मुसीकोट । रुकुम पश्चिममा आजबाट निषेधाज्ञा सुरु भएको छ । आज विहान ६ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरीएको हो । जिल्लाभर कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि त्यसलाई कम गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।
बिहान देखि जिल्ला भरमा अत्यावश्यक बाहेक अन्य सबै सेवा र काम तथा हिडडुलमा समेत रोक लगाईएका कारण जिल्लाका मुख्य बजार क्षेत्रहरुमा सामान्य आवत जावत छ भने अन्य व्यापार, व्यवसाय लगायत क्षेत्रहरु बन्द रहेका छन् ।
निषेधाज्ञा पालना गराउन भन्दै प्रहरीले जिल्लामा विभिन्न ठाउँमा बिहानै देखि चेकिङ जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले निषेधाज्ञाको बेलामा पनि मानिसहरु घर बाहिर निस्किने क्रम बढेकाले कडाइ गरिएको बताए । निषेधाज्ञाको पालना नगर्ने पैदलयात्रीलाई रोकेर सम्झाइबुझाइ गर्ने, सवारी पासविना चलाइएका सवारी साधन नियन्त्रणमा लिने र जरिवाना लिने तीन प्रकारका कारवाही गर्दै आएको प्रहरी निरीक्षक शर्माको भनाइ छ ।
आइतबार बिहान सम्म रुकुम पश्चिममा १ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोना संक्रमण कै कारण अहिलेसम्म २ जनाको ज्यान गैसकेको छ । कोरोनाका संक्रमितहरु थपिने क्रम बढेपछि त्यसको रोकथाम तथा नियन्त्रण गर्न १३ दिने निषेधाज्ञा जारी गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
निषेधाज्ञा अवधिमा अत्यावश्यकिय सेवा र राष्ट्रिय गौरवका आयोजना लगायत बिभिन्न सार्वजनिक निर्माणका कार्यहरु बाहेक अन्य सेवा ठप्प रहने बताईएको छ । यसबाहेक एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधनहरु भने स्थानिय प्रशासनको अनुमतिले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर संञ्चालन हुन पाउने छन् ।









