मुसीकोट । रुकुम पश्चिममा धुँवामा निसास्सिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ६ कानेबाङकी ६० वर्षिया पम्फा बोहराको सुतिरहेको बेला धुँवामा निसास्सिएर आज बिहान ९ बजेतिर मृत्यु भएको बताइएको छ ।
कोठाबाट धुँवाको मुस्लो निस्किएपछि छोरा केशरमान बोहराले ढोका खोली हेर्दा आमाको मृत्यु भइसकेको फेला पारेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।
छोरा केशरमानले ढोका खोलेर कोठा भित्र हेर्दा पम्फाको दाहिने हातका सबै औला जलेको र सिरानी जलिरहेको थियो । धुँवाको मुस्लो धेरै भएकोले निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।
चुरोटको ठुटोबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ । घरमा आमा छोरा मात्रै बस्दै आएका थिए ।
प्रहरी निरीक्षक शर्माका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । मृतक पम्फाको शव जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम भईसकेकोले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको बारे सबैकुरा थाहा हुने प्रहरीले जनाएको छ ।