चैत २९ काठमाडौ
गृह मन्त्रालयले शुक्रबार अबेर राति १० जना वरिष्ठ उपरीक्षकहरुलाई नायब महानिरीक्षकमा बढुवा सिफारिस गरेको छ । सरकारले नेपाल प्रहरीमा डीआईजीको दरबन्दी कटौतीको निर्णयसँगै बढुवा सिफारिस भएको हो ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितीले एसएसपीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, रबिन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बि.सी.लाई सिफारिस गरेकाे हाे ।
प्रहरीमा प्राविधिक सहित ३४ डीआईजी दरबन्दी रहेकाेमा कटौतीगर्दै २२ मात्रै कायम गर्ने निर्णय सरकारले गरेको हो । नयाँ दरबन्दी अनुसार प्राविधिक तर्फ ८ र जनपदमा १४ डीआईजी रहनेछन्।
प्रहरीमा नयाँ दरबन्दी अनुसार सात प्रदेश, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय अनुसन्धान ब्युरो, प्रहरी प्रशिक्षण प्रतिष्ठान, लागूऔषध नियन्त्रण ब्युरो, महानगरीय प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सुरक्षा परिषदमा डीआईजी रहनेछन्।