मकवानपुर । राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउन संघीय सरकारले छिट्टै नयाँ निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
शनिबार राप्रपा हेटौँडा उपमहानगरपालिकाको प्रथम नगर परिषद् भेलामा बोल्दै उनले मुलुकमा अहिले नयाँ सोच र चिन्तनका साथ राजनीतिक स्थायित्वका लागि सरकारले छिट्टै नयाँ निर्वाचनको कार्यतालिका घोषणा गर्नुपर्ने बताए।
अध्यक्ष थापाले मुलुकमा सुशासन स्थापना र आर्थिक समृद्धि ल्याउनका लागि नेपाली जनताले नेकपालाई दुई तिहाइको बहुमत दिएको उल्लेख गर्दै सो पार्टीका आन्तरिक झगडाले उग्र रुप लिँदा अहिले संसदीय प्रजातन्त्रमाथि नै सङ्कट आइपरेको आरोप लगाए।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि मुलुकमा आर्थिक समृद्धि ल्याउनेतर्फ केन्द्रित हुनुको सट्टा सरकार परिवर्तन गर्ने भूमिकामा तल्लिन हुँदा देशमा अराजकता र हिंसा बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले सनातन हिन्दूधर्मको संरक्षणका लागि राप्रपा अग्रसर रहेको बताए । रासस


 
					
							 
			 
                             
                             
                             
                             
                            