करीब सात सय मजदूरलाई घर पठाइयो

करीब सात सय मजदूरलाई घर पठाइयो

म्याग्दी, (रासस)

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा अलपत्र परेका करीब सात सय मजदूरलाई घर पठाइएको छ । म्याग्दीमा सञ्चालित विभिन्न विकास आयोजनामा कार्यरत मजदूरलाई सम्बद्ध निर्माण व्यवसायीमार्फत यातायातका साधन व्यवस्थापन गरेर घर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

सोमबार ४४२ र आइतबार २४७ मजदूरलाई गृहजिल्ला पठाइएको सहायक प्रजिअ महेश सुवेदीले जानकारी दिनुभयो । घर पठाइएका मजदूरमा विराटनगर, पोखरा, काठमाडाँ, मकवानपुर, झापा,  कैलाली, दाङ, बाँके, सिन्धुपाल्चोक, बर्दिया, उदयपुर, स्याङजा, पर्सा र वीरगञ्जका छन् ।

 

गृह मन्त्रालयको परिपत्रअनुसार ठेकेदार कम्पनीले घरसम्म पु¥याउने व्यवस्था मिलाएपछि प्रशासनले त्यहाँसम्म जाने सवारीसाधनलाई पास दिएको सहायक प्रजिअ सुवेदीले बताउनुभयो । अझै  केही आयोजनाका मजदूरलाई घर पठाउनका लागि सम्बद्ध निर्माण कम्पनीले सम्पर्क गरेका प्रजिअ ज्ञाननाथ ढकालले बताउनुभयो ।

 

लक डाउन कार्यान्वयनलाई प्रभावकारी बनाउन चैत ११ गतेदेखि म्याग्दीमा स्थानीय प्रशासनले चैत २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । लकडाउन र निषेधाज्ञाका कारण म्याग्दीमा       सञ्चालित जलविद्युत्, प्रसारण लाइन, सबस्टेशन, सडक, भवन र नदी नियन्त्रण        योजनामा काम गर्न आएका देशका विभिन्न जिल्लाका मजदूर अलपत्र परेका थिए ।

 

अन्नपूर्ण गाउँपालिकाको नारच्याङस्थित ११० मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यासकेट, ४२ मेगावाटको मिस्त्री, १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको निर्माण रोकिएको प्रवद्र्धकले जनाएका छन् । रघुगङ्गा गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट र ३७.५ मेगावाटको राहुघाट मङ्गले जलविद्युत् आयोजना निर्माणाधीन छन् । मालिका गाउँपालिकामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना, डाँडाखेत र रातोढुङ्गा सबस्टेशन निर्माणाधीन छन् ।

 

बेनी–जोमसोम, पोखरेबगर–घार, बेनी–दरवाङ, रत्नेचौर–बेनी सडक आयोजनाको काम पनि ठप्प भएको निर्माण व्यवसायी सङ्घका अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार