कुखुराको भाले मर्दा गाउँले मलामी गएपछि….

कुखुराको भाले मर्दा गाउँले मलामी गएपछि….

दाङ । दाङको तुलसीपुरमा कुखुराको भाले मरेपछि त्यसका मालिकले कपाल मुण्डन गर्नुका साथै नुनसमेत छोडेका छन्। तुलसीपुर उपमहानगरपालिका-१५ पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले पालेको भाले मरेपछि हिन्दु परम्परा अनुसार गाउँलेहरू मलामी गई स्थानीय टैवा खोलामा लगि अन्तिम संस्कार गरेका छन्।

‘मैले १९ वर्ष १० महिनासम्म पालेको भाले साउन १६ गते मर्‍यो,’ सुवेदीले भन्नुभयो, ‘त्यो खबर थाहा पाएर गाउँलेहरू जम्मा हुनुभयो, २५ जना मलामी भएर टौवा खोलामा भालेको अन्तिम संस्कार गर्‍यौं।’

भाले मरेपछि मानिसको मृत्युजस्तै गरी गाउँलेहरूले खटमा भालेलाई बोकेर खोलासम्म पुर्‍याएका थिए। ‘गाउँलेहरूले जलाउन आवश्यक पर्ने काठ पनि लिएर आउनुभएको थियो,’ सुवेदीले भने, ‘भालेलाई जलाएर सकेपछि हिन्दु परम्परा अनुसार मैले खोलामै कपाल पनि मुण्डन गरेको हो।’

धेरै लामो समयसम्म पालेको भालेलाई परिवारको सदस्यजस्तै मानेर आफू र गाउँलेले त्यसको मृत्यु पछि शोक मनाएको सुवेदीले बताउनु भयो । भाले मरेपछि आफूलाई निकै दुःख लागेकाले भालेको सम्मानका लागि हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरेको उहाँले जानकारी दिनुभयो ।

मानिस सबैभन्दा बुद्धिमान प्राणी भएकाले आफूले पालेका पशुपंक्षी र जीवजन्तुलाई माया तथा सम्मान गर्नु सकारात्मक कुरा भएको सुवेदीको तर्क छ। घरमै जन्मिएर हुर्किएको भाले २० वर्षसम्म पाल्छु भनेर सुवेदीले कहिल्यै सोचेका थिएनन्। सुरूमा उनले (ब्याड) बेलनका रूपमा उक्त भाले पालेर राखेका थिए।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार