रुकुम पूर्वमा विद्युत र टेलिफोन सेवा अवरूद्ध भएको छ। जिल्लामा एकै पटक टेलिफोन र विद्युत सेवा अवरूद्ध हुँदा नागरिक मर्कामा परेका छन्।
सोमबारदेखि अवरूद्ध भएको टेलिफोन र विद्युत सेवा अहिलेसम्म सुरू हुन नसक्दा सेवाग्राही मारमा परेका हुन्। अहिले जिल्लावासीलाई फोन गर्न, इन्टरनेट चलाउन, सूचना आदानप्रदान गर्न, बत्ती बाल्न र विद्युतीय कामकाज गर्न समस्या भइरहेको छ।
रुकुम पश्चिमको जन्तीबस्ने लेकस्थित टावरमा चट्याङबाट क्षति पुग्दा रुकुम पूर्वमा टेलिफोन सेवा अवरूद्ध भएको दूरसञ्चार कार्यालय रुकुम पूर्वका प्रमुख चन्दनकुमार यादवले जानकारी दिए। चट्याङबाट तार जलेको छ। मर्मतको काम सम्पन्न भएको कार्यालयले जनाएको छ। टेलिफोन सेवा पुनः सञ्चालन हुन केही समय लाग्ने यादवले बताए।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वले हावाहुरीका कारण विद्युत सेवा अवरूद्ध भएको जनाएको छ। हावाहुरीले सल्यान र रुकुम पश्चिममा रुख ढलेका कारण सेवा अवरूद्ध भएको वितरण केन्द्रका प्रमुख सुरेश चौधरीले जानकारी दिए।
टेलिफोन र विद्युत सेवा अवरूद्ध भएसँगै यहाँका सरकारी तथा गैरसरकारी कार्यालयमा कामकाज गर्न समस्या भएको छ। स्थानीय तह चुनाव नजिकिँदै गर्दा विद्युत र टेलिफोन सेवा ठप्प हुँदा कामकाजमा बाधा पुगेको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले बताए।