गौतम अध्यक्ष भएपछि फेरियो बालापुर विद्यालयको मुहार

गौतम अध्यक्ष भएपछि फेरियो बालापुर विद्यालयको मुहार

राप्तीसोनारी । बाँके जिल्लाको एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विद्यालयको मुहार बदल्ने अभियानमा लागेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका-८ बालापुर स्थित जनशक्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गौतम जिल्लाकै उत्कृष्ट विद्यालय बनाउने अभियानमा लागेका हुन् ।

स्थानीय अभिभावकले विद्यालय सुधारका लागि २०७६ साल माघमा व्यवस्थापन समितिको अध्यक्ष बनाएपछि मोहन सक्रिय भएर काम गर्दै आएका छन् । अधिकाश सामुदायिक विद्यालय राजनीतिका कारण बिग्रिएका छन् । शिक्षक नियुक्त गर्दा हुने भनसुन र राजनीतिको चरम प्रभावले उँभो लाग्न सकेका छैनन् । एकअर्कामा हुने मनमुटाव, तिक्तता र असहयोगका कारण सामुदायिक विद्यालय जम्न सकेका छैनन् ।

विद्यालयलाई केही गर्नुपर्छ, बनाउनुपर्छ भन्ने लगाव दिने टिमवर्क हुन नसक्दा सामुदायिक विद्यालय पछाडि परेका छन् । सामुदायिक विद्यालयलाई उठ्न नदिने थुपै्र भाइरस तत्वबाट जनशक्ति मावि टाढा नै बस्यो । विद्यालयमा यस्तो नेतृत्व आयो, जुन नेतृत्व केही गर्नुपर्छ, विद्यालयलाई बनाउनुपर्छ भनेर दिनरात पिरोलियो र एउटा मिसन बनाएर दौडियो । मोहनले जनशक्ति माविको नेतृत्व समालेपछि विद्यालयमा धेरै कुरामा सुधार भएको छ । विद्यार्थी संख्या घट्दै गएको सो विद्यालयमा अहिले हरेक कक्षा कोठाभरि विद्यार्थी रहेको उनको दाबी छ । उनले विद्यालयमा पहिलो प्रथामिकता गुणस्तर शिक्षा अनुशासन र पोसाकलाई दिएको बताए ।

जिल्लामा भएका ठूला विद्यालयसंग शैक्षिक गुणस्तर लगायत अतिरिक्त क्रियाकलापमा प्रतिस्पर्धा गर्नसक्ने सक्षम विद्यार्थी उत्पादन गराउने गौतम बताउँछन । एक वर्षमै गौतम विद्यालयमा आए देखि स्कुलले एउटा राम्रो छनक दिएको छ । विद्यालयलाई रंगरोगन गरेर चिटिक्क बनाइएको छ । त्यसै गरी विद्यालय परिसरमा गार्डन निर्माण, व्यवस्थित शिशु कक्ष, सीसी क्यामेरा जडान, स्मार्टबोर्ड सहितको आइसिटी व्यवस्थापन गरिएको छ । कक्षाकोठामा भएका गतिविधिहरु अध्यक्ष गौतमले घरमै बसेर सीसी क्यामेराबाट निगरानी गर्ने गरेका छन । कुनै शिक्षक अल्छी बन्न पाउँदैनन् । कुनै विद्यार्थी नपढी बस्न पाउँदैन । सबै जनाको लगाव र परिश्रमले हामी यहाँसम्म आएका छौँ गौतमले भने । सीसीक्यामराको निगरानीमा शिक्षकहरु जोडबल गरिरहेका छन् । विद्यालय पुग्दा लाग्छ, यस्तो उत्साह सबै सामुदायिक विद्यालयमा हुने भए सबैले काँचुली फेर्ने थिए ।

जनशक्ति माविमा अहिले ई–लाइब्रेरी पनि छ । विद्यालयमा आउने अभिभावकहरुको लागि सफासुग्घर खानेपानी र शौचालय व्यवस्थित हुनुका साथै , मोटरसाइकल स्ट्याण्ड छ । विद्यालयमा फोहर व्यवस्थापन, शौचालय सफा सुग्घर विद्यालर्थीलाई नियमित रुपमा साबुन पानीले हात धुने बानी बसालिइएको छ । विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तरगर्त लोभ हुन लागेको पन्चेबाजा विद्यार्थीलाई सिकाउन थालिएको छ । गौतमले आधारभुत तहसम्म रहेको विद्यालयलाई मावि बनाउनलाई सोही विद्यालयमा कखरा सिकेका व्यक्तित्वसंग सहयोगको लागि चन्दा संकलन गरे ।

विद्यालयलाई सुधारका लागि दिनरात खटेर माध्यामिक विद्यालय संचालन गर्नका लागि अनुमति पाए । सो विद्यालयमा बालकक्षादेखि १० कक्षासम्म करिब २८० विद्यार्थी अध्ययनरत रहेको अध्यक्ष गौतमले बताए । आफू अध्यक्ष हुनुपूर्व ,शिक्षक नियमित रुपमा विद्यालयमा उपस्थित हुने र शिक्षामा सुधार गर्नुपर्ने शिक्षकहरुको सोच र जोसलाई गौतम आएदेखि झनै शिक्षकमा उत्साह देखिएको छ । अहिले सो विद्यालयमा प्रावि, निमावि र मावि तहमा समेत गरेर १५ जना शिक्षक छन् । ‘समाजको र विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै यो आफ्नो कार्यकालमा प्राविधिक शिक्षा वनतर्फको कक्षा सञ्चालन गर्ने उनले बताए । सशस्त्र प्रहरीको जागिरबाट अबकास भएका अध्यक्ष गौतमले बेरोजगार युवालाई रोजगार दिने उद्देश्यले विद्यालयमा प्राविधिक शिक्षा संचालन गरिने बताउँछन् ।

विद्यालयको भौतिक पूर्वाधार विकासको लागि पनि सक्रिय भएर लागिपरेको उनीले बताउँछन । ‘विद्यालयको भौतिक पूर्वाधार विकासअन्तर्गत शिक्षा समन्वय समिति र राप्तीसोनारी गाउँपालिका कार्यालयमार्फत बजेट ल्याएर चारवटा कोठा निर्माण भइरहेको छ । अन्य कोठा निर्माणको लागि पनि पहल भइरहेको छ’, उनले भने ।
अध्यक्षको सक्रियताले अहिले विद्यालयमा पढाइमा सुधार आएको विद्यालयका प्रधानाध्यापक मोहन खत्रीले जानकारी दिए ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गौतमले आगामी तीन वर्ष भित्रमा जनशक्ति माविलाई नमुना विद्यालयको रुपमा स्थापित गरिने दावी गरे । प्रधानाध्यापक खत्रीको भनाइ अनुसार भिजनसँग व्यवस्थापन समितिको मिसन मिल्यो भने मात्र विद्यालयले चाँडै फड्को मार्ने रहेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार