फेरिएको मेरो गाउँ

 फेरिएको मेरो गाउँ

मर्म,स्वीकोट,कालागाउँ ,बडागाउँ र जिमाली
संघीयताको आगमन सँगै
कुमाख गाउँपालिकामा परिणत भएको छ
शोषण ,दमन र अत्याचारका विराशतहरु भत्किएर
आज पुनः एकपटक
मेरो गाउँ फेरिएको छ।
          १
कुमाख लेकको टुप्पोमा पुग्दा
सल्यानका थुप्रै बस्तीहरु च्याउन सकिन्छ
जिमाली खोलाबाट पौडिदै
त्रिबेणीमा विश्राम गरेर
कालागाउँ अनि बडागाउँ देख्न सकिन्छ
साँच्चै
मेरो गाउँ फेरिएको छ।।
         २
मर्म खोलीसँग सुसाउँदै
भेरी नदीमा बगिरहँदा
टाटके,नेटा,खाप्ले,चिनाली अनि गुरुदासेका
दुर्गम बस्तीहरु आँखामा घुमिरहदा
भेरी नदीमा बेहोस भइ
म आफैं गुमनाम हुन्छु
त्यसैले त
मेरो गाउँ फेरिएको छ।।।
         ३
ढिकी जाँतोमा बिहानै लपेटिएका आमाहरु
बिजुलीको स्वीच अन गर्दै
मिलन चोकबाट गाडीमा हुँकिएर
वाक – वाक गर्दै चोरपानीमा झरी
निन्यारो मुख लगाएर
कुमाखबाट आएको चिसो हावामा विलीन भई
प्रकृतिसँग लुकामारी गर्दै
विकास र शान्तिको सास फेर्छन
त्यसैले त
मेरो गाउँ फेरिएको छ।।।।
        ४
मुक्ति आन्दोलनमा सयौं छोराछोरीहरुले
रगतको भेटी चढाएर
कुमाखी आस्था र निडरताको परिचयमा
न्याय ,समानता र स्वतन्त्रताको गीत गाउँदै
क्रान्ति ,सघंर्ष र बलिदानको त्रिबेणीमा
निरन्तर व्यवस्था परिवर्तनको नजरमा
सदैव
मेरो गाउँ फेरिएको छ ।।।।।

लेखक शर्मा मध्यपश्चिमाञ्चल विश्वविद्यालय आङ्गिक क्याम्पस मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमका क्याम्पस प्रमुख हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार