जाजरकोट खलङ्गा भित्ताको सिरानमा घर भनिन हैसियत नपुग्ने सानो घर छ । नवराज विकको घर हो त्यो । उनै नवराज विकको, जो मनले खाएकी मायालुसँग मायापिर्ती गाँसेको कसुरमा घेरीघेरी, खेदीखेदी, कुटीकुटी, काटीकाटी मारिए ।
नवराजलाई मार्ने अपराधी थियो, उचनीचकारी, विभेदकारी र अपराधी हिन्दु जात व्यवस्था ।
नवराज र साथीहरू मारिएको दुई वर्षको अघिल्लो दिन थियो त्यो । नवराजसँगै मारिएका साथीहरू थिए– लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाही ।
साँझपख म, अभय श्रेष्ठ र केही रैथाने मित्र नवराजको घरमा पुग्दा घर सुनसान, उजाड र उदास थियो । जाँदाजाँदै हामीले सुन्यौँ– एक्काईसवर्षे नवराजका चवालीस वर्षका बा मनलाल विक्षिप्त छन् । उनी रक्सी नखाई बोल्नै सक्दैनन् । रक्सी खाएपछि एक सुरले बेसुरका कुरा गर्दै बोल्छन् र बोलिरहन्छन् ।
नभन्दै मनलाल त्यस्तै दारुण अवस्था र दयनीय मनोदशामा भेटिए । उनका आँखामा आशाको रत्तिभर चमक थिएन । न त उनको अनुहारमै किञ्चित आभा थियो । उनको मुद्रामा जीवनको प्रतिरोधकारी जिउँदोपनको आभास कहीँ, कतै, कत्ति दृष्टिगोचर भएन । उनको बक् फुट्न गाह्रो, एकदम गाह्रो भएझैँ लाग्यो । उनी थकित र गलित थिए । र, भयातुर र आतङ्कित थिए उनी ।
भोलिपल्ट रुकुम सामूहिक हत्याको दुई वर्षको औसरमा ‘जात व्यवस्थाविरुद्ध भेरी प्रतिरोध मार्च’को आयोजना हुँदै थियो । मार्चका तीन आयोजक थिए ‘कर्णाली थियटर’, ‘प्रतिरोधः जनअधिकार आन्दोलन’ र ‘बृहत् नागरिक आन्दोलन’ ।
हो, त्यही प्रतिरोध मार्चमा मुक्का उठाएर स्वरमा स्वर मिलाउन जाजरकोटको खलङ्गा पुगेका थियौँ साथी अभय र म । हाम्रो आगमनले मनलालमा लेस मात्र पनि उत्साह र उमङ्गको प्रतिक्रिया जगाएको छनक पाइएन । उनी एकनासले खिन्न, मौन र उदास रहिरहे । निकै बेरपछि भयातुर स्वरमा उनले जिल्लाका सीडीओ, डीएसपी र न्यायाधीशलाई सम्झे । ‘भोलि भेरी किनारमा यी सरकारी हाकिमहरू पनि हुन्छन् ? मनलालले जोड दिँदै भने, ‘ती हुनुपर्छ र ती हुनैपर्छ ।’
यो ‘ती हुनैपर्छ’ सायद मनलालको दमनकारी सत्ताप्रतिको त्रासको अभिव्यक्ति थियो । हुन्छ, निम्ता गरौँला भनी हामीले मनलालको भययुक्त आग्रहको मान राख्यौँ ।
मनलालले घटना घटेको अघिल्लो साँझ सुत्ने बेला भएको कुरा हामीलाई सुनाए । ‘कोठा यही हो,’ उनले भने, ‘नवराज यहाँ बसेर फोनमा कुरा गर्दै रहेछ । उसकी आमाले बाहिर छेलिएर कुरा सुनिछ । कुरा बुझ्न खोज्दा आमालाई केटीले मलाई लिन आऊ भनेजस्तो लागेछ । पापीहरूले केटीलाई फकाइ–फुल्याइ, हप्काइ–गलाइ केटालाई मार्न डाक्न लाएछन् । पछि हामीलाई यस्तो लाग्यो । उता मन परेकी केटीले डाकी, यता केटाहरू पत्याएर कुद्दै केटी लिन गए । त्यसरी छक्याएर डाके र अपराधीहरूले घेरा हालेर भकाभक मारे ।’
भेरी किनारमा ‘कर्णाली थियटर ग्रुप’ले तत्क्षण प्रस्तुत गरेको नाटक मर्मान्तक थियो, हृदयविदारक थियो र स्तम्भकारी थियो । नाटकमा व्याधाहरूले घेरेर, लखेटेर, कुटेर र काटेर अधमरो बनाएका छ जना युवकहरू बगरका ढुङ्गामा मडारिँदै र चिच्याउँदै, लड्दै र उठ्न खोज्दै, घस्रिँदै र करुण क्रन्दन गर्दै मरिरहेका थिए ।
नवराजका चौसट्ठीवर्षे हजुरबा किञ्चित् जीवन्त भेटिए । उनका कुरा बरु विषय सन्दर्भ र अर्थको सङ्गति मिलेका झैँ लागे । नवराजको घरको सोझै पारि भित्तामा सोती गाउँ छ । त्यही गाउँ हो, जहाँको उन्मादी भिडले नवराजहरूको ज्यान लिएको थियो । बिहान उठ्यो कि पहिलो दृष्टि झ्यास्स त्यही गाउँमा पर्छ । र, नवराजहरूलाई घेरेको, खेदेको र मारेको भूगोल झलझली आँखामा आउँछ । पीडितका प्रियजनहरूको दिन औडाहा र आक्रोशसँगै सुरु हुन्छ र औडाहा र आक्रोशमै टुङ्गिन्छ ।
खासमा नवराजका हजुरबाको भनाइ हो यो । भावविह्वल हुँदै, रमरम रसाएका राता–राता आँखाले पारि भित्ताको गाउँ हेरेर उनले भने, ‘नहेरूँ भन्यो, आँखा पारि पुगिहाल्छन् । नरोऊँ भन्यो, मुटु गाँठो परिहाल्छ । हाम्रो लागि बोल्नेहरू पनि बोल्न छाडे । हामीले न्याय पाउने आस मर्दै गयो ।’ पारि भित्तातिर हेरेर कटट्ट दाह्रा किट्दै ती वृद्ध हजुरबाले भने, ‘मलाई तिनीहरूमाथि ज्यान फालेर जाइलागूँजस्ताे लाग्छ ।’
०००
रुकुम हत्याकाण्ड भएको दु–दुई वर्ष भइसक्यो । तर, अहिलेसम्म मुद्दाको फैसला भएको छैन । किन ? पक्राउ परेकामध्ये एघार जना छुटे, तेईस जना थुनामा छन् । ती जो छुटे, तीमध्ये घटनामा मुछिएका ढाडे अपराधी पनि होलान् कि भन्ने पीडितहरूको आशङ्का छ । जब ती खुला परिवेशमा छाती फुलाएर हिँडेका देखिन्छन्, पीडितहरू डरले थुरथुर काँप्छन् । को भन्न सक्छ, शक्ति र पहुँचको बलले थुनामुक्त भएका तिनले के गर्लान्, के नगर्लान् ?
दु–दुई वर्ष अर्थात् ७२० दिन बिते । यत्रो समय बित्दा पनि अभियुक्तहरूको बयानै लिइएको छैन । किन ? पीडितहरू भन्छन्, ‘जो अपराधी हुन्, ती माओवादी पार्टीका मान्छे हुन् । ती सत्ता र शक्तिमा पहुँच र प्रभाव भएका मान्छे हुन् । त्यसैले आलटाल गर्दै, ढिलढाल गर्दै, समय बियाँल्दै, घटना पुरानो बनाउँदै, न्यायका आक्रोशित आवाजहरूलाई थकित, छिन्नभिन्न र निस्तेज पार्दै मुद्दालाई ढिसमिस पार्ने कुटिल दाउ चलिरहेछ ।’
०००
पीडितहरूको आक्रोशित आवाजको आगोलाई मत्थर पार्ने मनसुवाले सरकारी आयोग बनाइटोपलिया थियो । आयोगका संयोजक थिए– माओवादी सांसद देवेन्द्र पौडेल । आयोगका सदस्यमा एक झुण्ड जन थिए, जम्मै सांसद । ती थिए– एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती बिसुङ्के, प्रकाश रसाइली, विमला विक, महेशजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहाय यादव ।
आयोगको प्रतिवेदनको छोटो सारमा भनियो– ‘नवराज र सुष्माको प्रेम सम्बन्ध अन्तर्जातीय भएकाले केटीका अभिभावक र आफन्तले केटा कथित् तल्लो जातको भएको भन्दै अस्वीकार गरेकाले उक्त घटना जातीय भेदभाव तथा छुवाछुतका कारण भएको पाइयो ।’
आयोगले घटना ‘सामूहिक हत्या’ हो भन्यो, र यो ‘मानवताविरोधी अपराध’ हो पनि भन्यो ।
त्यो प्रतिवेदनको मूल पाठ आजसम्म सरकारी दराजको कुनै कुनामा लुकाइएको छ । किन ? किनभने प्रतिवेदनमा सत्य बोल्न खोजिएको छ । त्यसअनुसार कारबाही गर्दा पार्टीका मान्छे, सत्ताका मान्छे ज्यानमारा कहलिन्छन् र ती सजायको भागी बन्छन् ।
हो, सरकारी प्रतिवेदन गुपचुप छ । र, प्रतिवेदनका लेखकहरू मौन छन् । किन ? आयोगका संयोजक देवेन्द्र पौडेल किन भन्दैनन् ? प्रतिवेदन सार्वजनिक गर । आयोगका सदस्यहरू– एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती बिसुङ्के, प्रकाश रसाइली, विमला विक, महेशजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहाय यादव– किन भन्दैनन् ‘प्रतिवेदन गुपचुप नपार’ ।
यी भन्दैनन्, किनभने संसद्मा यिनको दह्रो जागिर छ ।
यी भन्दैनन्, किनभने यिनलाई आ–आफ्ना पार्टीका बोस रिसाउलान् भन्ने डर छ ।
यी भन्दैनन्, किनभने बोस रिसाए चुनावमा टिकट नपाइने डर छ ।
यी भन्दैनन्, किनभने टिकट नपाए यिनलाई सत्तासुखको मोजमस्तीबाट विमुख भइने डर छ ।
यी भन्दैनन्, किनभने यिनका लागि मानौँ, उत्पीडित दलितहरूलाई न्यायभन्दा निहित सत्तास्वार्थ प्यारो छ ।
दोहोरो मुठभेडमा दोहोरो चोटपटक लाग्छ, दोहोरो ज्यान जान्छ । तर, नवराज पक्षका छ–छ जना मारिए, तर आक्रमणकारीहरू कसैको एउटा रौँसम्म पनि झरेन । किन ? ठोरीका राम बोल्दैनन्, रुकुमका जनार्दन शर्मा भन्दैनन् ।
आयोगको गठन वास्तवमा पीडितहरूका अश्रुमय एवम् आक्रोशित आँखामा छारो हाल्ने कुटिल दाउ थियो । छारो हालियो, अन्यायी शासकहरूको काम तमाम भो ।
०००
रुकुम हत्याकाण्डको प्रसङ्गमा जब पीडकलाई दण्ड र पीडितलाई न्यायको कुरा उठ्छ, पीडितहरूका दिमागमा हठात् एउटा अप्रिय अनुहार प्रकट हुन्छ । र, ती झसङ्ग हुन्छन् । खासमा त्यो अनुहारले तिनलाई त्यसैत्यसै भयभीत तुल्याउँछ । कसको अनुहार हो त्यो ? असलमा त्यो रैथाने माओवादी नेता जनार्दन शर्माको अनुहार हो ।
जब रुकुम हत्याकाण्ड घट्यो, हत्तपत्त अघि सरेर जनार्दनले भने, ‘जो मारिए, ती दोहोरो मुठभेडमा मारिए । ती भाग्दा नदीमा डुबेर मरे । यो घटना जो घट्यो, यो भवितव्य हो ।’
मारिएका गणेश बुढा मगरकी आमा राधिका जनार्दनको प्रतिवादमा भन्छिन्, ‘कोहीले हँसिया, कोहीले बन्चराले हानेका छन् । यो कसरी भवितव्य हो ?’
मारिएका सञ्जुकी आमा पार्वती आक्रोश पोख्छिन्, ‘ढुङ्गामुढा, खुकुरी र झटाराले हानेर हाम्रा छोरा मारिएका छन् । यो कसरी भवितव्य हो ?’
जब शवहरू भेटिए, ती क्षत्विक्षत् भएका थिए । सर्वाङ्ग अङ्गभङ्ग भएका थिए ती । ती विरूप र विद्रूप अवस्थामा थिए । दोहोरो मुठभेडमा दोहोरो चोटपटक लाग्छ, दोहोरो ज्यान जान्छ । तर, नवराज पक्षका छ–छ जना मारिए, तर आक्रमणकारीहरू कसैको एउटा रौँसम्म पनि झरेन । किन ? ठोरीका राम बोल्दैनन्, रुकुमका जनार्दन शर्मा भन्दैनन् ।
पीडितहरूका दृष्टिमा जनार्दन शर्माको पछि लागेर अर्को एउटा अनुहार पनि आउँछ । त्यो हो, रैथाने माओवादी नेता शक्ति बस्नेतको अनुहार । शक्ति बस्नेत हत्या गरिएका नवराजको बस्तीका सांसद हुन् । तिनले मानेका र भोट हालेका सांसद । शक्तिको घरबाट हत्यास्थल छर्लङ्गै देखिन्छ । त्यत्रो हत्याकाण्ड भयो, तर शक्तिको नाकमुख कतै देखिएन । पीडितहरू पिरोलिए– आफ्ना नेता शक्ति नरलोकबाटै अलप भएका पो हुन् कि ? आखिरमा पाँच महिनापछि शक्ति बस्नेत मानौँ, कुनै गोप्य दुलाबाट फुत्त बाहिर निस्किए । नवराजका हजुरबा भन्छन्, ‘पाँच महिनापछि बल्ल ती हामीलाई दर्शन दिन आए । अनि पीडितहरूले घेरेर जब केरकार सुरु गरे, चुइँक्क नबोली टाप कसे ।’
रुकुम–जाजरकोट सेरोफेरोका पार्टीसत्ता, राज्यसत्ता, धनसत्ता र धर्मसत्ता सबै नै पीडित दलितहरूको विरोधमा छन् । र, छन् ती सबै पीडक प्रभुत्वशालीहरूका पक्षमा । पीडित दलितहरू भन्छन्– जनार्दन शर्मा हाम्रो पीडाका मुहान हुन् । हाम्रो न्यायको बाटोका तगारा, हामीमाथि थोपरिएको अन्यायका ध्वजावाहक । मुख्यतः निजहरूकै कारण आफूले न्याय नपाइएला कि भन्ने पीडितहरूलाई लाग्छ । ती भन्छन्, ‘जनार्दन शर्मा रैथाने राजातुल्य हुन् । रैथाने भेगमा ती जे चाहन्छन्, त्यही हुन्छ ।’
तल धरातलको क्रूर एवं अन्यायपूर्ण यथार्थ यस्तो छ । माथि हस्तिहाडे बुर्जाबासी माओवादी पुष्पकमल र नारायणकाजीहरू दलितका मुक्तिदाताको मिथ्या अभिनय गर्दै जनार्दन प्रवृत्तिलाई काखी च्यापेर शक्ति बस्नेतझैँ मौन छन् । अहो ! माओवादको न्यायचेतनालाई भेरीमा बगाएर पनि माओवादीको अभिनय गर्न नछाडेका विचित्रका यी जिबात्हरू ।
०००
रुकुम चौरजहारीमा विमानबाट ओर्लेर एउटा होटलमा चिया खान लाग्दा एक अनौठा जीव आइलागे । एउटा राष्ट्रिय दैनिक’का रैथाने संवाददाता रहेछन् ती । भेट हुनु के थियो, ती हामीलाई अर्ती दिन थालिहाले । ‘स्थिति बल्ल शान्त हुँदैछ,’ तिनले भने, ‘हामीले द्वन्द्व चर्काउने गतिविधि गर्नुहुन्न । सामाजिक सद्भाव खलबलिन्छ ।’
नाम छ पत्रकार, त्यसमाथि राष्ट्रिय दैनिकका । कर्मअनुसारको धर्म छ, निमुखाको आवाज बोल्नु र न्यायको मुख खोल्नु । तर, यी ज्ञानी महोदय हामीलाई अर्ती दिँदा छन् । यी भन्छन्, ‘मुद्दा अदालतमा विचाराधीन छ । हामीले मुद्दामा असर पर्ने गतिविधि गर्नुहुन्न ।’
उता सबैखाले सत्ताहरू पीडित दलितहरूका मुख थुन्न र पीडक प्रभुत्वशालीहरूलाई उन्मुक्ति दिन कटिबद्ध छन् । यता सरकारी बोलीमा यी मनुवा भन्दा छन्, ‘यो विरोध–प्रतिरोधको बेला होइन । यो त सामाजिक सद्भाव जोगाउने बेला पो हो ।’ आमहत्याको विरोध र प्रतिरोध गर्दा खलबलिने कसको र कस्तो सामाजिक सद्भाव हो यो ? पीडितहरूले चीत्कारको भाषामा न्याय माग्दा खलबलिने कसको र कस्तो सामाजिक सद्भाव हो ? यी ज्ञानीका कुरा सुन्दा हामीलाई अजीव लाग्यो ।
सरकारी सुलसुले टाइपका यी मानवले हामीलाई डर देखाउन खोजे– ‘भेरी किनारमा विरोध कार्यक्रम गर्दा पारिको सोती गाउँले उर्लिएर धावा बोल्ने खतरा छ ।’
नवराजको घरको सोझै पारि भित्तामा सोती गाउँ छ । त्यही गाउँ हो, जहाँको उन्मादी भिडले नवराजहरूको ज्यान लिएको थियो । बिहान उठ्यो कि पहिलो दृष्टि झ्यास्स त्यही गाउँमा पर्छ ।
यी पत्रकारका कुरा हामीले एक कानले सुनेर अर्को कानले उडाइदियौँ । भोलिपल्ट कार्यक्रमको समाचार टिप्न आउँछु भन्थे, यिनको नाकमुख देखिएन । जाजरकोटका सीडीओलाई भेटेर ‘सामाजिक सद्भावको रक्षा गर्न’ यिनले रुकुमतिरै टाप कसेछन् ।
०००
सुरु भयो अब जात व्यवस्थाविरुद्ध भेरी प्रतिरोध मार्च । जाजरकोट खलङ्गा बजारलाई सुनाउँदै मार्चले गगनभेदी गर्जन गर्यो– ‘जात व्यवस्था मुर्दावाद ! जात व्यवस्था ध्वंस गरौँ !’ ‘पीडितलाई न्याय दे– न्याय दे, न्याय दे !’ ‘पीडकलाई दण्ड दे– दण्ड दे, दण्ड दे !’ प्रतिरोध मार्च गर्जन गर्दै भेरी किनारमा पुगेर सभामा परिणत भयो । मार्चकर्मी उति धेरै थिएनन् । रैथाने नानाओली सत्ताका अधिपतिहरू कसैले पनि मार्चमा नाकमुख देखाएनन् । न त राजनीतिक दलहरूका दादाहरूले नै पाउकष्ट गरे ।
दलमा सम्बद्ध एकाध दलितहरूले मार्चमा साथ र आवाज दिए । जिल्ला नागरिक समाजका अध्यक्ष राजेन्द्रविक्रम शाहले साथ र आवाज दिए । साथ र आवाज दिनेमा अरु एकाध रैथाने कवि थिए, एकाध गायक थिए । आऊँला भनी वाचा गरेका नवनिर्वाचित मेयर चन्द्रप्रकाश घर्ती मगर आएनन् । ती ‘दलितको पक्षमा न्यायको आवाज उठाउँदा झण्डै हारेँ’ भन्थे रे । सायद अर्को पालि साँच्ची नै हारिएला कि भन्ने डरले तिनलाई भूमिगत बनायो क्यार ।
भेरी किनारमा ‘कर्णाली थियटर ग्रुप’ले तत्क्षण स्थलगत रिहर्सल गरी पर्फर्मेन्स नाटक देखायो । नाटक मर्मान्तक थियो, हृदयविदारक थियो र स्तम्भकारी थियो । नाटक मञ्चनकर्ता थिए, व्याधाहरूले घेरेर, लखेटेर, कुटेर र काटेर अधमरो बनाएका छ जना युवक, जो बगरका ढुङ्गामा मडारिँदै र चिच्याउँदै, लड्दै र उठ्न खोज्दै, घस्रिँदै र करुण क्रन्दन गर्दै मरिरहेका थिए । नाटकको त्यो हेरिनसक्नु दृश्य हेर्दाको असह्य क्षणमा मारिएका ठिटाहरूका प्रियजनहरूका नजरमा भेरीको पानीमा सायद रगतैरगत बग्यो होला, भेरीको सुसेलोमा सायद चीत्कारै–चीत्कार सुनियो होला ।
बस्, जात व्यवस्थाविरुद्ध भेरी प्रतिरोध मार्च सकियो । भेरी नदी, वारिपारिका पाखा–पखेरा र गनगनमण्डलको वायुले प्रतिरोधका गर्जनमय उद्घोषहरू सुने– ‘जबसम्म जात व्यवस्था ध्वंस हुँदैन, तबलसम्म नेपाली समाज न सभ्य हुन्छ, न न्यायपूर्ण, न समुन्नत हुन्छ, न सद्भावयुक्त, न जिउन लायक नै हुन्छ । न्यायप्रेमीहरू जो जहाँ छौँ, उठौँ, जागौँ, लडौँ, र जात व्यवस्थालाई ध्वंस गरौँ ।
थकित मुद्रामा भेरी किनारबाट उकालो लाग्दा न्यायको आस मर्दै गएका पीडितहरूका आँखामा रमरम आस जागेको मैले देखेँ । त्यो सुखद क्षणमा मलाई एउटा घतलाग्दो उखानको याद आयो– एक थुकी सुकी, हजार थुकी नदी ।
कुरो खसोखास सही हो । शिलापत्रबाट