सीडीओको कार्यसम्पादन प्रतिवेदन : गुल्मी सर्वोत्कृष्ट, रुकुम पश्चिम ९६ प्रतिशत सहित चौंथो

सीडीओको कार्यसम्पादन प्रतिवेदन : गुल्मी सर्वोत्कृष्ट, रुकुम पश्चिम ९६ प्रतिशत सहित चौंथो

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गुल्मी पहिलो भएको छ । अघिल्लो वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी पहिलो भएको हो ।

मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुसँग गरेको कार्यसम्पादन सम्झौताको आधारमा कार्यान्वयनको अवस्थाको मूल्यांकन गरेको हो । बिहीबार मूल्यांकन समितिका स‌ंयोजक एवम् मन्त्रालयको मूल्यांकन महाशाखाका प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको प्रतिवेदनअनुसार कार्यसम्पादनमा गुल्मी प्रशासन पहिलो बनेको हो ।

समितिकाअनुसार शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत गरी ६८ वटा परिसूचकहरूमा मुल्यांकन गरी प्रतिवेदन तयार गरिएको छ ।

प्रतिवेदनअनुसार अर्घाखाँची प्रशासन ९७ प्रतिशतसहित दोस्रो, नवलपरासीपूर्व प्रशासन ९६.७५ प्रतिशतसहित तेस्रो, रूकुम पश्चिम प्रशासन ९६ प्रतिशत सहित चौंथो बनेका छन् । हुम्ला प्रशासन पाँचौं बनेको छ । यस्तै हुम्लासँगै समान ९५ प्रतिशत नै पाएको डडेलधुरा पनि पाचौं स्थानमा छ ।

हाल गुल्मीमा पुण्यविक्रम पौडेल प्रमुख जिल्ला अधिकारी छन् भने अर्घाखाँचीमा शशीधर घिमिरे, नवलपरासी पूर्वमा सुमन घिमिरे, रुकुम पश्चिममा परमानन्द घिमिरे र डडेलधुरामा मोहनराज जोशी प्रमुख जिल्ला अधिकारी छन् ।

प्रतिवेदनअनुसार ७७ वटै प्रशासन कार्यालयहरुले औषतमा ९० प्रतिशत अंक पाएका छन् । ४६ जिल्लाहरुले ९० प्रतिशतभन्दा बढी अंक प्राप्त गरेको मन्त्रालयले जनाएको छ । २९ जिल्लाले ८० प्रतिशतदेखि ९० प्रतिशतको बीचमा अंक प्राप्त गरेका छन् । दुई जिल्लाले भने ७७ प्रतिशत अंक पाएका छन् । औषतमा ९० प्रतिशत अंक प्राप्त गरेको र यो विगतकोभन्दा सुधारोन्मुख नतिजा भएको मन्त्रालयको दाबी छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार