मसिकोट । आसन्न स्थानीय तहको निर्वाचनका लागि रुकुम पश्चिमका ६ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहीबार ६ वटा स्थानीय तह मध्येमा मुसीकोट नगरपालिकामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुसीकोट नगरपालिकामासमेत हेर्ने गरी जिल्ला समन्वय समिति रुकुम पश्चिमको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
रुकुम जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले व्यानर पढेर मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नुभएको हो ।
कार्यालय उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत पौडेलले जनताको अधिकार र लोकतन्त्रको सुनिश्चितताका लागि निर्वाचन महत्वपूर्ण रहेको बताउनु भयो । सबैले आ–आफ्नो स्थानबाट जिम्मेवार बनेर निर्वाचनलाई सफल र भयरहित बनाउन भूमिका खेल्नु पर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले चुनावलाई मर्यादित, निष्पक्ष, शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि भरपुर सुरक्षा व्यवस्था मिलाइ मतदान केन्द्रसम्म जाने वातावरण मिलाउन आफू कटिबद्ध रहेको बताउँदै ढुक्क भएर मतदान गर्नका लागि सबैलाई आग्रह गर्नुभयो ।
उहाँले प्रहरी प्रशासनले एक्लै मात्र चाहेर सबै थोक गर्न नसक्ने बताउँदै निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक दल, नागरिक अगुवा, पत्रकारसहित सबैको सहयोगको उत्तिकै खाँचो रहेको स्मरण गर्नुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन सँगै जिल्लाका राजनीतिक दल, कार्यालय प्रमुख, सुरक्षा निकाय, पत्रकार लगायतसँग निर्वाचन आचार सहिता पालनाको बिषयमा छलफल भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै आजै जिल्लाका अन्य ५ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका, त्रिवेणि गाउँपालिका, बाँफिकोट गाउँपालिका वडा नम्बर ४ र सानीभेरी गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रीमा मल्लले जानकारी दिनुभयो ।
आठबीसकोट नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गणेशकुमार गौतम र चौरजहारी नगरपालिकामा जिल्ला न्यायाधीवक्ता द्रोणदत्त पौडेल निर्वाचन अधिकृतका रुपमा खटिनुभएको छ ।
यस्तै बाँफिकोट गाउँपालिकामा जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहरा, सानीभेरी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय बुटवलका उप सचिव कमानसिंह थापा मगर र त्रिवेणी गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत कृतिबहादुर बस्नेत निर्वाचन अधिकृत हुनुहुन्छ ।
यस्तै आज बाट मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा सशस्त्र प्रहरी बलले गरेको छ ।

