मुसिकोट । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको झडप पछि हराइरहेकी महिलाको शव जङ्गलमा भेटिएको घटनाको सत्यतथ्य पत्ता लगाउन भन्दै महिला अधिकारकर्मीहरुले विज्ञप्ती निकालेका छन्। उनीहरुले प्रहरी र अनुसन्धानकर्ताले उक्त घटनाको सत्य तथ्य छानबिन गरि यतार्थता बाहिर ल्याउन र हत्या नै हो भने हदैसम्मको कानुनी कारबाही लागि कुनै कसर नछोड्न जोडदार माग समेत गरेका छन्।
‘२०७९ वैशाख १९ गते राती पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा न। ११ मा भएको राजनैतिक विवाद र झडपपछि हराइरहेकी सोही ठाउँकी ३९ वर्षीया दुथि भनिने जुनमाया बुढाको २०७९ वैशाख २६ गते जंगलमा शव भेटिएको प्रति हाम्रो गम्भिर ध्यानाकषर्ण भएको छ।’ महिला मानवअधिकार रक्षक सञ्जाल रुकुमका अध्यक्ष ब्युझना पुन देवकोटा र ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले संयुक्त रुपमा हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख छ।
विज्ञप्तीमा उनीहरुले राजनीतिक झडपको चपेटामा परेर हराइरहेकी महिलाको जंगलमा शव भेटिनु र त्यो घटना राजनीति विवादसंग पनि जोडिनुले थप आंशका पैदा भएको हो। प्रहरीको प्रारम्भीक अनुसन्धानले समेत घटनालाई हत्यातर्फ देखाएको छ। मान्छेको स्वतन्त्रता पूर्वक बाच्न पाउने अधिकार खोसिएको हो भने त्यो पाशविक भएको बताएका छन्। उनीहरुले मृतक दुथि भनिने जुनमाया बुढा प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेका छन्।
