निर्वाचन आचार संहिता : उमेदवारहरूले निर्वाचन खर्च बैङ्कमार्फत गर्नुपर्ने

निर्वाचन आचार संहिता : उमेदवारहरूले निर्वाचन खर्च बैङ्कमार्फत गर्नुपर्ने

निर्वाचन आयोगले आगामी वर्ष हुने निर्वाचनका लागि आचार संहिता तयार पारेको छ। उक्त आचार संहिता बिहीबार नेपाल राजपत्रमा प्रकाशित भएको छ।

आचार संहितामा सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र परीवेक्षकलगायतले पालना गर्नुपर्ने कुराहरू उल्लेख गरिएको छ।

आयोगले तयार पारेको आचार संहिता केही दिनपछि लागू हुनेछ।

‘आयोगले मिति तोक्छ। सायद चैतको दोस्रो साताबाट लागू हुन्छ होला,’ आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भने। आचार संहितामा स्थानीय तहका जनप्रतिनिधिहरूले मनोनयन दर्ता गर्ने बेलासम्म बहाल रहेको पदबाट राजीनामा दिइसक्नु पर्ने उल्लेख गरिएको छ।

आचार संहितामा सामाजिक सञ्जालमा गर्न नहुने कुराहरू पनि समावेश गरिएको छ। राजनीतिक दलहरूले दुई जना मुख्य प्रचारकको नाम आयोगलाई बुझाउनु पर्ने र उनीहरूले हेलिकप्टर पनि प्रयोग गर्न पाउने आचार संहितामा उल्लेख छ।

स्थानीय तहका उमेदवारहरूले निर्वाचन खर्च बैङ्कमार्फत गर्नुपर्ने भएको छ । राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहितामा पच्चिस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत गर्नुपर्ने पनि उल्लेख छ ।

यस्तो छ, राजनीतिक दल तथा उमेदवारले निर्वाचन खर्च सम्बन्धी पालना गर्नुपर्ने आचरण

(क) उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा खाता खोली गर्नु पर्ने,

(ख) उमेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्न पर्ने,

(ग) खण्ड (ख) बमोजिम तोकिएका पदाधिकारीको विवरण उमेदवारले निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने,

(घ) राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैङ्क खातामार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्च गर्नु पर्ने,

(ङ) पच्चिस हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत गर्नु पर्ने,

(च) व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाइ दिई खण्ड (क) वा (घ) बमोजिम उमेदवारको वा राजनीतिक दलको बैङ्क खातामा जम्मा गर्नु पर्ने,

(छ) खण्ड (क) वा (घ) बमोजिमको खर्चको विवरण तथा बिल भरपाई राख्नु पर्ने,

(ज) आम्दानी तथा खर्चको विवरण प्रचलित कानून बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनु
पर्ने,

(झ) आयोगले खर्चको बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैङ्क वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नु पर्ने ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार