इटालीमा कोरोना संक्रमित १०२ वर्षीया महिला निको भइन्

इटालीमा कोरोना संक्रमित १०२ वर्षीया महिला निको भइन्

एजेन्सी रोम — इटालीमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित एक जना १०२ वर्षीया वृद्धा निको भएकी छिन् । इटालीको उत्तरी क्षेत्रमा पर्ने जेनोआ सहरी १०२ वर्षीया वृद्धा २० दिनको अस्पताल बसाइपछि निको भएर घर फर्किएको सीएनएनले जनाएको छ ।

‘हामीले उनलाई ‘हाइल्यान्डर’(अमर) उपनाम दिएका छौं,’ १०२ वर्षीया इटालिका ग्रोन्डोनाको उपचारमा खटिएका सान मार्टिनो अस्पतालका चिकित्सक भेरा सिक्बाल्डीले भने। ‘इटालीका कोरोना महामारीबाट प्रताडित सबै वृद्धवृद्धाका लागि आशाको किरण बनेकी छिन्,’ चिकित्सक भेराले भने। इटालीमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको औसत उमेर ७८ वर्ष रहृेको छ। इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुका अधिकांश ८० वर्षमाथिका रहेका छन्।

इटालिकालाई मार्चको सुरुवातमा मुटुसम्बन्धी रोग देखिएर अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरसको हल्का लक्षण देखिएको र पोजिटिभ पाइएको चिकित्सकले बताए। ‘हामीले थोरै मात्र प्रयास गर्यौं, उहाँ आफै निको हुनुभएको हो,’ चिकित्सक सिक्बाल्डीले भने। चिकित्सकहरुले इटालिकाले आफूहरुलाई एकदमै खुसी बनाएको र कोरोना भाइरसका बारेमा थप अध्ययन गर्न प्रेरित गरेको बताएका छन्।

इटालिकालाई मार्च २६ मा अस्पतालबाट डिस्चार्ज गरिएको थियो। ‘मलाई थाहा छैन, उनको रहस्य के हो, तर मलाई यो थाहा छ कि उनी बिन्दास र स्वतन्त्र महिला हुन्। भाइरसले उनीसमक्ष आत्मसमर्पण गर्‍यो,’ इटालिकाका भतिज रेनातो भिल्ला ग्रोन्डोनाले सीएनएनसँगको कुराकानीमा भनेका छन्।

इटाली कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित युरोपेली मुलुक हो। शनिबार बिहानसम्म इटालीमा ९ हजार एक सय ३४ जनाको मृत्यु भएको छ भने ८६ हजार ४ सय ९८ जना संक्रमित भएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार