अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत प्रहरी निरीक्षक गणेशसिंह महताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार प्रहरी निरीक्षक महताले स्थानीय महिला सञ्जालकी अध्यक्ष मैया पौडेलसँग मिलेमतो गरी अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई छुट्याइदिने भन्दै रु ३० हजार घुस लिएको अभियोग लागेको छ ।
आयोगले प्रहरी निरीक्षक महत्ता र स्थानीय महिला सञ्जालकी अध्यक्ष पौडेल दुवैलाई जरिवाना र कैद सजाय माग गरी आज मुद्दा दायर गरेको हो ।
यस्तै आयोगले आजै विराटनगर महानगरपालिका घरजग्गा सम्पत्ति कर शाखामा कार्यरत खरिदार तीलकमणि पोखरेल र कार्यालय सहयोगी बुधलाल सरदारविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
घर बहाल कर र सम्पत्ति करवापत राजश्व मिलाएर काटिदिने भन्दै सेवाग्राहीसँग रु १३ हजार घुस मागेको अभियोग उहाँहरुमाथि लागेको छ । रासस