Category: मुख्य समाचार

  • ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने

    ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने

    काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

    सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुँदै आएको झन्झट अब अन्त्य हुने विश्वास गरिएको छ । सवारी चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । यसबाट सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ ।

    प्रहरी नायब महानिरीक्षक बोहराका अनुसार पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा ल्याइनेछ । डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ ।

    यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब सवारी चालकले चालक अनुमतिपत्र बोक्नु नपर्ने र ट्राफिक प्रहरीलाई नागरिक एपमार्फत चालक अनुमतिपत्र देखाउन सक्नेछन् । नागरिक एपमा चालक अनुमतिपत्र रहेको क्युआर कोड देखाउने व्यवस्था गरिएको छ ।

    ट्राफिक प्रहरीले ‘इचलान डिजिटल’ एपमार्फत सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखिने उक्त क्युआर कोड स्क्यान गरेर कारबाहीको विवरण प्रविष्ट गर्नेछन् । लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लङ्घन कोलममा कसुर र जरिवाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिवाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ ।

    यसबाट सवारी चालकले तत्कालै ‘डिजिटल वालेट’मार्फत जरिवाना रकम भुक्तानी गर्न सक्नेछन् । रासस
  • गुडिरहेको बसमा आगलागी, यात्रु सुरक्षित

    गुडिरहेको बसमा आगलागी, यात्रु सुरक्षित

    काठमाडौं । ललितपुरको सातदोबाटोमा बसमा आगलागी भएको छ ।

    आज (शनिबार) अपरान्ह पौने ५ बजे चक्रपथमा चल्ने बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको ट्राफिक प्रहरी इन्सपेक्टर भुपेन्द्र गिरीले जानकारी दिए ।

    बसमा आगलागीको कारण खुलेको छैन । चालकका अनुसार इन्जिनबाट एक्कासी आगलागी भएको थियो । बसमा धुँवा देखिनेवित्तिकै यात्रुहरु झरेका थिए ।

    सबै यात्रुहरु सुरक्षित रहेको गिरीले बताए ।

  • रास्वपा रुकुम पश्चिमको सभापतिमा ईन्जिनियर शाही

    रास्वपा रुकुम पश्चिमको सभापतिमा ईन्जिनियर शाही

    मुसिकोट । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रुकुम पश्चिमको प्रथम भेला सम्पन्न भएको छ ।

    शनिबार मुसिकोट नगरपालिका १ बालमन्दिरमा भएको प्रथम भेलाबाट नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।

    भेलाले ईन्जिनियर मानबहादुर शाहीको अध्यक्षतामा एक जना पछि थप्नेगरी १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको रास्वपा रुकुुम पश्चिमले जनाएको छ । कार्यसमितिको उपसभापतिमा रिमप्रसाद शर्मा, सचिवमा शेखर चन्द, सह सचिवमा मना खड्का गिरी र कोषाध्यक्षमा रमिता खड्का चयन हुनुभएको छ ।

    सदस्यहरुमा प्रविन बुढाथोकी, निरज गिरी, चन्द्रबहादुर ओली, शुनिल मल्ल, पवन ओली, दिपेन्द्र विष्ट, शान्ती गिरी र सुमि मल्ल चयन हुनुभएको छ । जिल्ला भेलाबाट आज निर्माण गरिएको तदर्थ समितिले आगामी पार्टीको महाधिवेशन सम्मको लागि काम गर्ने र त्यस पश्चात जिल्लामा नर्या कार्यसमिति निर्माण हुने जिल्ला पार्टी सभापतिमा शाहीले जानकारी दिनुभयो ।

    भेलामा पार्टीका प्रमुख सचेतक सन्तोष परियारको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीका कर्णाली प्रदेश उपसभापती प्रेम बोहरा, महामन्त्री ललित चन्द, मानव संसोधन विभाग प्रमुख पवनराज देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।

  • रवि लामिछानेलाई आइतबार अदालत उपस्थित गराइने

    रवि लामिछानेलाई आइतबार अदालत उपस्थित गराइने

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आइतबार अदालत उपस्थित गराइने भएको छ।

    पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेर आज राति नै लामिछानेलाई पोखरा लगिएको छ।

    भोलि (शनिबार) अदालत बिदा हुने भएकाले आइतबार मात्रै उनलाई म्याद थपका लागि अदालत लगिने भएको हो।

    अदालतको अनुमतिलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लामिछानेलाई पार्टी कार्यालय, वनस्थलीबाट पक्राउ गरेको थियो।

  • पश्चिमी वायुको प्रभाव कायमै, आज पाँच प्रदेशमा वर्षाको सम्भावना

    पश्चिमी वायुको प्रभाव कायमै, आज पाँच प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ ।

    हाल देशका कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिक देखि साधारणतया बदली रही  बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

    आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

  • सहकारी ठगी आरोपमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ

    सहकारी ठगी आरोपमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उनलाई रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो ।

    सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् ।

    सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
    पूर्वडीआईजी छविलाल जोशी, राई र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।
    लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् । रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ मा पक्राउ परेका थिए ।
  • कानुनलाई सघाउने रवि लामिछानेको प्रतिबद्धता

    कानुनलाई सघाउने रवि लामिछानेको प्रतिबद्धता

    काठमाडौँ । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कानुनलाई सघाउने प्रतिबद्धता जनाएका छन्।

    शुक्रबार जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफू कानुनलाई सघाउन तयार रहेको प्रतिबद्धता जनाएका हुन्।

    उनले लेखेका छन्, ‘ठीक छ, म तपाईहरुको दिनगन्ती सुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिबद्धता व्यक्त गर्दछु।’

    सहकारी ठगीमा संसदीय छानबिन समितिबाट दोषी ठहर भएका उनले आफूले कसैलाई नठगेको भन्दै पार्टीका नेता कार्यकर्तालाई शीर ठाडो राख्न आग्रह गरेका छन्।

    साथै अहिलेलाई सरकार मरेको उनले टिप्पणी गरेका छन्। न्यायालयमाथि आफूलाई भरोसा रहेकोसमेत उनको भनाइ छ।

    ‘अहिलेलाई सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो। तर, मलाई न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नुहोला। तपाईको सभापतिले कसैलाई ठगेको छैन,’ उनको भनाइ छ।

    यस्तै, उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचनासमेत गरेका छन्।

  • रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी,सिआइबीको टोली रास्वपा कार्यालयमा

    रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी,सिआइबीको टोली रास्वपा कार्यालयमा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पार्टी कार्यालयमा पुगेको छ।

    प्रहरी स्रोतका अनुसार सिआइबीको टोली पक्राउ गर्न काठमाडौंको चमतिस्थित पार्टी कार्यालयमा पुगेको हो।

    अहिले पक्राउ गर्न पुगेको टोलीसँगै सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन समेत गरिएको छ।

    शुक्रबारमात्रै जिल्ला अदालत कास्कीबाट प्रहरीले लामिछानेविरूद्ध पक्राउ पुर्जी लिएको छ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा पुर्जी जारी भएको हो।
  • असोज महिनामा ५३ हजार नेपाली कामका लागि विदेशिए

    असोज महिनामा ५३ हजार नेपाली कामका लागि विदेशिए

     काठमाडौं । दशैं पर्वका कारण असोज महिनामा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या केही घटेको छ ।

    वैदेशिक रोजगार विभागका अनुसार असोज महिनामा ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला गरी ५३ हजार ५२५ नेपाली रोजगारीका लागि विदेश गएका छन् ।

    यो संख्या नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या रहेको विभागले जनाएको छ । साउनमा ६० हजार र भदौमा ५७ हजार नेपाली वैदेशिक रोजगारीमा हरु वैदेशिक रोजगारीमा गएका थिए ।

    विभागका निर्देशक गुरुदत्त सुवेदीले चाडबाडको मुखमा पनि रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेक्रम नरोकिएको बताए । उनका अनुसार असोजमा रोजगारीको खोजीमा नेपालीहरु सबैभन्दा धेरै खाडी मुलुक गएका छन् । असोजमा १७ हजार नेपाली युएई गएका छन् ।

    त्यस्तै साउदीमा १० हजार, कतारमा ९ हजार ७ सय, कुवेतमा ३ हजार ८ सय जना नेपाली रोजगारीका लागि गएका विभागका सूचना अधिकारी सुवेदीले बताए ।

    युरोपेली देश रोमानियामा २२ सय, क्रोएसियामा ७८३, साइप्रसमा ४८५ जना रोजगारीका लागि गएका छन् । त्यस्तै जापानमा १ हजार ४५६ र दक्षिण कोरियामा १ हजार १०६ श्रमिक रोजगारीको खोजीमा गएका छन् ।

    असोजमा सबैभन्दा धेरै धुनषा जिल्लाका नागरिक वैदेशिक रोजगारीमा गएका छन् । विभागका अनुसार धनुषाबाट २ हजार ९४४ हजार ३६० विदेश गएका छन् ।

    त्यस्तै झापाबाट २ हजार ५४५, सिरहाबाट २ हजार ३४१, मोरङबाट २ हजार १८६, महोत्तरीबाट २ हजार २८९, सुनसरीबाट १ हजार ८२८ जना वैदेशिक रोजगारीमा गएका छन् ।

  • विकासमा राजनीति गर्नु हुँदैन : सासंद धनबहादुर केसी

    विकासमा राजनीति गर्नु हुँदैन : सासंद धनबहादुर केसी

    रुकुमकोट । नेपाली काँग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसीले विकास निर्माणको मामिलामा राजनीति गर्न नहुने बताउनुभएको छ ।

    बिहिबार रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ र ७ मा संघिय, प्रदेश र स्थानीयतह मार्फत निर्माण भैरहेका विभिन्न योजनाहरुको अनुगमनका क्रममा सासंद केसीले यस्तो बताउनुभएको हो ।

    अनुगमन क्रममा प्रदेश सभा सदस्य केसीले कुनै पनि विकास निर्माणको योजनामा राजनिति नर्गन समेत अनुरोध गर्नुभएको छ । विकास निर्माणका काम र विकासे योजनाहरु जनताको लागि भएको भन्दै उहाँले धेरै ठाउँमा विकास निर्माणको विषयमा राजनिति हुने गरेको बताउनुभयो ।

    तर रुकुम पूर्वमा हुने विकास निर्माणको योजनाहरुमा राजनिति नहुनेमा आफु विश्वस्त रहेको उहाँको भनाई थियो । विकास निर्माणको काममा राजनिति भएकै कारण भनेको समयमा काम सम्पन्न नहुने गरेको र विकासको गति सुस्त हुने गरेको उहाँको भनाई थियो ।

    जुनसुकै राजनितिकदलहरुको पहलमा विकासको काम सुरु हुने भए पनि त्यो कामलाई प्रभावकारी र छिटो सम्पन्न गर्न अनुरोध गर्नुुभयो । पूर्वाधारको काममा गुणस्तरलाई ध्यान दिएर दिगो र प्रभावकारी बनाउन पनि उहाँले निर्देशन दिनुभयो। त्यस्तै समयमा काम सम्पन्न हुन नसकेका कामहरुलाई छिटो सम्पन्न गराउनको लागि जिल्लाका सरोकारवालाहरुलाई पनि निर्देशन दिनुभएको छ ।

    सासंद केसीले जिल्लाको शैक्षिक क्षेत्रको सुधारको लागि प्राविधिक शिक्षा र आधुनिक भवन निर्माण आफ्नो प्राथामिकता रहेको बताउनुु भयो । त्यस्तै सिस्ने ३ मा रहेको जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक कलु खड्काले बन्द हुने अवस्थामा रहेका प्राविधिक शिक्षालयहरुको संरक्षणमा समेत पहल गर्न सासंद केसीलाई अनुरोध गर्नुभएको थियो ।

    अनुगमन टोलीमा प्रदेश सभा सदस्य केसी सहित जिल्ला समन्वय समिति उप–प्रमुख मोहन केसी, प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपाने, जिल्ला समन्वय अधिकारी रविन्द्र बुढा, प्रहरी नायव उपरिक्षक माधव खरेल, सिस्ने गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हेराम खड्का, वडा नम्बर ७ का अध्यक्ष ससिधर बुढा लगायतको सहभागिता रहेको थियो ।