निर्मला पन्तकाे हत्या भएको दुई वर्षसम्म दाेषि पता लागेन

निर्मला पन्तकाे हत्या भएको दुई वर्षसम्म दाेषि पता लागेन

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो ।

घटनापछि मुलुभर दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आन्दोलन हुनुका साथै उक्त मुद्दा अन्तर्राष्ट्रियस्तरमा पनि चर्चाको विषय बने पनि पछिल्लो समय प्रहरी अनुसन्धान सुस्ताएको देखिन्छ । यसअघि प्रहरी प्रमुख रहिसक्नुभएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र त्यसपछिका प्रमुख ठाकुरप्रसाद ज्ञवालीले घटनास्थलसमम्म पुगेर चासोका साथै अनुसन्धानमा जोडबल गरे पनि अपराधी भने पत्ता लगाउन सकेनन् । सरकारले उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन गरेर पनि घटनाको सुक्ष्म अनुसन्धान गरेको थियो ।

विभिन्न समितिका प्रतिवेदनले घटनाबारे थप आशङ्का व्यक्त गर्नुका साथै प्रमाण मेटिएकाले हत्यारा पत्ता लगाउन कठिन हुनेसमेत बताए । तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातको टोलीले कञ्चनपुर पुगेर घटनाबारे अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालयको घटनाप्रतिको लापरवाही र प्रमाण सङ्कलनमा चुकेको भन्दै तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित सात जना निलम्बल गरेको थियो । हाल प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट बर्खास्तीमा छन् भने तत्कालीन प्रहरी अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीसहित अन्य पाँच प्रहरी कर्मचारीको टोली निलम्बनमा छ ।

निर्मलाका परिवारका सदस्यले भने न्याय पाउने आशा हराउँदै गएको प्रतिक्रिया दिएका छन् । “हामीमाथि पीडामाथि पीडा थपियो, अब न्याय पाउने आश पनि हराउँदै गएको छ ।” निर्मलाकी आमा दुर्गादेवी पन्तले भन्नुभयो, “अनुसन्धानमा प्रहरी प्रशासन डटेर लागे पनि अपराधी पक्राउ गर्न सकेनन् ।”

उहाँले पछिल्लो समय भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीप विष्टका गतिविधि र कुराबाट आफूलाई शङ्का लागेर विष्टमाथि किटानी जाहेरी दिएको बताउनुभयो । “सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानूनी दायरामा ल्याउने काम प्रहरीको हो”, पन्तले भन्नुभयो, “अनुसन्धानको उपलब्धि राज्य संयन्त्रलाई थाहा होला ।”

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले घटनाबारे प्रहरी हालसम्म कुनै निचोडमा नपुगेको जानकारी दिनुभयो । “निर्मला घटनालाई हामीले पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेका छाँै”, उहाँले भन्नुभयो, “हामी निष्कर्षमा पुग्ने गरी सुक्ष्मरूपले अनुसन्धानमा जुटेका छौँ ।” पछिल्लो समय सुदूरपश्चिम प्रहरी नेतृत्वले पनि निर्मला प्रकरणलाई प्राथमिकतामा साथ अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

निर्मला प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार सङ्गठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डिआइजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार