मतगणना राेक्न माग गर्दै ट्रम्पले दिएका उजुरी अदालतद्वारा खारेज

मतगणना राेक्न माग गर्दै ट्रम्पले दिएका उजुरी अदालतद्वारा खारेज

काठमाण्डाै । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवारसमेत रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र फेरि मतगणना गर्न माग गरेकाले विवाद भएको हो ।

पूर्वउपराष्ट्रपति जो बाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतगणनामा लगातार पछाडि पारिरहनुभएको छ ।  अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाउनुभएका राष्ट्रपति ट्रम्पले अदालतबाट मागेको सहारा पनि पाउन असफल हुनुभएको छ । मतगणना तत्काल रोक्न माग गर्दै उहाँले सङ्घीय अदालतमा दिएका उजुरीहरु अदालतले खारेज गरिदिएका छन् ।

ट्रम्पले आफ्नो मतान्तर कम भएका वा बाइडेनले अग्रता लिएका राज्यहरूमा धाँधली र चुनावी अनियमितता भएको आरोप लगाउनुभएको हो ।

बाइडेन झिनो मतले अगाडि रहेको नेभाडा राज्यमा यसअघिसम्म ट्रम्पको पक्षमा मत आउने आशामा उहाँका समर्थकहरूले मतगणना रोक्ने माग गरेका थिएनन् ।

ट्रम्पले विस्कन्सिन, मिशिगन, पेन्सेल्भेनिया र जर्जिआ राज्यमा मतगणनालाई कानुनी चुनौती दिँदै उजुरी दिनुभएको हो ।

उहाँले लगाएको आरोप पुष्टि गर्ने गरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्वारा दर्ता गरिएको उजुरी खारेज गरिएको अदालतले जनाएको छ ।

जर्जिआमा ढिलो गरी आएका ५३ वटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दाबीसहित मुद्दा दायर भएको थियो ।
मिशिगनमा भने मतगणना रोक्न माग गर्दै मतगणनामा प्रक्रियामा पहुँचको माग गरिएको थियो ।

राष्ट्रपति ट्रम्पले पेन्सेल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई पनि अस्वीकार गरिएको छ । राज्यका अधिकारीहरूले रिपब्लिकनलाई मतगणना निरीक्षण गर्न दिइएको बताउँदै एक जना प्रतिनिधिले सामाजिक दुरीको नियम पालना नगरेको बताएका थिए ।

ती राज्यका न्यायाधीशले उजुरी खारेज गरिदिएको र मतगणना रोक्न आवश्यक नभएको फैसला सुनाएका थिए । अदालतले उजुरी खारेज गरिदिएपछि राष्ट्रपति ट्रम्पलाई अर्को धक्का पुगेकाे छ ।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले नेभाडाको मतदानमा पनि धाँधली भएको भन्दै उजुरी दर्ता गरेको छ । शुक्रबार दर्ता गरिएको उजुरी ट्रम्पको तर्फबाट अन्य राज्यमा दर्ता गरिएको जस्तै रहेको समाचारमा जनाइएको छ । प्रमाण नदिइएको त्यस मु्द्दामा क्लार्क काउन्टीमा हुलाकमार्फत् आएका मतपत्र जाँचमा अनियमिता र तीन हजारभन्दा बढी फर्जी मतदान भएको दाबी गरिएको छ ।

अमेरिकामा अहिले मतगणना भइरहेका पेन्सेल्भेनिया, नेभाडा, एरिजोना, जर्जिआ र नर्थ क्यारोलाइनामा स्पष्ट विजेता देखा परिसकेका छैनन् ।

पेन्सेल्भेनियामा मात्र जितेमा वा बाँकी चारमध्ये दुई वटामा मात्र जितेमा पनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनुहुनेछ । ट्रम्पले जित्नका लागि भने पेन्सिल्भेनियासहित बाँकी चारमध्ये तीन वटा राज्यमा जित्नैपर्ने हुन्छ ।

यसअघि ट्रम्पको अग्रता पेन्सेल्भेनियामा खुम्चँदै थियो भने अब अर्को राज्य जर्जिआमा पनि उस्तै स्थिति देखा परिरहेको छ ।

अमेरिकामा अहिले मतगणना र मुद्दामामिला भइरहेका बेला दुवै उम्मेदवारले विभिन्न प्रतिक्रिया दिएका छन् ।

प्रतिस्पर्धामा रहनुभएका वर्तमान राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आउनुभएको छ भने अर्का प्रतिस्पर्धी तथा पूर्वउपराष्ट्रपति जो बाइडेनले संयमित हुन सबैलाई आह्वान गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गरेपछि उहाँका समर्थक र विपक्षी दुवै पक्षले विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत पहिलो पटक राष्ट्रपति ट्रम्पले धारणा सार्वजनिक गर्ने क्रममा हुलाकमार्फत गरिएको मतदान एकतर्फी भएको दाबी गर्नुभएको थियो ।

उहाँले भन्नुभयो, ‘यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने म सजिलै जित्छु । यहाँ धेरै अवैध मतदान भएको छ ।’ मतदानअघि सञ्चार माध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको संज्ञा दिनुभयो ।

यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै विजयी भएको बाइडनले घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताउनुभएको थियो ।

अन्तिम नतिजा आउनै लाग्दा उहाँले दिएका अभिव्यक्तिका कारण धेरै अमेरिकीहरुले उहाँको आउँदाे कदमको बारेमा आशङ्का र चिन्ता व्यक्त गरेका छन् ।

अर्का प्रतिस्पर्धी बाइडेनले भने विरोध प्रदर्शनमा उत्रिएका तथा त्रसित र उत्तेजित भएकाहरुलाई संयमता अपनाउन आह्वान गर्नुभएको छ ।

‘लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ’, उहाँले भन्नुभयो, ‘तर प्रक्रियाले काम गरिरहेको छ ।’ प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ । त्यसलाई मानिसहरुले कसरी व्यक्त गरेका छन् भन्ने हेरौँ ।’

मतगणना सकेपछि आफू र आफ्नो समूहकी उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस विजयी हुने कुरामा ‘कुनै शङ्का नरहेको’ पनि बाइडेनले बताउनुभएको छ ।

त्यसबाहेक अमेरिकामा यसपालि झण्डै १० करोड मतदाताले हुलाकमार्फत अग्रिम मतदान गरेका छन् । त्यसको गणनाका लागि समय लाग्ने भएकाले अन्तिम नतिजा आउन अझै केही दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

हुलाकबाट आएको मत गणनापछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने छ । तर हुलाकबाट आएको मतले भने नतिजालाई उल्ट्याउने सम्भावना कम हुने गरेको छ ।

नेपाली समयअनुसार मङ्गलबार राति अबेरसम्म भएको मतदान सकिएपछि बुधबार बिहानदेखि मत गणना सुरु भइ परिणाम सार्वजनिक हुन थालेको हो ।

अमेरिकी राष्ट्रपतिको काम कारबाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्त्वका साथ हेर्ने गरिएको छ ।

अमेरिकामा हरेक चार–चार वर्षको नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार