नेपाली कांग्रेसले नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता नदिएको विरोधमा विद्यार्थीहरूले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन्।
कांग्रेस केन्द्रीय समितिले साउन मसान्तभित्र भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयनमा आएको छैन।
नेविसंघमा अध्यक्ष दुजाङ शेर्पा मात्रै छन् पदाधिकारी र केन्द्रीय समिति नै छैन।
नेता शेखर कोइरालानिकट विद्यार्थीले नेविसंघलाई पूर्णता दिनुपर्ने मागसहित आज सानेपामा प्रदर्शन गरेका हुन्। नेविसंघ नेता दिनेश शाहीले भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरे पनि कार्यान्वयन नभएकोले प्रदर्शन गरिएको बताए।
भ्रातृ संस्थालाई पूर्णता दिँदा कोइराला पक्षसँग पनि समन्वयन गरिनुपर्ने उनीहरूको भनाइ छ।