रुकुम पश्चिम पूर्ण खोप सुनिश्चित जिल्ला

रुकुम पश्चिम पूर्ण खोप सुनिश्चित जिल्ला

मुसिकोट । रुकुम पश्चिम पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्लाका ६ वटै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएपछि शुक्रबार जिल्ला नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला बनेको हो।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख देव बहादुर विकको अध्यक्षतामा एक कार्यक्रम गरी खोपको सुनिश्चिततासँगै यसको दिगोपनाका लागि सबै पक्षले काम गर्ने प्रतिवद्धतासहित घोषणा गरिएको हो।

उपप्रमुख विकले नेपाल सरकारले लिएको यो लक्ष्यलाई पूरा गर्न सबै तह र तप्का निरन्तर लाग्नुपर्ने बताउनु भयो।  १६ देखि २३ महिनासम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसारका सबै खोपको सबै मात्रा पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले बताउनुभयो ।

अधिकृत खड्काका अनुसार रुकुम पश्चिम देशको ६७ औं र कर्णाली प्रदेशको चौंथो जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितता घोषणा भएको हो । जनस्वास्थ्य अधिकृत काली बहादुर ओलीको सन्चालनमा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मुसिकोट नगपालिका प्रमुख महेन्द्र केसी, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश बहादुर केसी, सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, नेपाली कांग्रेसका सह सचिब यज्ञवहादुर बिष्ट, नेकपा एमालेका उपसचिव रचना मल्ल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसी, सुरक्षा निकायका प्रमुख, पत्रकार, जिल्ला स्थित सरकारी कार्यालय प्रमखहरु लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सहयोग पुर्याउने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था र सञ्चार संस्थाहरुलाई सम्मान गरिएको थियो ।

रुकुम पश्चिममा १५ देखि २३ महिना उमेरका ३ हजार ५ सय बालबालिकाले सबै खोप पाएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार