न्यूनतम तापक्रम केही बढ्यो, काठमाडौँमा १.८ डिग्री सेल्सियस

न्यूनतम तापक्रम केही बढ्यो, काठमाडौँमा १.८ डिग्री सेल्सियस

काठमाडौँ – चिसो गराउने मौसमी प्रणाली सक्रिय नै रहे पनि अघिल्ला दिनको तुलनामा केही कमजोर भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशैभरि हाल जाडो बढेको छ । यसको प्रमुख कारण नेपालमाथिबाट जेट स्ट्रिम गइरहनु रहेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिएका छन् । त्यसकै कारण उत्तर पश्चिमी क्षेत्रबाट नेपाल तर्फ चिसो हावा बहेको छ र देशभरि नै जाडो बढेको छ ।

तर आइतबारको तुलनामा सोमबार चिसो हावा बहने क्रम केही कम भएको छ । यसले गर्दा काठमाडौँ उपत्यकासहित देशभरको न्यूनतम तापक्रम केही बढेको छ । सोमबार बिहान पौने ६ बजे काठमाडौँ उपत्यकाको न्यूनमत तापक्रम १.८ डिग्री सेल्सियस मापन भएको छ ।

आइतबारको न्यूनतम तापक्रम एक डिग्री सेल्सियस थियो । त्यसअघि शनिबार काठमाडौँको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन भएको थियो ।

यस्तै पोखराको न्यूनतम तापक्रम ५.५, धनकुटाको ६.७, विराटनगरको ४.२ तथा दिपालयलको ३.६ डिग्री सेल्सियस मापन भएको छ ।

देशभरका तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । यस्तै काठमाडौँ उपत्यकासहितका पहाडी क्षेत्रमा पनि कुहिरो लागेको छ ।

पहाडी क्षेत्रमा घाम लागेसँगै कुहिरो बिस्तारै हट्दै जाने छ । तर तराईका क्षेत्रमा पनि दिनभरजसो नै हुस्सु र कुहिरो कायम रहने सम्भावना रहेको मौसमविदले बताएका छन् । दिउँसो केहीबेर भने हुस्सु हट्ने सम्भावना छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार