कर्णालीका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

Corona-Ad-Raptisonari

कर्णालीका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

गणेश विशू

वीरेन्द्रनगर – कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित जिल्ला कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी हुँदा उनीहरू पालमुनि बस्न बाध्य छन्। ४० पुरुष र १० महिला क्षमताको सो कारागारमा दुई सय ५९ जना कैदीबन्दी हुँदा बसाइँ असहज बनेको छ। २० पुरुष र पाँच महिला अटाउन सक्ने रुकुम पश्चिमस्थित कारागारमा पनि उस्तै कैदीबन्दी छन्। यहाँ एक सय २३ जना कैदीबन्दी तथा थुनुवा छन्।

कर्णालीका जुम्लाबाहेक अरू सबै कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी तथा थुनुवा छन्, जसले उनीहरूको दैनिक क्रियाकलापमा समस्या हुँदै आएको छ। क्षमताभन्दा बढी कैदीबन्दी तथा थुनुवा हुँदा उनीहरूको आवश्यकता परिपूर्ति गर्न समस्या हुने र कारागारभित्र हुलदंगा हुने सम्भावना देखिन्छ। विभिन्न समयमा मन्त्री र प्रहरी प्रमुखले कारागारलाई सुधार गृहका रूपमा चित्रण गरे पनि आफूहरूले त्यसको अनुभूति गर्न नपाएको यहाँका कैदीबन्दी तथा थुनुवाको भनाइ छ।

त्रिपाल र जस्तापातामुनि बस्नु पर्दा समस्या भएको सुर्खेत कारागारका चौकीदार केशव सारुले जानकारी दिए। ‘साँघुरा कोठा छन्,’ उनले भने, ‘सुत्दा कहिलेकाहीँ रातभर जाग्राम बस्नुपर्छ।’ यहाँ तीन साना हल र तीनवटा कोठामा कैदीबन्दी र थुनुवा नअटाउने भएपछि त्रिपाल र जस्तापातामा बस्ने गरेको थुनुवाहरूको भनाइ छ। क्षमताभन्दा बढी कैदीबन्दी तथा थुनुवा हुँदा दैनिक सरसफाइमा समस्या भएको एक कैदीले जनाए। उनका अनुसार यहाँको संख्यालाई पुग्नेभन्दा कम शौचालय हुँदा जहिल्यै लाइन बस्नुपर्ने अवस्था छ। ‘कपडा धुन र नुहाउन पनि समस्या छ,’ उनले भने, ‘पानी सानो आउँदा खानलाई पनि समस्या भएको छ।’ सुत्न, दैनिक क्रियाकलाप गर्न, स्वच्छ खानेपानी र शौचालय जान समस्या भएको कैदीबन्दीको गुनासो छ। सरकारले दिने आधारभूत सुविधासमेत अपर्याप्त भएको उनीहरू बताउँछन्।

 जुम्लाबाहेक सबै कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी तथा थुनुवा भएकाले दैनिक क्रियाकलापमा समस्या हुँदै आएको छ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी, लागूऔषध, सवारी ज्यान, सार्वजनिक अपराध, बहुविवाह, वनपैदावार, संरक्षित वन्यजन्तु, मानव बेचबिखन, किर्ते, हातहतियार खरखजाना र ठगीलगायत मुद्दामा संलग्न कैदीबन्दी कारागारमा भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिम्सिनाले जानकारी दिए। प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीका कारागारमा ७० जना महिला र तीन सय ४४ गरी चार सय १४ जना कैदीबन्दी तथा थुनुवा राख्नसक्ने कारागार छन्। हाल यहाँ विदेशी एक, आश्रित आठसहित आठ सय ८९ जना कैदीबन्दी छन्, जसमा ७५ जना कारागारमा रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुर्खेतको ५० क्षमतामा दुई सय ५९, सल्यानको २५ क्षमतामा एक सय २२, रुकुम पश्चिमको २५ जना क्षमता भएको कारागारमा एक सय २३ र १५ जना क्षमताको जाजरकोट कारागारमा ६० जना कैदीबन्दी तथा थुनुवा छन्। त्यस्तै कालिकोटमा २५ मा ५०, दैलेखमा एक सय ४१ मा एक सय ४९, जुम्लामा एक सयमा ९३ र २५ क्षमता भएको डोल्पा कारागारमा ३३ जना कैदीबन्दी छन्।

जुम्लामा क्षमताभन्दा कम कैदीबन्दी छन्। यहाँ एक सय क्षमताको कारागारमा ९३ जना मात्र कैदी छन्। दैलेखमा क्षमताभन्दा थोरै मात्र बढी छन्। एक सय ४१ क्षमताको कारागारमा एक सय ४९ जना मात्र कैदीबन्दी छन्। कर्णालीका हुम्ला र मुगुमा कारागार छैनन्। हुम्लामा कारागार भत्किएपछि पुनर्निर्माण हुनसकेको छैन भने मुगुमा चार वर्षअघि भवन बनाउने काम थालिए पनि अलपत्र अवस्थामा छ। यहाँका कैदीबन्दीलाई सुर्खेत तथा जुम्ला पठाउने गरिएको छ।

धेरै वर्षअघि थोरै जनसंख्याको आधारमा निर्माण गरिएका कारागार साँघुरा भएको अधिवक्ता दुर्गाप्रसाद सापकोटाले जनाए। समयअनुसार कारागारको क्षमता नबढाउँदा र पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै जाँदा हालका कारागारको क्षमता कम भएको उनको भनाइ छ। ‘वर्षाैं पहिलेका कारागारको स्तरोन्नति गर्नुपर्छ,’ उनले भने, ‘केही कारागारको मर्मतसम्भार गर्न आवश्यक छ।’ अहिले यहाँका अधिकांश कारागार जीर्ण अवस्थामा छन्। कारागारलाई सुधार गृह बनाउन कारागारको क्षमता वृद्धि गर्नुपर्ने मानवअधिकारकर्मी बताउँछन्। ‘साँघुरोमा कोचाकोचमा बसेमा कैदीबन्दी सुधार हुन सक्दैनन्,’ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का दुर्गा थापाले भने, ‘उनीहरूलाई सुधार गर्ने हो भने कारागार खुला र कैदीबन्दीमैत्री बन्न जरुरी छ।’ धेरै कैदीबन्दी हुँदा उनीहरूलाई सिप सिक्नेदेखि केही अध्ययन गर्ने कैदीबन्दीलाई गाह्रो हुने उनको भनाइ छ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार