निर्वाचन आचारसंहिता पालना गर्न रुकुम पश्चिमका दलहरु प्रतिवद्ध

निर्वाचन आचारसंहिता पालना गर्न रुकुम पश्चिमका दलहरु प्रतिवद्ध

मुसिकोट । रुकुम पश्चिमका राजनैतिक दलहरुले आसन्न स्थानीय तह निर्वाचन सम्बन्धी आचारसंहिता गर्ने प्रतिवद्धता जनाएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बिहिबार रुकुम पश्चिममा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रम पश्चात जिल्ला समन्वय समितिको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित क्रियाशिल राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

छलफलमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, नेपाली काँग्रेसका जिल्ला सचिब परमेश्वर भण्डारी, सह सचिब यज्ञ विष्ट, नेकपा एमाले मुसिकोट नगरपालिका अध्यक्ष थलबहादुर ओली, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा, उपसचिव सिताराम देवकोटाले निर्वाचन सम्बन्धी कानुन र विभिन्न आचारसंहिता पालना गर्न प्रतिवद्ध जनाएका छन ।

कार्यक्रममा आचारसंहितको कानुनी आधार, उदेश्य, लागू हुने निकाय, राजनीतिक दलदेखि संचारमाध्यम सबैले पालना गर्नुपर्ने आचरण, निर्वाचन खर्च, मौन अवधि, मतदान तथा मतगणनाका बेला पालना गर्नुपर्ने आचरण, आचारसंहिता अनुगमन तथा त्यसका अन्य व्यवस्था, राजनैतिक दल र उम्मेदवारको भूमिका, निर्वाचन सम्बन्धी कार्यक्रम, मनोनयन दाखिला, उम्मेदवारको धरौटीलगायतका विषयमा छलफल भएको थियो ।

यस्तै रुकुम जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले आचारसंहिता पालना गर्ने र गराउन सबै प्रतिवद्ध हुनुपर्ने बताउनु भयो। ‘हामी सबै सरोकारावालाहरुले पालना गर्‍यौँ भने उल्लंघन हुने सम्भावना नै रहन्न’ उहाँले भन्नुभयो ।  उहाँले राजनीतिक दल, पत्रकार र सन्चारमाध्यमले आचार संहिता पालना गर्नु कर्तव्य भएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले चुनावलाई मर्यादित, निष्पक्ष, शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि भरपुर सुरक्षा व्यवस्था मिलाइ मतदान केन्द्रसम्म जाने वातावरण मिलाउन आफू कटिबद्ध रहेको बताउँदै ढुक्क भएर मतदान गर्नका लागि सबैलाई आग्रह गर्नुभयो ।

उहाँले प्रहरी प्रशासनले एक्लै मात्र चाहेर सबै थोक गर्न नसक्ने बताउँदै निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक दल, नागरिक अगुवा, पत्रकारसहित सबैको सहयोगको उत्तिकै खाँचो रहेको स्मरण गर्नुभयो ।

निर्वाचनको लागि रुकुम पश्चिममा ७ दल दर्ता छन् ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार