जनतालाई निराशै निराशा, प्रचण्डहरुलाई फलिफापै फलिफाप

जनतालाई निराशै निराशा, प्रचण्डहरुलाई फलिफापै फलिफाप

गरिब झन्झन् निर्बल भएका छन् । सहिद परिवारको कन्तबिजोग छ । घाइते-ठुटो शरीर दुखेर निदाउनसमेत सकिरहेका छैनन् । बेपत्ताका परिवारजनले आफन्तको स्थिति थाहासम्म नपाई १५ वर्ष बितेको छ । नयाँ संसार बनाउने सपनाको पछि कुदाएर लड्न हिँडाइएकाहरू निराश छन्, विक्षिप्त छन्, जीवन चलाउन नसकेर बेहाल छन् । अरबमा बालुवा चालिरहेका छन्, भारतमा पाले बनिरहेका छन् । समग्रमा नेपाली समाज विग्रह र विघटनको निराशामा जकडिएको छ ।

डेढ तोला सुन र डेढ कट्ठा जमिन पार्टीकरण गरेर मानिसलाई मृत्यु यात्रामा कुदाएका प्रचण्डहरूलाई हेर्नुस् के छैन ? देशको सर्वाधिक धनाढ्यको भन्दा भव्य जीवनशैली छ । छोरी मेयर । छोरी पीए । बुहारी मन्त्री । ज्वाइँ सल्लाहकार । सुविधाको पद भोग्ने नातेदारहरुको लाम । भान्जालाई ग्यास कम्पनी । शिविर घोटाला । वर्षौं लडेर सपनाको थाँक्रोमा फलेको फल प्रचण्डहरूलाई बुझाएर घर फर्कन लागेका जनसेनालाई राज्यले दिएको रकमसमेत खोसेर कुम्ल्याउने काम । जनतालाई निराशै निराशा । प्रचण्डहरूलाई फलिफापै फलिफाप ।

जो सारा बलिदानलाई पद, सत्ता, शक्ति, पैसामा जोखेर बेची खान हिच्किचाउँदैन, उसको विधिविधानको गफ मानिसले पत्याउने अझै ?

यताका दिनमा प्रचण्डले कहिल्यै बैठकमा जनताको पिरमर्का, देशको अवस्थालाई लिएर नेकपाको बैठकमा कुरा उठाएको सुनिएको छ ? मेरो मान्छे मन्त्री भएन, तेरो मात्रै भयो । मेरो मान्छे राजदूत भएन, तेरो मात्रै भयो । मैले फलानो नियुक्तिमा कोटा पाइनँ, तैँले मात्रै गरिस् । म प्रधानमन्त्री हुनपर्‍यो तँ मात्रै भएर भएन । पार्टीको अधिकार तँमा मात्रै गयो, मेरो पद पनि बलियो हुनुपर्‍यो । यही होइन, प्रचण्डको आफू केन्द्रित राँगो रुवाइ बितेका कैँयन् समय यता !

सेक्टर काण्डमा कमरेड किरणले राजीनामा दिएर महामन्त्री भएदेखि यताको सारा समय प्रचण्डले आफूमा पद, शक्ति, पैसा र सत्ता कसरी केन्द्रित गर्नेभन्दा अरू कुनै कुरामा लगाएको देखिन्छ ? उनी ती चिज प्राप्त गर्न मानिसको जीवनमाथि समेत जुवा खेल्न लाज मान्दैनन् भन्ने घटनाक्रमले पुष्टि गरेन ?

जो सारा बलिदानलाई पद, सत्ता, शक्ति, पैसामा जोखेर बेची खान हिच्किचाउँदैन, उसको विधिविधानको गफ मानिसले पत्याउने अझै ? प्रचण्डको आजको सारा राँगो रुवाइ ओलीले एक्लै खाए, मेरो भाग लागेन भन्ने मात्र हो । बाँकी त सब भन्ने कुरा न हो ।

खान, देश लुट्न, जनतालाई बेवकुफ बनाउन घिउ बेचुवा र तरबार बेचुवाबीच भएको एकता टुटेर के घाटा देशलाई, जनतालाई ? जुटेर के फाइदा भएको थियो ? फाइदाका लागि जुटेका बनियाँहरू फुट्छन् भनेर भ्रम दिने प्यादाहरूको पछि लागेर केको रुवाबासी हो दुनियाँदारहरू ?

(लेखक यादव देवकोटाको सामाजिक सञ्जालबाट) 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार