काठमाडौँ । कोराना सङ्क्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’का गतिविधि पुनः सुरु गर्ने सम्बन्धमा निर्णय गर्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आगामी आइतबार बस्ने भएको छ । गत वैशाख १९ गतेको मन्त्रीपरिषद् बैठकले बढ्दो कारोना सङ्क्रणका कारण असहज परिस्थिती निर्माण भएको भन्दै जनगणनाका सम्पूर्ण गतिविधि स्थगन गर्ने निर्णय गरेको थियो ।
पछिल्ला दिनमा कोरोना सङ्क्रमणदर केही नियन्त्रणमा आएसँगै जनगणनाका बाँकी कामलाई निरन्तरता दिने उद्देश्यले तथ्याङ्क विभागले जनगणना निर्देशक समितिको बैठक बोलाएको होे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहने तथा विभिन्न मन्त्रालयका सचिवहरू, विश्वविद्यालयका जनसङ्ख्या र तथ्याङ्क विभागका प्रमुखहरू सदस्य रहनेगरी निर्देशक समिति गठन गरीएको छ ।
केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले साउनको अन्तिम सातादेखि तथ्याङ्क लिन कार्यक्षेत्रमा पठाउनेगरी प्रस्ताव निर्देशक समितिको बैठकमा लैजान लागिएको जानकारी दिए । साउन अन्तिम सातादेखि सुरु गरी असोजको पहिलो सातामा सक्ने गरी कार्यतालिका बनाइएकोे उनको भनाइ छ । निर्देशक समितिले प्रस्ताव स्वीकृत गरेमा सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रीपरिषद्मा जानेछ ।