दाङ राजपुर गाउँपालिका वडा–५ की ३५ बर्षीया मिना चौधरी केही समय पहिले जुनकीरी स्वाबलम्बी समुहमा आवद्ध भइन । समुहमा आवद्ध भएपछि मिनाले छोरी निशाको अपाङग परिचय पत्र बनाइन । समुहमा आवद्ध भएपछि नै मिनाले परिचयपत्र कहाँ बनाउने ? र त्यो कसले बनाइदिन्छ भन्ने थाहा पाएकी हुन ।
समुहको पहलमा निशाको गाउँपालिकाबाट ‘ख’ बर्गमा अपाङ परिचय पत्र बनेको छ । त्यतिमात्रै हैन, मिनाले छोरी निशाको लागि समुहकै पहलमा दुबै हातले समाएर उभिन मिल्ने सम्मको बैशाखी सहयोग पाइन । त्यो बैशाखी पाएपछि निशामा पनि आत्मबल बढेको छ । भनिन् ‘अब त म पनि अरु साथीहरु जस्तै गरि पढ्नलाई विद्यालय जान सक्छु होला।’ निशालाई विद्यालयमा गएर पढ्ने ठूलो चाहाना छ ।
सधै जसो बिहान आफ्नी दिदी विद्यालय जान लाग्दा निशापनि कापी कलम समाएर बैशाखीको सहयोगमा घरको ढोका अगाडी उभिएकी हुन्छिन । तर, उनी जान सक्दिनन् । उनलाई ह्विलचियरको खाँचो छ । आमा मिनाले भनिन ‘स्कुल लगेर छोडेपनि अपाङको लागि छुटै कोठा छैन । छुट्टै शौचालय पनि छैन । त्यसैले पठाउन सकिरहेकी छैन ।’
निशा जन्मजातकी अपाङ्ग होइनन् । निशाका दुबै खुट्टा र बाँया हात पनि चल्दैन । उनी चार बर्ष अघिसम्म यस्ति थिइनन् । राजपुरकै जग्रहवा स्कुलमा कक्षा २ मा पढ्दा उनमा कुनै समस्या थिइन । साउन महिनामा विद्यालयबाट घर आउदा पानी परेको थियो । उनी सँग छाता थिएन । पानीमा भिज्दै घर आइन । निशा घर पुग्दा जाडोले काँपिरहेकी थिइन । उनलाई त्यो दिन रातभर ज्वरो आयो । स्थानीय क्लिनक र अस्पतालमा उपचारको लगे । तर, निशालाई सञ्चो भएन ।
निशालाई झनै ज्वरोले च्याप्दै लगेपछि भैरहवा मेडिकल कलेजमा उपचारको लागि लगियो । त्यहाँ एक महिना उपचार भयो । उपचार गर्दा ३ लाख २५ हजार खर्च लाग्यो । यति ठुलो रकम खर्च गरेर निशालाई सञ्चो त भयो, तर उनका दुबै खुटा र बाँया हात नचल्ने भयो । त्यसपछि निशा ओछ्याउनमा परिन । दिशा पिशाब गर्दापनि अरुको साहारा लिनु पर्छ ।
गरिब परिवार काम नगरी साँझ बिहान खान पुग्दैन । निशाको उपचारमा लागेको ऋण निखन्न उनका बुवा मजदुरी गर्न भारत गएका छन् । तर अहिले सम्म पनि निशाको परिवारले उनको उपचारमा लागेको खर्च तिर्न सकेका छैनन् । मिनाकी ठूली छोरी गाउँकै सरकारी विद्यालयमा ५ कक्षामा पढ्दै छिन । जेठो छोरा धादिङमा ईट्टा भट्टामा मजदुरी गर्न गएका छन् । मिना निशालाई एक्लै छोडेर टाढा जान सकेकी छैनन् । निशाको देखभाल गर्न हलबखत एउटा मान्छे चाहिन्छ । निशा उभिएर नै दिशा पिशाब गर्छिन । सहयोग गर्ने कोही नभए उनको शरिरभरी दिशा पिशाव लागेको हुन्छ ।
छोरीकै लागि भएपनि मिनाले कुनैपनि सानो तिनो व्यवसाय गर्ने इच्छा व्यक्त गरिन । राज्यले आफुजस्ता केही गर्न चाहानेलाई सहयोग गरिदिए हुन्थ्यो भन्ने चाहाना उनले व्यक्त गरिन । ‘ सानो भएपनि व्यवसाय गर्ने चाहाना त छ, तर, लगानी गर्नलाई रुपैंया छैन,’ मिनाले भनिन् ‘ हामी जस्ता दुःखमा परेका र गरिबहरुका लागि राज्यले बिशेष व्यवस्था गरिदिए हुन्थ्यो ।’ व्यापार गरेर थोरै पैंशा जम्मा गरेपछि छोरीका लागि ह्विल चियर किनिदिने चाहाना उनले व्यक्त गरिन । ‘ह्विल चियर भए उ स्कूल जान सक्थि,’ मिनाले भनिन् ‘ पढ्न पाइ भने भोलि उस्को भविस्य केही सहज हुने थियो कि भन्ने लाग्छ।’