प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता आह्वान

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगले शुक्रबार निर्वाचनमा भाग लिनका लागि आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरुलाई संविधानको धारा २७१ बमोजिम यही साउन २२ गते देखि २०७९ साल साउन ३१ गतेसम्म दल दर्ता गर्न भनेको छ।
सो दिनभित्र कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको आयोगले जनाएको छ। निवेदनको ढाँचा आयोगको वेब–साइट बाट डाउनलोड गर्न वा आयोगको सचिवालयबाट प्राप्त गर्न सकिनेछ।
दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने छ।
यसरी दल दर्ताको लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार