काठमाडौँ । चन्द्रागिरि हिल्सको आईपीओ शुक्रबार आज बाँडफाँट हुँदैछ । शुक्रबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा सो आईपीओको बाँडफाँट हुन लागेको जनाइएको छ ।
कम्पनीले सर्वसाधारणका लागि चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । त्यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लगानीकर्तालाई छुट्याएर १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएको थियो ।
यसअनुसार १ लाख ३९ हजार ६ सय २ जनाका लागि यो आईपीओ बाँडफाँट हुनेछ । ४० हजारभन्दा धेरैको आवेदन रद्द भएको ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।
हाल यो सेयरका लागि १२ लाख १५ हजार १ सय १५ जना आवेदकले २ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयरका लागि आवेदन दिएका छन् । कुल सेयर संख्या र आवेदकका आधारमा ११.४९ प्रतिशतले मात्रै यो सेयर प्राप्त गर्न सक्छन् । अर्थात् आईपीओ भर्ने ९ जनामध्ये १ जनाले मात्रै यस्तो सेयर प्राप्त गर्न सक्छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमइ ग्रुप अफ कम्पनिजका अध्यक्ष रहेका चन्द्र ढकालको नेतृत्वमा यो कम्पनी छ। यसमा हेमराज ढकाल, अम्बिकाप्रसाद पौडेल, उत्तम नेपाल, कल्याण गुरुङ, भाटभटेनी सुपर मार्केटका मीनबहादुर गुरुङ, कुमारकेशर विष्ट, डोलराज शर्मा, हाथवे इन्भेष्टमेन्ट नेपाल, सन्ध्या गुरुङ र उमा बिष्ट जिसी संस्थापक छन्।


 
					
							 
			 
                             
                             
                             
                             
                            