निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि देशभरका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई नियुक्त गरेर तालिम दिइसकेको छ । निर्वाचन अधिकृतहरु तालिम सकेर शनिबारदेखि नै आ–आफ्नो कार्यक्षेत्रमा खटिएका छन् ।
‘बैशाख ८ देखि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय खुलिसक्छ,’ निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य अर्यालले भने, ‘उहाँहरु कार्यक्षेत्रमा जान र तयारी गर्न अबको केही दिन छुट्याइएको हो ।’ उनका अनुसार, जिल्ला निर्वाचन कार्यालयको सहजीकरणमा उनीहरुले स्थानीय तहमा कार्यालय स्थापना, कर्मचारी व्यवस्थापन लगायतको काम गर्नेछन् ।
निर्वाचन आयोगले ७७ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । सम्बन्धित जिल्लाका एक नम्बर (बरियतक्रममा सबैभन्दा माथि रहेका) न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ भने न्याय सेवा र प्रशासन सेवाका उपसचिवहरुलाई निर्वाचन अधिकृत तोकेर कार्यक्षेत्रमा पठाइएको छ ।