बिलम्ब भयो

बिलम्ब भयो

सत्ता मोहको
केमिस्ट्रीमा निर्मित
तिम्रो एकताले
म र मेरो समाजमा
मान्छे हुन नपाई
पशुतुल्यतामा बाँचेका
मेरा अनन्य
शिल्पी सहधर्मीहरूलाई
बाँच्नुको मजादार अनुभुति
अझै प्रत्याभूत गर्न सकेन
बाँच्नको माधुर्य अनुभुति
अझै दिलाउन सकेन
बिलम्ब भयो
तिम्रो सत्ता अभिमान
अझै घट्न सकेन ।। १ ।।
पुस्ता दरपुस्तादेखि
जरो गाडेर बसेको
युगौं देखिको बिभेदलाई
युगौं देखिको असमानतालाई
युगौं देखिको उत्पीडनलाई
अन्त्य गर्न
तिम्रो बर्कतले
भ्याएन या
तिम्रो सामार्थ्य पुगेन
बिलम्ब भयो
तिमीभित्रको
चरम मनुवादी दवदबा
अझै घट्न सकेन ।। २ ।।
मान्यताका
जड परिधिहरूलाई तोड्न
मान्यताका
जड गजबारहरूलाई फोड्न
हर कालमा फेरिएर
म र मेरो समाजलाई
जहिले नि
ऐंजेरुले सुकाएको
रूख जस्तै
निष्प्राण बनाउन सक्ने
तिम्रो शासकीय
अदभूत कलाले
अटुट र अक्षुण्ण
दमित बनाईरह्यो
बिलम्ब भयो
तिमीभित्रको
अन्धजातीवाद
अझै घट्न सकेन ।। ३ ।।
तिम्रो समाजवाद
रंगीन पोष्टरहरूमा
गोष्ठी , भेला र सेमिनारमा
सभा , सम्मेलन र बैठकमा
जहिले नि आएकै छ
तिम्रो बदलिँदो रूपबाट
आक्रान्त म र मेरो समाजमा
कसरी आउँछ
बोधगम्यताको समाजवाद ?
आत्मसम्मानको समाजवाद ?
स्वाभिमानको समाजवाद ?
बिलम्ब भयो
दुनियाँलाई भ्रमित तुल्याउने
तिमीभित्रको
उच्चतम नश्लवाद
अझै घट्न सकेन ।। ४ ।।
मान्छे हुन नपाएर
बिबशतामा मरेतुल्य
मेरा अनन्य
शिल्पीसहधर्मीहरूका
दवित तृष्णा र सृजनाहरू
उपेक्षित आकांक्षा र अभिलाषाहरू
कहिले फुल्छन
समानताको बगैंचामा ?
बिलम्ब भयो
तिमी भित्रको
सामन्तवाद
अझै घट्न सकेन ।। ५ ।।
लेखक नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष तथा साहित्यकार हुनुहुन्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार