अमेरिकी सभामुखसँग ट्रम्पले मिलाएनन् हात, उनले च्यातिदिइन् ट्रम्पको भाषण

अमेरिकी सभामुखसँग ट्रम्पले मिलाएनन् हात, उनले च्यातिदिइन् ट्रम्पको भाषण

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको मनमुटाव मंगलबार छताछुल्ल भएको छ।

राष्ट्रपतिको स्टेट अफ द युनियन स्पिचका क्रममा उनीहरूले एकअर्कालाई उपेक्षामात्र गरेनन् आफ्नो रिस सार्वजनिक रूपमै पोखे।

बैठक सुरू हुनुअघि सभामुख पेलोसीले ट्रम्पसँग हात मिलाउन खोजेकी थिइन्। उनले हात अघि बढाउँदा ट्रम्पले देखेको नदेखेझैं गरिदिए।

बैठक सुरू भएपछि पेलोसीले ट्रम्पलाई पोडियममा बोल्न बोलाउँदा ‘हाइ प्रिभिलेज एन्ड डिस्टिन्क्ट अनर’ भनिनन्।

सोझै अमेरिकाका राष्ट्रपति भनेर चिनाइन्।

त्यसपछि ट्रम्पले सम्बोधन गरे। उनले आफ्नो कार्यकालमा धेरै राम्रा काम भएको भन्दै अमेरिकी जनताको मनोबल बढेको बताए।

उनको भाषण सकिएपछि दुबै सदनका रिपब्लिकन सांसदहरूले उठेर उनलाई सम्मान देखाए। डेमोक्र्याट सांसदहरू भने बसिरहे।

त्यहीबीचमा पछाडि बसेकी पेलोसीले ट्रम्पले आफूलाई दिएको भाषणको प्रति धडाधड च्यातेर फालिन्।

अमेरिकी संसदको इतिहासमा बिरलै हुने यो घटनापछि राजनीतिक विश्लेषकले उक्त बैठक स्टेट अफ द युनियन नभई स्टेट अफ द डिभिजन भएको टिप्पणी गरेका छन्।

पेलोसी ट्रम्पमाथि महाअभियोग प्रस्ताव पारित गरेको हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख हुन्।

तल्लो सदनले पठाएको महाअभियोग प्रस्तावमा रिपब्लिकनको बहुमत रहेको सिनेटले अस्वीकार गर्ने पक्काजस्तै छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार