शासनको साच्चिकै मियो संयन्त्र वनोस् निजामति सेवा

सन्र्दश : निजामती सेवा दिवश

शासनको साच्चिकै मियो संयन्त्र वनोस् निजामति सेवा

सन्र्दश : निजामती सेवा दिवश

आज १७ औँ निजामति सेवा दिवस। स्वतन्त्र र सक्षम निजामति प्रशासन, समृद्धि र शुसासन भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै छ । अघिल्ला वर्षहरुको जस्तो सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम गर्ने वातावरण नभएकोले यो वर्षको दिवस त्यति उत्साहजनक हुने छैन । अहिले कोरोनाको महामारीले आक्रान्त वनाएको अवस्था छ । न्युनतम स्वास्थ्य प्रोटोकलको साघुरो घेरामा मनाइदै छ । यो दिन निजामति कर्मचारीहरुको लागि विशेष दिन हो ।

निजामति कर्मचारीका सेवा र शर्त वारेमा व्यवस्था गर्न वनेको पहिलो कानुन निजामति सेवा ऐन २०१३ को घोषणा भएको दिनको सम्झनामा वि.सं २०६१ साल देखि हरेक भदौ २२ गते मनाइदै आएको छ । यो दिनमा वर्षभरी उत्कृष्ठ ठहरिएका कर्मचारिलाई पुरस्कृत गरि थप हौसला जगाउने काम गरिन्छ । यसवाट कर्मचारीको मनोवल बढ्ने तथा कार्यकुशलतामा थप सुधार हुने अपेक्षा गर्ने गरिन्छ । निजामति सेवामा पछिल्ला दिनहरुमा आलोचना नै आलोचनाको आलोक म जिउनु परिरहेको छ । किन प्रशासन आज यो अवस्थामा कसरी आइपुग्यो? यसवाट मु्क्त हुने उपायहरु के के छन? सरकारी स्थायी सेवाको रुपमा लामो समयदेखि क्रियाशिल प्रशासनको तिनै पक्षहरु केलाउन मेरो लेख के्रन्द्रीत रहनेछ ।

निजामति प्रशासन के हो ?
निजामति सेवा स्थायी सरकार हो । राजनितिक संरचनाको वैद्यानिक सारथी हो । कानुन र स्थापित विधिको प्रयोग गरि सरकारका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने संयन्त्र हो । सरकारको तर्फवाट गर्नुपर्ने सवै काम सम्पन्न गरी सरकारको सार्थकता पुरा गर्न क्रियाशिल प्रणाली हो । यसमा अनुभव र प्रतिस्पर्धावाट खारिएर तथा छानिएर आएका विज्ञ व्यक्तिहरुको उपस्थिति हुन्छ । यसले निश्पक्षता, तटस्थता, इमानदारिता, नैतिकता, पारदर्शिता एवम् विभेदरहितताको कसिमा अव्वल बन्दै पूर्ण व्यवसायिक तरिकाले आफ्नो क्षमताको पूर्ण उपयोग गर्दछ । यो राजनितिक विचार वाट मुक्त हुन्छ । राजनीतिसँग प्रतिस्पर्धा नभई परस्पर समन्वयबाट काम गर्दछ । यो कानुनमा वाधिएको हुन्छ र आफ्ना निर्धारित जिम्मेवारी कानुन वमोजिम नै पुरा गर्दछ । यो गैर सैनिक चरित्रको हुन्छ । वृत्ति विकासको उत्प्रेरणा तथा नियमित तलब भत्ताको आशामा काम गर्दछ ।

निजामति प्रशासन माथिका आलोचना के हुन ?
पछिल्लो समयमा निजामति सेवा अनेक थरिका आलोचना वाट घेरिएको छ । सार्वजनिक क्षेत्रको वदनाम संयन्त्रको रुपमा चित्रण गर्न खोजिएको छ । सवैको आक्रमणको केन्द्र निजामति प्रशासन भएको छ । खासमा निजामति प्रशासन जनताको सेवाको सारथी बन्न सकेन भन्ने आरोप छ । यो प्रक्रियामा रमाउन खोज्छ । कामलाई आज होइन भोलि भनेर लम्व्याउन उद्यत छ भन्ने आरोप छ । यो प्रविधिमैत्री छैन त्यसैले काममा ढिलासुस्ती छ भन्ने गुनासा सर्वत्र छ । जनताका आवस्यकता तथा रुचि अनुसारका सेवा सुविधा उपलव्ध गराउन योग्य नै छैन भन्ने गरिन्छ । त्यस्तै सुचना लुकाएर सेवाग्राहिलाई अनावस्यक शास्ती र हैरानी दिन्छ भन्ने वुझाई पनि रहेको छ । अझ गम्भिर आरोप त यो भ्रष्टाचार र अनियमिततामा चुर्लुम्मै डुवेको छ भन्ने छ । यो सेवा प्रदायक निकायको रुपमा प्रस्तुत हुन सकेन । आफुलाई सेवक भन्दा मालिक हु भन्ने भावना वाट ग्रसित छ भन्ने आलोचना हुने गरेको छ । यि र यस्तै आरोप बाट निजामति प्रशासन दुर्गन्धित बनेको छ । लोकतान्त्रिक व्यवस्थामा जनता नै अन्तिम मालिक हुन तिनै जनता वाट नै यस्ता खालका आरोप आउनु आफैमा लज्जाका विषय हो । यो शासन प्रणालीकै लागि ठुलो चुनौति हो । यस्ता खालका आरोपवाट मुक्त हुन नसके प्रशासनको कानुनी बैद्यानिकतालाई सेवाग्राहिको वैद्यताको कसिवाट जोगाउन मुस्किल छ ।

किन यस्तो अवस्था आयो होला?
कर्मचारीतन्त्रमा यस्ता खालका आरोप आउनुमा विविध कारण छन् । मुख्य कारण त कर्मचारीतन्त्र प्रतिको उच्च अभिलाषा र असिमित आकाक्षा हो । लोक कल्याणकारी शासन व्यवस्थामा जनताका अपेक्षा असिमित हुन्छन् । कतिपय अपेक्षा पुरा गर्ने खालका हून्छन् भने कतिपय असम्भव हुन्छन् । उच्च अपेक्षा र प्राप्ती विचको अन्तरको कारण कर्मचारीतन्त्रमा आरोप लाग्ने गरेको छ । दोस्रो कारण कर्मचारीतन्त्रको परम्परागत कार्यशैली हो । परम्परागत कार्यप्रणालीमा रमाउने तथा परिवर्तन गर्न डराउने कर्मचारीतन्त्रीय प्रवृतिलाई हटाउन नसक्नु नै यसको कारण हुनुपर्छ । तेस्रो कारण कर्मचारीतन्त्र भित्रको गलत प्रवति नै हो । सार्वजनिक पद र ओहदालाई आफ्नो व्यक्तिगत स्वार्थ पुर्तिमा दुरुपयोग गर्ने घृणित प्रवृति पनि छ । सार्वजनिक सम्पति को हिनामिना तथा स्रोतसाधनको दुरुपयोगका घटना वारेमा आइरहने समाचारले जनतालाई आरोप लगाउन उद्यत बनाएको हुनुपर्छ । चौथो कारण प्रविधिमैत्री र परिवर्तनमुखि हुनसकेन भन्ने छ । सरकारी काम कारवाही लाई प्रविधिमैत्री तरिकाले गर्न नसकेकोले यस्तो खालको आरोप लाग्ने गरेको छ । पाँचौ कारण व्यवहार जन्य छ । खासमा निजामति प्रशासन सेवकको रुपमा होइन शासकको रुपमा प्रस्तुत हुन्छ भन्ने आरोप पनि छ । सेवा प्रवाहमा सेवाग्राहिलाई ग्राहकको रुपमा हेर्ने तथा अमर्यादित तरिकाले व्यवहार गर्ने कतिपय गलत प्रवृतिको कारण सिंगो निजामति प्रशासन नै आलोचित हुन पुगेको छ । कतिपय अवस्थामा गलत राजनीतिक गतिविधिको सिकार प्रशासन बन्नु परेका तितो यथार्थ पनि छन् । त्यसले धान खाने मुसो चोट पाउने भ्यागुतो भन्ने अवस्था छ ।

आलोचना, सुधारका अवशर हुन् उपयोग गरिनुपर्छ
सरकारको स्थायी संयन्त्र आलोचना मुक्त हुन्छ भन्ने विषय वढि नै महत्वकाक्षी हुनजान्छ । यसको मतलव आलोचना हुन दिने चुप लागेर वस्ने भनेको होइन । जनताको आलोचनाहरुलाई सुधारका पृष्ठपोषणको रुपमा लिदै अगाडि जानुपर्छ । निजामति सेवा जनताको वास्तविक सेवक हो । जनताका गर्भदेखि चिहानसम्मका समस्या सँग हातेमालो गर्ने एक मात्र निकाय होे । प्रशासनका असिमित कार्यक्षेत्र भएकोले हरेक क्षेत्रमा आलोचित बन्ने संयोगहरु थुप्रै हुन सक्छन् ति सवैवाट जोगिन सक्नुपर्छ । शासनको प्रभावकारिता त्यो देशको प्रशासनको कार्यशैलीमा देखिन्छ भन्ने गरिन्छ । त्यसैले प्रशासनको प्रभावकारीता विकास गर्नु अनिवार्य आवस्यक छ । त्यसको लागि प्रशासनले आफुलाई लाग्ने गरेका आरोप वाट मुक्त हुने प्रयास गर्नसक्नुपर्छ । आलोचनाबाट मुक्त हुनको लागि सर्वप्रथम प्रशासनिक कानुन कार्यविधि तथा मुल्य मान्यताहरुको पुर्ण कार्यान्वयन गर्नुपर्छ । प्रशासनलाई सेवा प्रदायक निकायको रुपमा विकास गर्न सक्नुपर्छ । आधुनिक प्रविधि एवम सेवाप्रवाहका तरिकाको उपयोग गरि सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्छ । सेवाग्राहीलाई मालिक तथा आफुलाई सेवकको रुपमा प्रस्तुत गर्नुपर्छ । मिठो वोली तथा स्नेहपुर्ण सम्बन्ध वाट सेवाग्राहिलाई सेवाप्रति अपनत्वको आभाष गराउन सक्नुपर्छ । जनताको सुविधा एबम् सहजतामा सेवा प्रवाहको व्यवस्था गर्नुपर्छ सार्वजनिक कामकारवाही तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम गरिनुपर्छ । सार्वजनिक सरोकारका सुचनामा सरोकारवालाको पहुच स्थापित गरिनुपर्छ । सेवाग्राहिले अनुभुति गर्ने गरि आदरपुर्ण व्यवहार गरिनुपर्छ । घुम्ति सेवा हरुको संचालन गरि विशेष सेवाहरु उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्छ । जनतालाई सेवा जनताकै चाहाना वमोजिम उपलब्ध गराउनु नै आफ्नो धर्म हो भन्ने भावना बाट प्ररित हुनुपर्छ । सेवा उपलब्ध गराउदा सेवाप्रति जनताको समानुभुति अनुभव गर्न सक्ने व्यवस्था मिलाउनु पर्छ ।

कर्मचारीतन्त्र शासनको मियो संयन्त्र बन्न सक्नुपर्छ
भनिन्छ कुनै पनि देशको शासन त्यो देशको प्रशासन भन्दा राम्रो हुन सक्दैन । अर्थात निजामति सेवाको चरित्र व्यवहार वा कार्यशैलीले नै शासनको वास्तविक सार वोकेको हुन्छ । प्रशासन नै वोल्न सक्ने, देखिने तथा अनुभुति गर्न सकिने शासन हो । प्रशासनसँग वैद्यानिक शक्ति हुन्छ । राज्यका नीति तथा कार्यक्रम बनाउन आवस्यक महत्वपुर्ण सूचनाहरु पनि प्रशासनसँग नै हुन्छन् । मुलुकको सम्पुर्ण सार्वजनिक व्यवस्थापनको नेतृत्व र संञ्चालन नै प्रशासनले गर्दछ । शासनका विविध पात्रहरु सँगको सम्बन्ध प्रशासनको माध्यमबाट मात्र जोड्न सकिन्छ। राज्य र राज्य वाहेकका निकाय तथा अन्य साझेदारहरुसँगको समन्वयको व्यवस्थापन पनि प्रशासनले गर्दछ । स्रोतसाधनको व्यवस्थापन तथा त्यसको परिचालको सम्पुर्ण पक्ष प्रशासनिक काममै निर्भर रहन्छ । सरकारका हरेक गतिविधिको वैद्यानिकता पनि प्रशासनको माध्यमवाट मात्र सम्भव छ । शासनको व्यवस्थापक,संचालक तथा समन्वयकर्ता नै प्रशासन भएकोले प्रशासन समग्र शासन व्यवस्थाको मियो संयन्त्रको रुपमा स्थापित हुन सक्नुपर्छ ।

सेवाग्राहीको आस्थाको केन्द्र बन्नुपर्छ
सार्वजनिक प्रशासन जनताको लागि स्थापित संयन्त्र हो । उसका सेवाग्राहि भनकै जनता हुन । सरकारले वनाएका नीति तथा कार्यक्रमको कार्यान्वयन मार्फत जनता र सरकार विचमा पुलको काम गर्दछ । सरकारको प्रतिनिधिको रुपमा जनताको पायक पर्ने ठाँउमा रहेर काम गर्दछ । त्यस्ता सेवा प्रवाहमा जनताको अनुकुलता या सुविधालाई केन्द्रमा राखि उपलब्ध गराउनृु पर्छ । सेवाप्रवाह अर्थात अन्य काममा जनताको मन जित्न सक्नृुपर्छ । प्रशासनको सिधा सम्बन्ध तथा घुमाउरो उत्तरदायित्व जनता सँग नै हुने भएकोले जनताको विश्वास जित्न आवस्यक छ । प्रशासनले जुन परिमाणमा जनताको विश्वास जित्न सक्छ उहि परिमाणमा सरकार र जनता विचको सम्बन्ध सुमधुर बन्दछ । त्यसकारण प्रशासन र जनताको सम्बन्ध प्रगाढ बनाउदै जनताको आस्थाको केन्द्र बन्न सक्नुपर्छ ।

अन्तमा निजामति प्रशासन नै शासनको वैद्यानिक निकाय हो । शासनको सार यसकै क्रियाकलापमा निर्भर हुन्छन । सार्वजनिक प्रशासन दिनप्रतिदिन आरोपित र वदनाम भैरहेको छ जुन राम्रो पक्ष होइन । प्रशासन निरन्तर सुधारको विषय हो। विश्वव्यापि मुल्य मान्यता तथा समय गतिशिलताको सापेक्षमा प्रशासन सुधार गर्दै जानुपर्छ । प्रशासनमा लागेका कालो धब्बाहरु हटाउन सक्ने गरि सक्षमता वृद्धि गर्न सक्नुपर्छ । सवैको साझा एवम् समन्वयात्मक प्रयास वाट प्रशासनको अपेक्षित स्तरोउन्नति भई निजामति प्रशासन एक जिम्मेवार र जनताको आस्थाको केन्द्र वन्न सक्दछ । आगामि दिनमा सवै खालका पक्षमा सुधार गरि प्रशासन शासनको मियो संयन्त्र बन्न सकोस सवैमा निजामति दिवस २०७७ को शुभकामना ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार