होम आइसोलेसनमा कसरी बस्ने ? परिवारको भूमिका के हुन्छ ?

Corona-Ad-Raptisonari

होम आइसोलेसनमा कसरी बस्ने ? परिवारको भूमिका के हुन्छ ?

Florence Ad

नेपालमा अहिले कोभिड-१९ संक्रमितको संख्या ५० हजार नाघिसकेको छ । उक्लँदो संक्रमणको ग्राफसँगै संस्थागत आइसोलेसन र कोभिड अस्पतालको बेडहरु भरिँदैछन् । अस्पतालमा भर्ना भई उपचार आवश्यक नभएका लक्षणविहीन तथा सामान्य लक्षण भएका संक्रमितहरुलाई होम आइसोलेसनमा रहन सक्ने मापदण्ड लागू भएको छ ।

महामारी जन्य रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न जनस्वास्थ्यको भरपर्दो उपाय हो आइसोलेसन । क्वारेन्टाइन वा आइसोलेसन विधिको उद्देश्य भनेको रोगको संक्रमणलाई रोक्न वा फैलन नदिनु हो । सामान्य भाषामा बुझ्दा छुट्टै एकान्तबास वा अलग्गिनु नै आइसोलेसन हो । संस्थागत आइसोलेसन खाली भएन भने होम आइसोलेसनमा तोकिएका मापदण्डहरु अपनाएर बस्न सकिन्छ ।

नेपालमा कोभिड १९ को संक्रमणको सुरुवाती चरणमा  कोरोनाका लक्षण र चिन्हहरु कम देखिएका थिए । हाल आएर संक्रमितहरुमा  सास फेर्न गाह्रो हुने, स्वाद तथा गन्ध थाहा नपाउने, खोकी लाग्ने, बिनाकारण ज्वरो आउने, घाँटी दुख्ने आदि लक्षण तथा चिन्हहरु देखिन थालेका छन् ।

कोभिड महामारीको यो समयमा यस्ता लक्षणहरु देखिए वा अझ भनौ आफ्नो स्वास्थ्य आफैलाई अलिक असामान्य लागेमा वा बिरामी हुन लागेको जस्तो अनुभव भएमा सकेसम्म चाँडो परिवारको सदस्यहरुबाट अलग्गै  रहनुपर्छ । त्यसपछि कोभिड १९ को जाँच गर्नुपर्छ । परीक्षणमा नतिजा पोजेटिभ आएमा संस्थागत आइसोलेसन खाली भए सकेसम्म आइसोलेसन सेन्टरमा रहने । यदि खाली नभएमा घरमा नै (होम ) आइसोलेसन विधि अपनाएर बस्न सकिन्छ ।

होम आइसोलेसनमा रहँदा पालना गर्नुपर्ने प्रमुख स्वास्थ्य मापदण्ड तथा व्यवहारहरु-  

१. संक्रमित बस्ने कोठा उज्यालो र पर्याप्त हावा आउने हुनुपर्छ । भेन्टिलेसन भएको कोठा हुनुपर्छ ।

२. सकेसम्म शौचालय र नुहाउने ठाउँ छुट्टै व्यवस्था गर्ने । सामुहिकरुपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा संक्रमितले प्रयोग गरिसकेपछि ढोकाको हेन्डल, चुकुलदेखि सबै भागहरुलाई डिस्इन्फेक्सन प्रयोग गरेर सफाइ तथा स्प्रे गरेर मात्र परिवारको अन्य सदस्यले प्रयोग गर्नुपर्छ ।

३. होम आइसोलेसन अवधिभर घर बाहिर ननिस्कने र अन्य आफन्तसँग भेटघाट तथा सम्पर्क नगर्ने । आवश्यक सम्वादसमेत फोन वा सामाजिक सञ्जालमार्फत गरेको राम्रो । गर्नैपर्ने अवस्था आएमा न्यूनतम २ देखि ३ मिटरको दुरीमा आमने सामने नहुने गरी बढीमा १५ मिनेटसम्म सक्ने गरी छोटो कुराकानी गर्ने ।

४. पोसिलो खाने कुरा खाएर रोगप्रतिरोध क्षमता बढाउनू आवश्यक भएकाले पर्याप्त पानी, फलफूल तथा झोलिलो र हाई प्रोटिन खानेकुरासहितको सन्तुलित खानेकुरा खाने । खानेकुरा खाँदा र डेलिभर गर्दा विशेष सावधानी अपनाउनुपर्छ । जस्तो कि खाना खाने प्लेटहरुसहित संक्रमितको छुट्टै सेट प्रयोग गर्नुपर्ने हुन्छ । साथै संक्रमितले प्रयोग गरेपछिको फोहोर व्यव्थापनसमेत उचित तरिकाबाट हुनुपर्छ ।

५. घरका सबै सदस्यहरुले दिनमा पटक-पटक साबुनपानीले हात मिची मिची कम्तिम्ाा २० सेकेण्डसम्म धुुनुपर्छ । सकेसम्म हातलाई अनुहारमा कम छुने । विशेष गरी कोरोनाबाट बच्न मुख, नाक र आँखालाई बचाउनुपर्ने हुन्छ ।

६. संक्रमितको हेरचाहमा खटिने परिवारको सदस्यले अनिवार्य मेडिकल माक्सको उचित तरिकाले प्रयोग गर्ने । आँखामा चस्मा वा फेस सिल्ड प्रयोग गर्ने । संक्रमितसँग सकेसम्म कम सम्पर्क गर्ने ।

७. व्यक्तिगत सरसफाइमा ध्यान दिने । सरसफाइ तथा नित्यकर्ममा प्रयोग हुने सामानहरु छुट्टै राखेर प्रयोग गर्ने ।

८. घरमा रहेका कोभिड १९ को जोखिम समूहहरु दीर्घरोगी, जेष्ठ नागरिक, विशेष गरी उच्च रक्तचाप, मधुमेह रोगीहरु, बालबालिका, गर्भवती तथा सुत्केरीहरुलाई संक्रमितको सम्पर्कवाट टाढा राख्ने ।

९. संक्रमितले ज्वरो आए वा नआएको कम्तिमा दिनमा २ पटक जाँच गर्ने । अन्य स्वास्थ्य समस्या आए वा नआएको ख्याल गर्ने । यदि ज्वरो आएमा वा अन्य समस्या आएमा स्वास्थ्यकर्मी वा चिकित्सकसँग सल्लाह लिने । कुनै रोगविरुद्ध औषधी सेवन गरिरहेको भए नियमितरुपमा औषधी खाने वा प्रयोग गर्ने ।

१०. नियमितरुपमा एकै समयमा सुत्ने र उठ्ने बानी बसाल्नुपर्छ । कम्तिमा दैनिक ८ घण्टा सुत्ने, दैनिक तथा शारीरिक व्यायाम तथा मेडिटेसनहरु गर्ने ।  योग गर्ने, किताबहरु पढ्ने तथा  मनमा लागेका कुराहरु नोटबुकमा लेख्ने । चिन्ता नलिने । आधिकारिक स्रोतको सूचना मात्र लिने । सामाजिक सञ्जालहरु कम प्रयोग गर्ने ।

परिवारका सदस्यहरुको भूमिका

परिवारको कुनै सदस्य होम आइसोलेसनमा रहँदा रोगको रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा  परिवारका अन्य सदस्यहरुको उल्लेखनीय भुमिका रहन्छ ।

१. कोभिड १९ रोग श्वासप्रश्वास माध्यमबाट सर्ने भाइरल रोग हो । यो जो कोहीलाई पनि लाग्न सक्छ भन्ने कुरा परिवारको सबै सदस्यहरुले बुझ्न आवश्यक छ । यसर्थ संक्रमितलाई लाञ्छना होइन, माया, सद्भाव र सान्तवना दिनुपर्छ ।

२. होम आइसोलेसनमा रहेको संक्रमितको मनोबल उच्च बनाउने । अनावश्यक आफन्तहरुसँगको भेटघाट कम गर्ने ।

३. संक्रमितलाई आवश्यक पर्ने सामानहरु उपलव्ध गराउने । तर, उपयुक्त सावधानी अपनाएर मात्र उपलब्ध गराउने ।

४.आफ्नो पालिकाको कोभिड १९ फोकल पर्सन, चिकित्सक वा स्वास्थ्यकर्मी र कोभिड डेडिकेटेट एम्वुलेन्स चालकको सम्पर्क नम्बर लिने । कन्ट्याक्ट ट्रेसिङ्ग, एण्ड टेष्टिङ्ग टिमसँग समन्वय गरी परिवारको सदस्यहरुको पीसीआर परीक्षण गर्ने ।

५.संक्रमितको अवस्था र लक्षणहरु नियमितरुपमा अपडेट लिने दिने । जस्तो सास फेर्न गाह्रो हुने, स्वाद तथा गन्ध थाहा नपाउने, खोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षणहरु भए पालिकाको चिकित्सक र स्वास्थ्यकर्मीलाई जानकारी गराई स्वास्थ्य सल्लाह लिने ।

अन्त्यमा, संक्रमितलाई सकेसम्म संस्थागत आइसोलेशन सेन्टरमा राखेको राम्रो । तर, होम आइसोलेसनमा नै बस्नुपर्ने भए माथिका प्रमुख स्वास्थ्य मापदण्डहरु पालना गर्न आवश्यक देखिन्छ । स्मरण रहोस्, यदि तोकिएको स्वास्थ्य मापदण्ड छैन र सोको अबलम्वन गरिएको छैन भने होम आइसोलेसन नै कोभिड १९ रोग फैलाउन मुख्य केन्द्र बन्न सक्छ ।

होम आइसोलेसनमा रहँदा स्वयं संक्रमित व्यक्ति, परिवार र स्थानीय पालिका गति नै पक्ष र तहले स्वअनुशासनको पालना र कडाइका साथ नियमन अनुगमन गर्नुपर्ने आवश्यकता देखिन्छ । (धमला इटहरी उपमहानगरपालिकाको कोभिड १९ होम आइसोलेसन अनुगमन तथा व्यवस्थापन समितिका सदस्य हुन् )

Dunduwa Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Musikot-Ad