जाजरकोटमा नेता ब्यवस्थापन गर्न सक्ला नेकपाले ?

Corona-Ad-Raptisonari

जाजरकोटमा नेता ब्यवस्थापन गर्न सक्ला नेकपाले ?

Florence Ad

तत्कालिन नेकपा एमाले र एकिकृत माओवादी केन्द्रको एकिकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टी अहिले देशकै सवैभन्दा ठुलो पार्टी छ । आधा भन्दा बढी स्थानिय तह, सात मध्य ६ प्रदेश सरकार र संघिय सरकार नेकपाकै छ । अधिकांश स्थानिय सरकार देखि केन्द्र सरकार सम्म नेकपाकै हालिमुहाली छ । तत्कालिन एमालेका नेता स्व. मदन भण्डारीले अघि सारेको जनताको बहुदलिय जनवादको अभ्यास भैरहेको छ । विश्वका कम्युनिष्टहरु साम्यवादको अभ्यास गरिरहेका बेला उनले जनताको मन जितेर जनता द्धारा नै निर्वाचित भएर पनि सत्ता चलाउन सकिन्छ भन्ने जुन दर्शन अघि सारेका थिए । त्यही बाटोमा अहिले नेपालका मुलधारका कम्युनिष्टहरु अघि बढिरहेका छन् । सत्ताको राम्रै सँग उपयोग र उपभोग गरिरहेका छन् । नागरिकले सुशासन, स्थिरता र समृद्धिका लागि नै नेकपालाई भारी मत दिएका हुन् । झण्डै दुई तिहाई नजिकको सरकार छ । नागरिकका अपेक्षा कति पुरा भए भएनन् सुशासन र विकास भयो भएन त्यो उनीहरुले नै मुल्यांकन गरिरहेका होलान । समय आएपछि त्यसको लेखाजोखा र हिसावकिताव होला नै ।

दुई पार्टी मिलेपछि नेता ब्यवस्थापन नेकपामा ठुलो चुनौतिको रुपमा देखिन थालेको छ । सवै नेतालाई शक्ति र सत्ता चाहिएको छ । चुनाव हारेका बामदेव र नारायणकाजीको राष्ट्रिय सभा प्रवेशले उनीहरुको पद, सत्ता र शक्ति प्रतिको आशक्ति कति रहेछ भन्ने कुरा प्रष्ट भएको छ । चुनाव हारिसकेपछि पाँच बर्ष पनि कुर्न नसक्ने नेताले लोकतन्त्रको संस्थागत विकास कसरी गर्लान ? अरुका लागि आर्दश बन्नु पर्ने नेता नै लोकतन्त्रका आधारभुत मान्यता र सर्वमान्य सिद्धान्तबाट पदका लागि विचलित हुँदा राजनिति प्रति नै आमजनमानसको नकारात्मक धारण जाग्नु स्वभाविक हो । राजनिति र राजनितिकर्मी प्रति जनताको भरोसा हुनु पर्छ । राजनिति प्रति जनताको भरोसा गुम्यो भने विस्तारै ब्यवस्था प्रति नै वितृष्णा फैलने संभावना हुन्छ भन्ने कुरा तर्फ पनि हेक्का राख्नु जरुरी छ ।

गुट बलियो बनाउने र नेता ब्यवस्थापनकै नाममा राजनितिमा जे पनि गरिदिने प्रबृति कायम रहेसम्म नेकपाको सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको सपना खोक्रो नारा र आदर्श मात्र ठहर्छ । नेता ब्यवस्थापन र गुटको प्रभाव केन्द्रमा मात्र होइन तल्लो तह सम्म पुगिसकेको छ । तल्लो तह सम्म पुराना गुटहरु कायमै छन् । नेता ब्यवस्थापनको चुनौति जाजरकोट जिल्लामा कत्तिको छ ? के कस्ता दाउपेच भैरहेका छन् ति कुराको यो आलेखमा विश्लेषण गर्ने प्रयास गरिएको छ । खासमा जाजरकोट यस्तो जिल्ला हो जहाँ अन्य जिल्लाको जस्तो कुनै पार्टीको एकछत्र रजाँई छैन । विभिन्न निर्वाचन परिणामले सवै पार्टीलाई अवसर दिएको देखिन्छ । एमाले र माओवादी नमिल्दा सम्म त्रिपक्षिय प्रतिस्पर्धा देखिन्छ । त्यो कुरा गत स्थानिय चुनावको परिणामले पनि देखाउँछ । दुई ओटा कम्युनिष्ट पार्टी मिलेपछि प्रदेश र संघिय संसदको निर्वाचन सम्पन्न भयो । त्यस चुनावमा जेनतेन मिलाप भयो यद्यपी निरज आचार्यले पाईसकेको प्रदेश सभा सदस्य जाजरकोट क को टिकट खोसेर गणेशप्रसाद सिंहलाई दिईयो । संघिय संसदमा माओवादीका शक्ति बस्नेत लड्ने र प्रदेशका दुवै सिटमा एमालेलाई दिने मोटामोटी सहमति थियो तर नेता सिंहले आफ्नै पार्टी विरुद्ध विद्रोह गर्ने चेतावनी पछि उनलाई थमथुमाउन युवा नेता निरज आचार्यको पोल्टामै आईसकेको भाग पनि खोसियो । यो कुरा विगत भैसकेको छ । त्यसको पनि हिसाव किताव पार्टीमा राम्रै सँग भैरहेको होला ।

आगामी तीन तहका चुनावमा नेता ब्यवस्थापन थप पेचिलो र जटिल बन्ने निश्चित छ । अहिलेको अवस्थामा सवै ठाँउमा नेकपाका उम्मेदवारले चुनाव जित्छौ भन्ने आँकलन छ । जसले गर्दा पनि आकाँक्षीहरु टिकट जसरी पनि फुल्क्याउने दाउमा छन् । संघिय संसदमा सरसरर्ती हेर्दा पनि शक्तिलाई टक्कर दिने नेता खासै देखिदैनन् । उनको पार्टीमा पनि सवैभन्दा माथि स्थायी समितिमा प्रतिनिधित्व छ । प्रदेश सभा सदस्यमा भने समकक्षीहरु धेरै हुँदा कसलाई कसरी ब्यवस्थापन गर्ने पार्टीमा ठुलो चुनौति छ । हाल निर्वाचित प्रदेश क गणेशप्रसाद सिंह र ख का करवीर शाही दुवै मन्त्री भएर मात्र राजनैतिक विराम लिने लक्ष्यमा छन् । त्यसलाई अस्वभाविक पनि मान्न सकिन्न । उनीहरु पुनः प्रदेशमै दोहरिने दाउमा छन् । त्यसैगरी हात लागिसकेको टिकट फुत्किएका नेकपाका केन्द्रिय सदस्य निरज आचार्य यसपालि त पार्टीले कसो नपत्याउला र भन्नेमा छन् र उनी प्रदेश सदस्यकै तयारीमा छन् । त्यस्तै अर्का केन्द्रिय सदस्य रामदीप आचार्य पनि प्रदेश सभामा गएर मन्त्रालय चलाउने भन्ने तयारीमै छन् । पुर्व साँसद रीता रावल पनि एकपटक प्रदेश साँसद हुने ध्याउन्नमै छन् । हालै पार्टीको प्रदेश क को इन्चार्जको जिम्मेवारी पाएका गगन खड्का जीवन र ख को इन्चार्जको जिम्मा पाएका पुर्व साँसद रत्नप्रसाद शर्मा पनि प्रदेश सभा सदस्य पदकै आकाँक्षी हुन् । कर्णाली प्रदेशको सह इन्चार्ज रहेका पुर्व साँसद कालिबहादुर मल्ल सकभर संघिय संसद नभए प्रदेश साँसद भएर उस्तै परे मुख्य मन्त्रीकोे दावी गर्ने दाउमा छन् । प्रदेश सभा समानुपातिक साँसद कृष्णा शाह र कौसिलावती खत्री पनि प्रत्यक्ष निर्वाचनमा स्वभाविक दावी रहने मध्यका हुन् । त्यस्तै हाल जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल, नलगाडका प्रमुख टेकबहादुर रावल, भेरीका प्रमुख चन्द्रप्रकाश घर्ती, छेडागाडका प्रमुख लालबहादुर महतारा र शिवालयका अध्यक्ष नरेन्द्र शाही पनि प्रदेश साँसद दावी गर्ने हैसियत बनाईसकेका नेतामा पर्दछन् । उनीहरु या दोहरिने या अपगे्रड हुने भन्नेमा हुन सक्छन् । लामो समय शिक्षण पेशामा रहेर हालै सेवा निवृत्त भएका हेरम्ब बहादुर शाहको पनि प्रदेश सभामा दावी रहन सक्छ । यति धेरै नेता मध्य टिकट पाउने दुई जनाले मात्र हो । अरु नेताको ब्यवस्थापन पार्टीले कसरी गर्ला ? केही नेतालाई स्थानिय तहमा पनि ब्यवस्थापन गर्न सक्ने ठाँउ छ तर स्थानिय तह कुरेर बसेकालाई कता ब्यवस्थापन गर्ने ? प्रश्न जटिल र पेचिलो छ ।

अव रह्यो स्थानिय तहको चुनावमा सात ओटा पालिकामा कसले टिकट पाउला ? पुर्व माओवादीले कि एमालेले ? कुन पालिका कसको भाग पर्ला आम चासोको विषय बनेको छ । चियापसल देखि सार्वजनिक स्थलहरुमा समेत चर्चापरिचर्चा हुन थालेको छ । यही सेरोफेरोमा हालै पार्टीले सवै स्थानिय तहमा इन्चार्ज र सह इन्चार्ज तोकेको छ । त्यसमा तोकिएका नामहरु लाई गहिरिएर विश्लेषण गर्दा निकै चलाखी पुर्ण तरीकाले जिम्मेवारी तोकिएको छ । यसमा पनि केही नेताहरुले आफु निकट र गुट निकटलाई स्थापित गर्न प्रयास गरिरहेको स्पष्ट बुझ्न कठिन छैन । भेरीमा इमाश्वर देवकोटा र कुशेमा हरिभक्त नेपालीलाई इन्चार्ज बनाएर कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले आफ्नो पावर र शक्ति देखाईसकेका छन् । हिजो माओवादी पार्टी एकिकरण हुँदा र पछि एमाले समेतको एकिकरण हुँदा पनि जिल्ला अध्यक्षमा ढकवीर रानालाई स्थापित गराएर छोडेका उनले भेरीमा आफु निकटकै कामरेडलाई इन्चार्जको जिम्मेवारी दिन सफल हुनुले चाहेको ब्यक्तिलाई टिकट दिन सक्ने संकेत दिएका छन् ।

दुई पटक टिकट पाएर पनि जित्न नसकेका लोकप्रिय नेता कृष्ण विसीको नलगाडको नगरप्रमुखको उम्मेदवार बन्ने भित्री तयारी भैरहेको बेला उनलाई शिवालयको जिम्मेवारीमा पठाएर बन तथा बतावातरण मन्त्री बस्नेतका स्वकीय सचिव यज्ञ खत्रीलाई इन्चार्जको जिम्मेवारी दिइनुले पार्टीमा माओवादी हावी भएको र आगामी स्थानिय तहको चुनावमा पनि खत्रीलाई नै अघि सार्ने प्रपञ्चका रुपमा धेरैले अथ्र्याउन थालेका छन् । बारेकोटमा पुर्व एमाले अध्यक्ष भैसकेका डम्बर सिंहलाई अघि सार्ने तयारीमा पार्टी रहेको बुझ्न कठिन छैन । जुनीचाँदेको इन्चार्जको जिम्मेवारी पाएका वीरबहादुर रावत जनार्दन निकट हुन् । उनी उतैको फेर समातेर टिकट हत्याउने दाउमा छन् । सात स्थानिय तह मध्य चारमा पुर्व माओवादी पक्षका इन्चार्ज तोकिएको छ । यी बाहेक अन्य थुप्रै नेताहरु स्थानिय तह हाँक्न सक्ने क्षमताका छन् । उनीहरुले पनि आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन् । प्रदेश क को सहईन्चार्जको जिम्मेवारी पाएका पुर्णदेव शर्मा र धर्मबहादुर शाही, नलगाडको सहइन्चार्जको जिम्मेवारी पाएका डम्मर रावत, हेरम्ब बहादुर शाह, प्रशान्त शर्मा, कमान खड्का, निशान गिरी, नगेन्द्र शाह, गोपाल बटाला, अमरसिंह राठौर, मोती ओली, खडगनाथ योगी, अमरबहादुर सिंह, पार्वती थापा, मीमबहादुर सिंह, नारायण घर्ती, राजन थापा, विश्वविक्रम शाह, जयबहादुर घर्ती, बेदबहादुर शाही, तप्त हमाल, बेगबान बस्नेत, तिलक रावत, पुर्ण समिर महतारा, लालबहादुर थापा, नरबहादुर खत्री, मुकुन्द शर्मा, चन्द्रबहादुर थापा, हरिबहादुर थापा, पार्वती विक लगायतका नेताहरुलाई काँहा ब्यवस्थापन गर्ने ठुलो समस्या छ नेतृत्वलाई ।

पार्टीमा पहुँच र शक्तिका हिसावले पुर्व माओवादीका शक्ति र मायाप्रसाद तथा पुर्व एमालेमा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रहेका भैरव सुन्दर श्रेष्ठकैै बोलवाला हुने देखिएको छ । यतिवेला शक्तिहिन रहेका माधव नेपाल समुह स्वभाविक रुपमा जिल्लामा पनि पेलिएको महसुस कार्यकर्ताले गरिरहेका छन् । तर उक्त समुह भोली पार्टी अधिवेशनमा निर्णायक भएर उदाउने कुरा पनि नकार्न सकिन्न । प्रचण्ड पावरमा हुँदा सम्म उनका विश्वापात्र मानिने शक्ति पावरफुल भैरहनु अस्वभाविक होइन । मायाप्रसाद आचार्य गृहमन्त्री रामबहादुर थापा र जनार्दन शर्मा शर्मा निकट भएकोले उनीको पहुँच पार्टीमा छ । उस्तै परे शक्तिलाई शक्तिहिन बनाउन पनि जनार्दनले माया, कालीबहादुर, गणेशप्रसाद मार्फत अदृश्य तरिकाले खेल्ने कुरा पनि बेला मौका सतहमा आउने गरेको छ । पुर्वमाओवादीका धेरै नेताहरु जनार्दन निकट भैरहेका छन् । जसको असर शक्तिलाई भावी राजनितिमा पर्ने निश्चित छ । भैरवसुन्दर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपीशर्मा ओली निकट भएकाले पनि उनको पहुँच केन्द्र सम्मै छ । यही सेरोफेरोमा चलिरहेको नेकपा जाजरकोटको राजनितिमा गुटको प्रभाव स्थानिय र प्रदेश सभाको चुनावको टिकट वितरणमा पर्ने निश्चित छ । नेताहरु अहिले देखि नै पुर्वाभ्यास गरिरहेका छन् । आगामी दिनमा अझै प्रष्ट हुँदै जाला । गुट र निकटस्थलाई स्थापित गराउने खेलमा नेताहरु लाग्ने तर अन्य नेताहरुलाई ब्यवस्थापन गर्न नसक्ने हो धेरै नेता तथा कार्यकर्ता रुष्ट हुने र त्यसको अप्रत्यक्ष फाईदा प्रतिपक्षलाई हुने निश्चित छ । धेरै र समान तहका नेता हुँदा ब्यवस्थापनमा कठिन हुनु अस्वभाविक होइन तर निकटस्थलाई मात्र काखी च्याप्ने काम भयो भने त्यो पार्टीका लागि ठुलो क्षति हुने निश्चित छ । सवैलाई चेतना भया । कार्की नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष हुनुहन्छ ।

Dunduwa Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Musikot-Ad