विविध कार्यक्रम गरी रूकुम पश्चिममा निजामती सेवा दिवस मनाइयो

विविध कार्यक्रम गरी रूकुम पश्चिममा निजामती सेवा दिवस मनाइयो

सेवाग्राहीलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे

मुसिकोट । रुकुम पश्चिममा निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइएको छ। “व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन “ भन्ने नाराका साथ मंगलबार विविध कार्यक्रमका साथ निजामती सेवा दिवस मनाईएको छ । नेपालमा २०६० सालदेखि निजामती दिवस मनाउँदै आइरहेको हो ।

यस बर्ष कोभिड–१९ को संक्रमणलाई मध्यनजर गरि भीडभाडयुक्त कार्यक्रमको आयोजना भने गरिएन् । दिवसको अवसरमा जिल्लास्थित सबै कार्यालयहरूको परिसर सरसफाइ, कार्यालयका मुल द्वारमा निजामती सेवा दिवसको नारा टाँस गर्ने, कार्यालयमा पहिले आउने सेवाग्राहीलाई सम्मान गर्ने, राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियानको शुरूवात गर्ने लगायतका कार्यक्रम सम्पन्न गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।

दिवसकै अवसर पारी जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने ७ जना सेवाग्राहीलाई प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले स्वागत तथा सम्मान गर्नुभएको थियो ।

त्यस्तै मुसीकोट नगरपालिकाले पनि दिवसको अवसरमा सेवाग्राहीलाई सम्मान गरेको छ । नगरपालिकाले सबैभन्दा पहिला सेवा लिन आउने ३ जना सेवाग्राहीलाई अविर लगाएर तथा दोसल्ला ओढाएर सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी जानकारी दिनुभयो ।

मालपोत कार्यालय रुकुम पश्चिममा पनि सबैभन्दा पहिला सेवा लिन आउने सेवाग्राहीलाई निमित्त कार्यालय प्रमुख गोर्खबहादुर खड्काले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । जिल्लाको त्रिवेणी गाउँपालिकाले पनि निजामती सेवा दिबसको अवसरमा गाउँ कार्यपालिकाको कार्यालय वरिपरि सरसफाइ गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुन मगरले जानकारी दिनुभयो ।

यस्तै दिवसको अवसरमा आजै मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित भलखोली महिला सामुदायिक बनमा ५० वटा पाउलोनियाका बिरुवा रोपिएको छ । वृक्षारोपण कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, जिल्ला समन्वय अधिकारी प्रदर्शनी कुमारी, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी लगायतको उपस्थिति रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार