महामारीबाट मुलुकलाई जोगाउन कांग्रेस महामन्त्री कोइरालाले जारी गरे सरकार र स्वास्थ्यकर्मीका नाममा पाँच बुँदे अपील

महामारीबाट मुलुकलाई जोगाउन कांग्रेस महामन्त्री कोइरालाले जारी गरे सरकार र स्वास्थ्यकर्मीका नाममा पाँच बुँदे अपील

चैत्र १६ काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना भाइरसको महामारीबाट मुलुकलाई जोगाउन सरकार र स्वास्थ्यकर्मीका नाममा पाँच बुँदे अपील पत्र जारी गरेका छन् ।

उनले परिणाममुखी रूपमा कार्य गर्न निर्मित वातावरण उपयोग गर्दै अब स्वास्थकर्मी र सुरक्षाकर्मीको नेतृत्वमा संघर्षमा जित हाँसिल गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरससँग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नहरुलाई नेपाली कांग्रेसले निरन्तर साथ दिँदै आएको छ । लकडाउनको पालना गरेर जनताले यो संघर्षप्रती एेक्यवद्धता जनाइरहेका छन् । परिणाममुखी रूपमा कार्य गर्न निर्मित वातावरण उपयोग गर्दै अब स्वास्थकर्मी र सुरक्षाकर्मीको नेतृत्वमा हामीले संघर्षमा जीत हासिल गर्नुपर्दछ’, डा. कोइरालाले भनेका छन् ।

उनले अघि भनेका छन्, ‘ चिकित्सकका रूपमा लामो समय सेवा र प्राध्यापन समेत गरेको नाताले आजको स्थितिलाई मैले निकैदिन देखि नजिकबाट नियालिरहेको छु । अत नेपाल सरकार र नेपालभरिका स्वास्थकर्मीहरुका नाममा यो अपील सार्वजनिक गरेको छु ।’

यस्तो छ उनको पाँच बुँदे अपील

१) कुनैपनी स्वास्थकर्मी निस्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहन्छन् बिरामीको उपचार गर्न, उनीहरुमा रहेको त्यही मानवीय भावना,समर्पण र साहसनै आजको विश्वब्यापी महामारीबाट बाहिर निक्लने मुख्य मार्ग हो । अत म नेपालभरिका सबै स्वास्थकर्मीमा आजको यो प्रतिकुल परिस्थितिमा उच्च मनोबल साथ कार्य गर्न एक चिकित्साकर्मी समेतका नाताले अपील गर्दछु ।

२) स्वास्थकर्मिहरुका लागि अनिवार्य पीपिइको प्रबन्ध समयमै गर्न नसक्नु आजको सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी हो । यथासिघ्र देशब्यापी रूपमा पीपिइ पुर्‍याएर संभावित संक्रमितको परिक्षण एवं संक्रमितको उपचारमा स्वास्थकर्मिको मनोबल उच्च बनाउन म सरकारसंग अनुरोध गर्दछु ।

३) विश्व स्वास्थ संगठनले बढी भन्दा बढी परीक्षणका लागि अपील गरेको छ । हामी केवल टेकु स्थित रास्ट्रीय प्रयोगशालामा परीक्षण गरेर परिक्षणको चाप धान्न सक्दैनौं । केही थप ठाउँमा शुरु गर्न लागिएको सकारात्मक छ ,तर ७ प्रदेशमै परिक्षण गर्ने व्यवस्था अब ढिलाइ नगरी शुरु गर्न र क्रमशः त्यसलाई सबै जिल्लामा विकेन्द्रीत गर्न म सरकारलाई विशेष अनुरोध गर्दछु ।

४, हालसम्म पाँच जनामा कोरोना संक्रमण देखिएको छ । तर उनीहरु यसबीचमा घुलमिल भएको परिवारका सदस्य,छरछिमेकी एवं ब्यक्तिगत साथी समूहको परिक्षण गर्न जरुरी तदारुकता र उच्च सतर्कता सरकारले नदेखाउनु दुःखद छ । तत्काल परीक्षण गर्ने व्यवस्था मिलाउन म नेपाली कांग्रेस पार्टीका तर्फबाट सरकारलाई अनुरोध गर्दछु ।

५) लकडाउनमा घरभित्र बसेका जनतालाई संक्रमणको कुनै आशंका हुनासाथ घरबाटै सावधानी पुर्वक ल्याएर परीक्षण केन्द्रमा पुर्‍याउने ब्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु त्यसरी आइसोलेसन र संक्रमित देखिए सुरक्षित उपचारको ब्यवस्थाले मात्रै सम्बन्धित ब्यक्तिबाट अन्यमा फैलिन रोक्न सकिन्छ ।

अन्य देशले हासिल गरेको सफलता र असफलता दुवैबाट सिकेर अघि बढ्नु आज हामी सबैको रारष्ट्रिय कर्तव्य रहेको अपील पनि म नेपाली कांग्रेसका तर्फबाट सरकार, सम्बन्धित निकाय र सबै जनतामा गर्न चाहन्छु ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार