काठमाडौँ । कोरोना संक्रमण तिब्र रूपमा बढेको भन्दै राहदानी विभागले दैनिक वितरण गर्दै आएको कार्य हाललाई स्थगित गरेको छ।
दैनिक १२ सयलाई राहदानी दिँदै आएको विभागले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवाबाहेक अन्यलाई राहदानी वितरणमा रोक लगाएको मंगलबार एक विज्ञप्ति निकाल्दै जानकारी दिएको छ।
‘कोभिड १९ सम्बन्धी नेपाल सरकारको पुस ३० गतेको निर्णय तथा विभागका कर्मचारीमा व्यापक रुपमा फैलिएको कोरोना भाइरसको कारण विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवाबाहेक यस विभागबाट प्रदान गरिने राहदानी सेवा सम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मको लागि सीमित गरिएको छ’, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस अगाडि विभागले दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको छ। अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने छ।’
विभागले विदेशमा उपचारको लागि जानुपर्ने तथा अत्यन्त जरूरी परेको अवस्थामा विभागको इमेल ठेगाना ([email protected]) मा अनलाइन आवेदन दिएपछि राहदानी लिन सकिने विभागले जानकारी दिएको छ।