पशुपति क्षेत्रको विस्तृत गुरुयोजनामा तिलगंगादेखि चाबहिलसम्मको चक्रपथ सार्न प्रस्ताव

Corona-Ad-Raptisonari

पशुपति क्षेत्रको विस्तृत गुरुयोजनामा तिलगंगादेखि चाबहिलसम्मको चक्रपथ सार्न प्रस्ताव

SONY DSC

मन्त्रिपरिषद्मा पेश गर्ने तयारी भइरहेको पशुपति क्षेत्रको विस्तृत गुरुयोजनामा तिलगंगादेखि चाबहिलसम्मको चक्रपथ सार्न प्रस्ताव गरिएको छ। विश्वभर रहेका करीब एक अर्ब हिन्दू धर्मावलम्बीमध्ये वार्षिक एक प्रतिशत अर्थात् एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी महत्वकांक्षी गुरुयोजना तयार गरिएको हाे।

पशुपति विकास कोषले तयार गरेको गुरुयोजनामा तिलगंगादेखि चाबहिलसम्मको सडकको वैकल्पिक सडक पनि प्रस्ताव गरिएको छ। जसअनुसार गौशालाबाट रातोपुल हुँदै रुद्रमती किनारै किनार वा कोटेश्वरबाट जडीबुटी हुँदै गोठाटार, जोरपाटी घुमाउनुपर्ने उल्लेख गरेको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए।

पशुपति क्षेत्रबाट जाने चक्रपथका कारण तिलगङ्गा पुलमुनिको बज्रेश्वरी मन्दिर जीर्ण बनेको छ। तान्त्रिकरुपमा ठूलो महत्वको मन्दिर भए पनि बज्रेश्वरीलाई चक्रपथले समस्यामा पारेको स्थानीयवासी बताउँछन्।

सदस्यसचिव ढकाल आगामी ५० वर्षसम्म पशुपति क्षेत्रमा आउने भक्तजनको अनुमान गरी पूर्वाधार निर्माण गर्न गुरुयोजना बनाइएको बताउँछन्। उनी भन्छन्, “पशुपति क्षेत्रमा आउने पर्यटकका सवारी पार्किङका लागि तिलगङ्गा पुलमुनिको उकालोबाट जमीनमुनि पार्किङस्थल निर्माण गर्ने, तिलगङ्गाबाट चाबहिलसम्मको चक्रपथ अन्यत्र सार्नुपर्ने, यहाँको सडकलाई सम्पदामैत्री सडकका रुपमा विकास गरिनुपर्ने प्रस्ताव गुरुयोजनामा गरेका छौँ।”

पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अध्यक्ष हुने सञ्चालक परिषद्ले गत वर्ष १९ माघमा पारित गरेको थियो। त्यसमा १८६७ सालमा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले लालमोहर लगाएर पशुपतिनाथलाई दिएको पशुपति क्षेत्रको २६४ हेक्टर जमीनमा धार्मिक पर्यटन प्रवद्र्धन हुने गरी पूर्वाधार निर्माण गर्ने अवधारणा समेटिएको छ।

कोषका पूर्वसदस्य सचिव चेतोनाथ गौतमको संयोजकत्वमा तयार पारिएको गुरुयोजनाको अवधारण र सिद्धान्त सञ्चालक परिषद्बाट पारित भएपछि संस्कृति मन्त्रालय पुगेको थियो। संस्कृति मन्त्रालयले कानून, अर्थलगायत सरोकारवाला मन्त्रालयको स्वीकृतिमा मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरेको छ। क्रिश्चियन धर्मावलम्बीको भ्याटिकन सिटी, मुस्लिमको मक्का मदिना, बौद्ध धर्मावलम्बीको लुम्बिनी जस्तै वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा पशुपति क्षेत्रलाई स्थापित गर्न लागिएको तौतमले जानकारी दिए।

पशुपतिनाथ मन्दिर रहेको क्षेत्रलाई आकर्षक पर्यटकीयस्थलका रुपमा विकास गर्न पशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिनेछ। त्यस्तै पशुपति अस्पताल पनि स्थापना हुनेछ। विश्वविद्यालय र अस्पतालसहित पशुपति गौशाला, पशुपति वृद्धाश्रमजस्ता सामाजिक काम गर्ने संरचनालाई तीन किलोमिटर पर गोठाटारमा रहेको कोषको ५३४ रोपनी क्षेत्रफलमा स्थापना गरिनेछ।

पशुपति क्षेत्रको श्लेषमान्तक वनबाट विश्वरुप क्षेत्रसम्मको जङ्गल माँसिएर कङ्क्रिटको चिहान बनिरहेकामा त्यसलाई समेत कोषले व्यवस्थित गर्ने भएको छ। क्रस राखेर चिहान निर्माण भइरहेकाले यसलाई रोक्न प्रस्ताव गरिएको पूर्वसदस्य सचिव गौतमले बताए।

२०३० को दशकदेखि नै बागमती नदी प्रदूषित भएपछि पशुपति क्षेत्रमै निर्माण गरिएको इनारबाट हाल स्नान गरिँदै आएको छ। नदी शुद्ध बनाई बागमतीकै जलबाट भगावानको स्नान गराउने योजना पनि कोषले अघि सारेको छ। पशुपति क्षेत्रको गुह्येश्वरी नजिकै पोखरी निर्माण गरी हिउँदमा पनि बागमतीमा बहाव बढाउन लागिएको छ।

पशुपति क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको खोज अनुसन्धानका लागि पशुपति अध्ययन केन्द्रको स्थापनासमेत गरिने भएको छ। केन्द्रलाई साधन, स्रोत सम्पन्न बनाएर अघि बढाइने छ।

पशुपतिको आर्यघाट क्षेत्रलाई आर्या तीर्थका रुपमा विकास गरिने भएको छ। आदिकालदेखि आर्या तीर्थका रुपमा प्रसिद्धस्थललाई विगतमा श्री ५ र श्री ३ को परिवारका सदस्यको निधन हुँदा शवदाह गर्ने स्थलका रुपमा विकास गरिएको पूर्वसदस्य सचिव गौतमले जानकारी दिए।

 

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार