रवाह भएको नेपाल टेलिकम जिल्ला शाखा गुल्मीका सूचना अधिकृत शंकर सुवेदीले जानकारी दिए । उनले पछिल्लोसमय स्काई प्रो, वाई म्याक्स प्रविधिमार्फत इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या धेरै रहेकोे सुवेदीले बताए ।

जिल्लामा अहिले रुरु रेसुंगा केवल नेट इन्टरनेट प्रालिमार्फत कालीगण्डकीलगायत ११ स्थानीय तहमा आफ्नो इन्टरनेट सेवा विस्तार गरेको व्यावस्थापक डिलबहादुर भुजेलले बताए । प्रालीका व्यक्ति र सरकारी तथा गैरसरकारी कार्यालय एवं वितीय संस्था गरी करिब दुई सय ग्राहक रहेको भुजेलले बताए । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले गुल्मीको कालीगण्की गाउँपालिकाबाहेक सबै स्थानीय तहमा सेवा विस्तार गरेको छ । साथै, छिमेकी जिल्ला बाग्लुङका विभिन्न क्षेत्रमा समेत वल्र्डलिंकको पहँुच रहेको शाखा प्रबन्धक श्याम क्षेत्रीले बताए । साथै, अहिले ग्रामीण क्षेत्रहरूमा इन्टरनेटको माग अत्यधिक रहेको उनले बताए । ‘अहिले सेवा पाए पैसाको समस्याको समस्या गाउँमा पनि छैन,’ उनले भने, ‘छोराछोरी परदेश हुनेहरूको घरमा इन्टरनेटको बढी माग छ ।’

गाउँकै विद्यालयमा कम्प्युटर शिक्षा
अहिले गाउँका विद्यालयमा समेत कम्प्युटरसम्बन्धी पठनपाठन सुरु भएको छ । दुई÷तीन वर्ष पहिलेसम्म कम्प्युटर पढ्न वा सिक्न सदरमुकाम नै पुग्नुपर्ने बाध्यता थियो । सदरमुकामबाहिर केही आर्थिक रूपले सक्षम विद्यालयहरूले मात्रै कम्प्युटर र इन्टरनेट सञ्चालन गरेका थिए । तर, अहिले जिल्लाका लगभग सबै विद्यालयमा कम्प्युटर पढाइ हुन्छ । कम्प्युटरसँगै इन्टरनेट सेवा पनि विस्तार गरिएको छ । जसका कारण शिक्षक विद्यार्थी दुवै पक्षलाई सजिलो भएको छ । ‘विद्यालयमा इन्टरनेट जोडेको तीन वर्ष पुग्न थाले,’ इस्मा गाउँपालिका–४ को रामराज्य माविका कम्प्युटर शिक्षक केशव जिसीले भने, ‘शिक्षक विद्यार्थीले पाठ्यसामग्री खोज्न र कम्प्युटरको आधारभूत ज्ञान प्राप्त गर्नुका साथै विद्यालयको चिठ्ठीपत्रका लागि सजिलो भएको छ ।’ त्यस्तै, हिमालय माविका सहायक प्राचार्य कृष्णप्रसाद भण्डारीले अहिले इन्टरनेटविनाको कम्प्युटर शिक्षा असम्भवजस्तै भएको बताए । उनले इन्टरनेटभित्र विश्व भएकाले नयाँ जानकारी, तथ्य तथ्यांक र अरू विषयवस्तु खोज्न पाउने भएकाले विद्यार्थी र शिक्षकको समेत अतिरिक्त क्षमता विकास हुने बताए ।

हुलाक सेवा प्रभावहीन बन्दै
सूचना र प्रविधिको विकाससँगै सर्वसाधारणमा हुलाक सेवा प्रभावहीन बन्दै गएको छ । अहिले सरकारी निकायका महत्वपूर्ण चिठ्ठी हुलाकमार्फत आउँछन् । त्योबाहेक सूचना र प्रविधिका आमनागरिकको हातमै उपलब्ध छ । हुलाकमार्फत चिठी आदान–प्रदान गर्नेको संख्या बर्सेनि क्रमशः घट्दै छ । टेलिफोन र इन्टरनेटको विकाससँगै हुलाकमार्फत चिठी पठाउनेको संख्या घटेको जिल्ला हुलाक कार्यालयका प्रमुख हरिप्रसाद गैरेले बताए । गुल्मीमा एक जिल्ला हुलाक, १४ इलाका र ६१ वटा अतिरिक्त हुलाक छन् ।

विपत्को सूचना र जोखिम कम
गत ६ साउनमा पहिरोका कारण सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा जनधनको ठूलो क्षति भयोे । ठूलोलुम्पेकका युवा नेता जितु तरामुले फेसबुक स्टाट्समार्फत घटना सार्वजनिक गरे । त्यो सूचनाले स्वदेश तथा विदेशका आमनागरिकको ध्यान आकृष्ट गरायो । त्यसपछि आमसञ्चारमाध्यम र पत्रकार घटनामा पुगे । वास्तविकताबाहिर ल्याए । तर, सूचनामा इन्टरनेटको पहुँचले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको नेता तरामुले बताए । उनले घटना मात्रै नभएर पछिको जोखिमका बारेमा पनि मोबाइल र इन्टरनेटमार्फत सचेत बनाउने काम भएको बताए । गत वर्ष तुरतुरे पहिरोपछिको जोखिम कम गर्न पनि इन्टरनेटको महत्वपूर्ण भुमिका रह्यो । ठूलो ताल फुटेको भए बाग्लुङ र गुल्मीको खोला किनारका धेरै बस्ती सखाप हुने थिए । तर, खोला थुनिएको खबर केही मिनेटमै फेसबुकमा भाइरल भयो । गाउँ, सहर र परदेशका सामान्य व्यक्तिदेखि प्रशासन प्रमुख र सांसद मन्त्रीले समेत फेसबुक, इमेल इन्टरनेटमार्फत सबैलाई सचेत बनाएको छ । नयाँ पत्रिका दैनिकबाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार