सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आर्थिक मामिला मन्त्रालय प्रदेश सरकारको मेरुदण्ड भएकाले कर्मचारीले कार्यसम्पादन पारदर्शी र छिटो छरितो गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । प्रदेश सरकारका सबै गतिबिधिहरु आर्थिक मामिला मन्त्रालयमार्फत हुने भएकाले प्रदेश सरकारलाई गतिशील पार्न र उद्देश्यअनुसारको प्रगति हासिल गर्नका लागि आर्थिक मामिला मन्त्रालय गतिशील हुन आवश्यक रहेको मन्त्री शर्माले बताउनुभयो ।
मन्त्रालयका सचिव चक्रबहादुर बुढासँग कार्यसम्पादन सम्झौता गर्ने क्रममा महाशाखा प्रमुख तथा शाखा प्रमुखहरुलाई निर्देशन दिँदै मन्त्री शर्माले जनताप्रति उत्तरदायी र जवाफदेही भएर मनैदेखि काम गर्न आग्रह गर्नुभयो ।
‘‘कार्य सम्पादन एक लिखित दस्तावेज हो तर मुख्य कुरा मन मस्तिष्क र सोंचाइ हो, पारदर्शी तथा छिटो–छरितो आफ्नो जिम्मेवारी पूरा गर्ने विषयनै महत्वपूर्ण हो’, मन्त्री शर्माले भन्नुभयो,, ‘औपचारिकताभन्दा पनि व्यवहारत कार्य सम्पादन गर्नमा अब्बल हुन आवश्यक छ ।’
मन्त्री शर्माले ‘अर्थले फाइल अड्काइदियो, अर्थ मन्त्रालयका कारण बजेट कार्यान्यनमा ढिलाइ भयो’ भन्ने जस्ता कुरा योभन्दा पहिला सुनिँदै आएको अवस्था रहेकोमा अबका दिनमा प्रक्रिया पूरा भएका योजना तथा कामलाई छिटो छरितो कार्य सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्रालयका सचिव बुढाले कार्य सम्पादन सम्झौताले काम गर्दा पारदर्शी र जवाफदेही बनाउने बताउनुभयो ।


 
					
							 
			 
                             
                             
                             
                             
                            