एसिड आक्रमण : परपीडक ग्रन्थीको उपज

एसिड आक्रमण : परपीडक ग्रन्थीको उपज

हिजो बिहीवार साँझ काठमाडाैंको सीतापाइलामा ओखलढुङ्गा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको छ । घरबाट दही किन्न निस्किएकी कार्कीमाथि एसिड प्रहार हुँदो अनुहारमा क्षति पुगेको छ । एकोहोरो प्रेमका कारण एसिड प्रहार भएको घटनामा संलग्न रहेको शंकामा पक्राउ परेका व्यक्तिको बयानबाट देखिएको प्रहरीले जनाएको छ । केही समयअगाडि पनि घरायसी विवादमा राजधानीको बाफलमा एक जनाले आफ्नै पत्नी र सालीमाथि एसिड प्रहार गरेका थिए । पारिवारिक बेमेलका कारण उक्त घटना भएको जनाइएको थियो । गत साल भदौ २१ गते वीरगन्जकी ९ कक्षामा अध्ययनरत मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । ट्युसन पढ्न जाँदै गरेकी खातुन एसिड आक्रमणका कारण सख्त घाइते भएकी थिइन् । पछि एकोहोरो प्रेममा परेका व्यक्तिको प्रेम प्रस्ताव अस्वीकार गरेको प्रतिशोध लिन एसिड आक्रमण गरेको खुल्योे ।

प्रहरी प्रधान कार्यालयको रिपोर्टअनुसार आर्थिक वर्ष २०७१–७२ यता एसिड आक्रमणबाट १६ जना पीडित भएका छन् जसमध्ये १३ महिला रहेका छन् । एसिड आक्रमणका क्रूर घटना भारतमा धेरै हुने गरेका तथा फिल्ममा पनि देखाइने गरेको सन्दर्भमा हाल आएर राजधानीलगायत तराईका जिल्लामा समेत बढ्न थालेका छन् भने आक्रमणको मूल कारण प्रतिशोध रहेको देखिन्छ ।

बजारमा एसिड सहजै प्राप्त हुने भएकाले पनि यसप्रकारका घटनाहरू बढेको अनुमान गरी एसिड व्यापारमा नियमन हुनुपर्ने आवाज उठ्दै गरेको छ भने मनोसामाजिक संरचना तथा स्वास्थ्यलाई सन्तुलित राख्न सचेतना कार्यक्रमको आवश्यकता पनि बढ्दै गएको देखिन्छ । कडा कानुनी प्रावधान यस समस्याको समाधान हो भन्ने आवाजलाई २०७५ भदौ १ गतेबाट कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता, २०७४ ले आत्मसात गरी कानुनी कारबाहीको स्पष्ट व्यवस्था र कार्यविधिसमेत निर्धारण गरेको छ । यसबाट कानुनको अभावका नाममा दोषीले उन्मुक्ति पाउने वातावरण पनि अन्त्य भएको छ तर अपराध भ्ने रोकिएको छैन ।

विगत पाँच वर्षको एसिड आक्रमणको तथ्याङ्कअनुसार पीडक किशोरदेखि अधबैंसेसम्मका देखिन्छन् भने पीडित १२–१३ वर्षदेखि २५—२६ वर्षका किशोरी तथा युवति रहेका छन् । एकोहोरो प्रेम र प्रेम प्रस्तावकोे अस्वीकार तथा व्यक्तिगत रिसइबी आक्रमणका मुख्य कारण देखिए पनि त्यसको पृष्ठभूमिमा मानसिक अवस्था प्रमुखरुपमा रहेको हुन्छ । खासगरी प्रत्येक व्यक्ति आफ्नो इज्जत प्रतिष्ठा बढेको र आफ्नो कुरा अरूले स्वीकार गरेको देख्न चाहन्छ । यसले उसको ‘इगो’लाई तुष्टि दिन्छ । हाम्रोजस्तो पितृसत्तात्मक समाजमा कुनै पनि युवतिलाई समवयी वा उमेरले ज्यादै जेठो पुरुषलेसमेत मन पराएका खण्डमा उसको प्रस्ताव युवतिले स्वीकार गर्नुपर्छ भन्ने सङ्कुचित र अनुदार धारणाले जरो गाडेको देखिन्छ । सभ्य समाजमा औपचारिकरूपमा महिलापुरुष समानताका कुरा गरिए पनि रूढीवादी मान्यताको अमिट छाप परेका पुरुषको अवचेतनमा अहंकार नै रहने भएकाले उसका आचरण र व्यवहार सोहीअनुरूपका हुने गर्छन् । यसैले असमान तथा सामाजिक र कानुनी रूपमा पनि स्वीकार्य नहुने सम्बन्धका लागि पनि त्यस्ता व्यक्तिहरू अग्रसर हुने गर्छन् । कलिला किशोरीलाई प्रतिकार गर्ने आँट नहुने र इज्जत र अस्मिताको विषय पनि पुरुषका सापेक्षतामा महिलाका लागि बढी संवेदनशील मानिने भएकाले ‘ब्ल्याकमेलिङ’का कारण पनि नारीहरूले दुव्र्यवहार सहँदै जान्छन् ।

समाजमा केही नारीले पुरुषले छेडछाड गर्दा आफ्नो सुन्दरता र यौवनमा उनीहरू आकर्षित भएको ठानी क्षणिक सन्तुष्टिसमेत मान्ने गरेका कारण पनि दुव्र्यवहारलाई गम्भीरतापूर्वक लिँदैनन् र सहँदै जान्छन् । यसरी सहँदै जाँदा त्यस्ता पुरुषले महिला आफूलाई स्वीकार गर्ने मानसिकतामा पुगेको ठानेर झनै एकोहोरिन थाल्छन् ।

एकतर्फीरूपमा आकर्षित त्यस्ता व्यक्तिहरूले हीनताबोधका कारण यस्ता कुरा अरूलाई सुनाउन सक्दैनन् । अझ किशोरावस्थाका केटाकेटीमा त हर्मोनको तीव्र एवं शीघ्र परिवर्तन र असन्तुलनका कारण क्षणिक उत्तेजना बढ्दै गएको हुन्छ । त्यस्तो अवस्थामा उनीहरू तुरुन्तै विचलित हुने सम्भावना रहन्छ ।

आक्रमणद्वारा प्रतिशोध लिने व्यक्तिहरू प्रायः अन्तर्मुखी स्वभावका हुन्छन् । अन्तर्मुखी स्वभावकै कारण यस्ता व्यक्तिका अप्रकटित भावनाहरू अवचेतनमै दमित र कुुण्ठित अवस्थामा रहन्छन् । कुण्ठाले  व्यक्तिलाई विस्तारै अशान्त र असामान्य बनाउन थाल्दछ । प्रेममा असफल भएपछि सामान्य अवस्थामा फर्कन नसकेका केही व्यक्तिमा आफैँलाई पीडा दिने प्रवृत्ति देखिन्छ । यो असामान्य मनोदशालाई स्वपीडक ग्रन्थी भनिन्छ । यस्ता व्यक्तिले आत्मसुरक्षा तथा आफ्नो भविष्यको पटक्कै वास्ता गर्दैनन् । त्यस्ता व्यक्तिहरू लागूपदार्थ, मादक पदार्थ सेवन गर्ने, झैझगडा गर्ने, आफ्नै जागिर वा व्यवसाय छोडिदिने र आत्महत्यासमेत गर्ने अवस्थामा पुगेको पाइन्छ ।

यिनीहरू असफल प्रेमको नाममा भोकै बस्ने र आफ्नो शरीरलाई नै यातना दिने गर्छन् ।

अर्कातिर परपीडक ग्रन्थीको विकास भएको खण्डमा व्यक्ति आफूलाई मन परेको व्यक्तिलाई नै पीडा दिएर आनन्द लिन उद्यत हुन्छ । आप्mनै प्रेमिकालाई अन्य व्यक्तिबाट सामूहिक बलात्कार गराएर आत्मतुष्टि अनुभव गर्नेजस्तो विकृत मनोवस्था समेत यिनीहरूमा पाइन्छ । आफूले जुन कारणले उसलाई मन पराएको हो उसको त्यही पक्षमा क्षति पु¥याउँदा आनन्द अनुभूति गर्ने मनोविकृति वा मानसिक समस्याबाट ग्रस्त हुने भएकाले यिनीहरू प्रतिशोधको मौका कुरेर बसेका हुन्छन् । आफूले मन पराएकी सुन्दरीको रूपलाई कुरूप बनाइदिने, उसको सुख र समृद्धिको कारक तत्त्वमाथि क्षति पुर्‍याइदिनेजस्ता मनोविकृति उनीहरूमा पाइन्छ । यसैले विकृत मानसिकता भएका व्यक्तिहरू प्रेम प्रस्ताव अस्वीकारको प्रतिशोध स्वरूप एसिड आक्रमणजस्ता हिंस्रक, जघन्य र अमानवीय कार्यमा उत्रन पुग्छन् ।

एसिड आक्रमणजस्ता असामाजिक समस्याको निराकरणका लागि मुख्यरूपमा आफूलाई अनावश्यक रूपमा प्रेमको प्रस्ताव राख्ने र नजिकिन बाध्य पार्ने व्यक्तिलाई प्रारम्भिक अवस्थामै त्यसो नगर्न आग्रह तथा प्रतिकार गर्ने चेतना हरेक किशोरीमा विकसित गरिनुपर्छ । खासगरी आफ्ना सम्बन्ध तथा आफूप्रति अन्य व्यक्तिले गर्ने व्यवहारका बारेमा घरमा खुलस्तरूपमा कुरा गर्न सक्ने वातावरणको सिर्जना गरिनु अतिआवश्यक हुन्छ । सानै कुरा त हो नि भनेर आफूप्रति भएको दुव्र्यवहार सहनाले अपराधीलाई आपराधिक कार्य गर्न आत्मबल मिल्ने भएकाले र त्यही दुव्र्यवहारको घटनालाई उल्टै ‘ब्ल्याकमेलिङ’को आधारसमेत बनाउने सम्भावना बढ्ने भएकाले बालिका तथा किशोरीलाई सम्भावित दुव्र्यवहारका बारेमा घरपरिवार तथा समाजमा प्रशिक्षित गरिनुपर्छ ।

यस प्रकारका समस्यामा अपराध घटित हुँदा प्रयोग हुने साधन नियन्त्रणभन्दा अपराधको जड मनोविकृतिको उपचार नै महत्त्वपूर्ण पक्ष बन्छ । एसिड नियन्त्रण गरे पनि घरेलु हतियार, पेट्रोलियम पदार्थ र खुर्सानीसमेत नियन्त्रण गरौँ भनेर त्यतातिर लाग्ने हो भने त घटनामा प्रयोग हुने वस्तुको सूची अनन्त बन्छ र दैनिक प्रयोगका वस्तुको अभावले समाजमा झनै अप्ठेरो अवस्था सिर्जना गर्छ ।

आपराधिक घटनामा प्रयोग हुनसक्ने पदार्थको बेचबिखनलाई नियन्त्रित गर्नुमात्र समस्याको समाधान नभए पनि सहज रूपमा उपलब्ध हुने एसिड व्यापारलाई नियमन गर्ने व्यवस्था गर्नु भने उपयुक्त नै हुन्छ । साथै आक्रमणका घटनाका समाचारमा जोड दिर्नुभन्दा आक्रमणकारीलाई भएका सजाय र उनीहरूका पश्चात्तापका कथाहरूलाई सञ्चार माध्यमले स्थान दिनुपर्छ ।

मूलरूपमा चेतनाको विकास गराएर नै यस्ता परपीडक ग्रन्थीले ग्रस्त व्यक्तिबाट पीडितलाई सुरक्षित राख्न सकिन्छ । सुरुको चरणमै प्रतिकार गर्ने बानीको विकास हरेक किशोरीमा गराउन सके कलुषित मनोवृत्ति भएका व्यक्तिमा पनि परपीडक ग्रन्थीको विकास हुने अवस्था नै नआउन सक्छ । नैतिक मूल्यमा आएको ह्रास, पारिवारिक विचलन र बसाइँसराइले पारेका नकारात्मक प्रभावबाट यस्ता घटना बढ्ने भएकाले आफ्ना बालबालिकालाई सुरक्षित राख्न हरेक नागरिक सचेत हुनुपर्ने देखिन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार