द्वन्द्वको समयमा विस्थापित रुकुम पश्चिमका ५ शिक्षकको पुनर्बहाली

द्वन्द्वको समयमा विस्थापित रुकुम पश्चिमका ५ शिक्षकको पुनर्बहाली

मुसिकोट । रुकुम पश्चिममा सशस्त्र द्वन्द्वको समयमा विस्थापित भई जागिर गुमाएका ५ जना शिक्षक पुनर्बहाली भएका छन् ।  उनीहरूले सोमबार शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पश्चिमबाट पुनर्बहालीको पत्र बुझी दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन गएका छन् ।

पुनर्बहाली हुने शिक्षकहरूमा ५ जना प्राथमिक तहका रहेको शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पश्चिमले जानकारी दिएको छ ।

जिल्लाका रिक्त रहेका विद्यालयहरूमा पुनर्बहाली भएका शिक्षकहरूलाई पुनर्बहालीको पत्रसहित पठाइएको शिक्षा विकास तथा समन्वय इकाइ रुकुम पश्चिमका प्रमुख तारा प्रकाश पुनले जानकारी दिनुभयो ।

उहाँकाअनुसार पुनर्बहाली हुने शिक्षकहरु ओमप्रकाश विसीलाई त्रिवेणी गाउँपालिका, रामबहादुर बुढा मगरलाई बाँफीकोट गाउँपालिका, जीतबहादुर शाहलाई सानीभेरी गाउँपालिका, मधुसुदन अधिकारी र नरबहादुर खड्कालाई आठविसकोट नगरपालिका अन्तर्गत पदस्थापनका लागि पत्र दिएर पठाएको छ ।

सरकारले माओवादी जनयुद्ध र आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीहरूलाई पुनर्बहाली र क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।  मन्त्रिपरिषद् बैठकले देशभरका ५८६ जना शिक्षक तथा कर्मचारी व्यवस्थापनको निर्णय गरेको थियो ।

पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षमा गठित कार्यदलले २०७३ मंसिरमा दिएको प्रतिवेदन अनुसार मन्त्री परिषद्ले सो निर्णय गरेको थियो ।

शिक्षकहरूले विद्यालयमा हाजिर भएको मिति देखिको तलब भत्तालगायतका सुविधा दिने तर सेवाबाट हटाइको मितिदेखि पुनर्बहाली भई हाजिर नहुन्जेलको अवधिको तलब भत्ता, बिदा, पोसाक, चाडपर्व खर्चलगायत सुविधा नदिने निर्णय गरेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार